• ३ असार २०८१, सोमबार

विषादीको प्रयोगले दूषित बन्दै पानी

blog

कार्यक्रममा सहभागी । तस्बिर : कविता थापा

काठमाडौँ, जेठ १२ गते । सूर्यविनायक नगरपालिका-७ र संवाहिका समाज नेपालको सहकार्यमा विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्‍न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री महेश बस्नेतले स्थानीय महिला समूहलाई लक्षित गरी आयोजित तालिमले परिवारको स्वास्थ्य सुरक्षा गर्न महिला सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो ।  

उहाँले भन्नुभयो,“विगतमा तरकारी, खाना र अन्न प्राकृतिक रुपमै स्वच्छ हुन्थ्यो, खाना कसरी मिठो खाने भन्ने ध्येय हुन्थ्यो भने हाल मानिसमा चेतनाको वृद्धि भएकाले सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेको छ तर विषदीको प्रयोग बढेको, पानीसमेत दूषित भएको अवस्थामा विषदीरहित भान्साबारे प्रशिक्षणले स्थानीयमा सचेतनाको आउनेछ ।”

पूर्व मन्त्री बस्नेतले सूर्यविनायकका बासिन्दाले सडक, बाटोघाटोलगायतको विकासको अनुभूती गरिरहँदा जीवन सुरक्षासहित रोगबाट बच्न स्वच्छ भान्सा र पोषणयुक्त विषदीरहित खाना जीवनशैलीका लागि पनि वडा, नगरले यस्ता सचेतनामुलक कार्यक्रमको आयोजना गरेकाे बताउनुभयो ।

सूर्यविनायक नगर–७ का अध्यक्ष रविन्द्र सापकोटाले सूर्यविनायक क्षेत्रको भौतिक विकाससँगै स्वस्थ नागरिक जीवनशैलीका लागि वडाले पहल गरिरहेको बताउनुभयो । 

प्रशिक्षण कार्यक्रमको दोस्रो दिन शनिबार काठमाडौँ महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत अनिल बस्नेतले खाद्य सुरक्षा र विषदीबारे प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण समापन समारोहका सभापति सन्तोषी परियारले महिलाले भात, भान्सा गर्दै रोजगारी र अन्य नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुपर्ने अहिलेको अवस्थामा आफ्नो र परिवारकोसमेत स्वास्थ्यको हेरचाह गर्न यस्ता तालिम र प्रशिक्षणले सहयोग पुग्ने बताउनुभयो । 

उहाँले खेतीपातीमा पनि महिला नै अग्रसर हुने र खाना पकाउँदा पनि महिला बढी खट्नुपर्ने हुँदा विषदीमुक्त भान्साका लागि महिलाले प्रशिक्षण लिने अवसरले सिङ्गै परिवार लाभान्वित हुने बताउनुभयो । कार्यक्रममा पोषणविद् सुजा मोक्तानले पोषणयुक्त सन्तुलित आहारबारे प्रशिक्षण दिँदै सन्तुलित खानाले रोग प्रतिरोधात्मक शक्ति बढाउने बताउनुभयो ।  

संवाहिका समाज नेपालका सदस्य मेनुका कार्कीको संयोजकत्वमा आयोजित कार्यक्रमका लागि सदस्यद्वय सावित्री बस्नेत र सुमित्रा लुइटेलले व्यवस्थापनका लागि सहयोग गर्नुभएको थियो ।