• २ असार २०८१, आइतबार

चुरे क्षेत्रको बाढी जोखिम कम गर्न ध्यानाकर्षण

blog

बुटवल समाचारदाता 

बुटवल, जेठ ११ गते । बुटवलका विभिन्न स्थानमा चुरे क्षेत्रको बाढीबाट हुन सक्ने क्षति व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । वर्षाको दिन नजिक आउँदै गरेकोले बुटवल उद्योग वाणिज्य सङ्घले बुटवलका विभिन्न स्थानमा यो वर्षको बाढीको जोखिम रहेकोले समयमै व्यवस्थापनका लागि बुटवल उपमहानगरको ध्यानाकर्षण गराएको जनाएको छ । 

केही दिनअगाडि बुटवलमा मुसलधारे वर्षाका कारण आएको बाढी पश्चिम नेपाल बस व्यवसायी प्रालि, रुपन्देही उद्योग सङ्घ र राष्ट्रिय समाचार समितिको लुम्बिनी प्रदेश कार्यालय हुँदै बुटवल बजारको मुख्य व्यापारिक क्षेत्र अमरपथको मूल सडकमा पस्दा अधिकांश पसलमा ठुलो धनमालको नोक्सानी भएपछि सङ्घले समयमै बाढीको जोखिम व्यवस्थापनको लागि आग्रह गरेको हो । 

बुटवलको बमघाटमाथिको चुरे पहाड र गोलपार्क क्षेत्रको वर्षाको पानीको निकास सानो खोल्साबाट हुँदै आएको तर त्यो निकास क्षेत्र अब सानो भएकोले जोखिमको समयमै व्यवस्थापन गर्न सङ्घले आग्रह गरेको हो । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयलाई ध्यानाकर्षणपत्र बुझाउँदै बुटवलको चुरे क्षेत्रबाट आउने वर्षायामको पानीको व्यवस्थापन गर्न सकिएन भने बुटवलको मुख्य बजार हिउँदयाममा नदी किनारमा बनाइने अस्थायी बजार जस्तै हुने अवस्था रहेको बताउनुभयो । 

उहाँले बुटवलका कलभर्ट र नाली साँघुरिँदै गएको तर बाढीको जोखिम बढ्दै गएकोले बुटवलका विभिन्न स्थानमा बाढी आएको अवस्थामा समस्या पर्ने बताउनुभयो । सरकारको कर, राजस्व, बहाल कर, व्यवसाय कर र सम्पत्ति करका साथै आयकरसँगै रोजगारीमा समेत प्रभावित पार्ने भएकाले समयमै त्यसको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । 

उहाँले बमघाट क्षेत्रबाट पुल्चोकपूर्व आएपछि ठाउँ ठाउँका खोल्सामा ‘ड्याम’ बनाई माथिबाट आउने माटो, ढुङ्गामुढासमेतका वस्तु थिग्रने र पानीको गतिलाई कम गराउन सक्ने भएकोले अहिले नै ती स्थानको निकास ठुलो गराउन आग्रह गर्नुभयो । 

बाढीका कारण मुख्य बजार क्षेत्रमा हुने क्षतिका कारण आर्थिक मन्दीको मारमा परेका व्यवसायीलाई विशेष राहतका साथै घरदैलोको स्थानीय सरकारले लिँदै आएको कर तथा राजस्व छुटको घोषणा गर्नसमेत सङ्घले माग गरेको छ । बुटवल उपमहनगर प्रमुख खेलराज पाण्डेयले सङ्घले उठाएका कुरामा आफू सकारात्मक रहेको र यी समस्या समाधानका लागि हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।