सुजल श्रेष्ठ
प्युठान, असार १४ गते । गौमुखी गाउँपालिकामा गरिएको अध्ययनले दुई सय १७ प्रजातिका चार हजार पाँच सय ३८ वटा चराहरुको अभिलेख गरिएको छ । २०८१ असोज र २०८२ वैशाख महिनामा चरा विज्ञहरुले वैज्ञानिक पद्धत्तिबाट अध्ययन गरिएको हो ।
गौमुखी गाउँपालिकाको सहयोग र हिमाली अनुसन्धान केन्द्रको समन्वयमा गरिएको अध्ययन प्रतिवेदन एक कार्यक्रममा सार्वजनिक गरिएको हो । २०८१ असोजको सर्वेक्षणमा मङ्गोलियाबाट जाडो याममा बसाई सरी आउने विश्वकै दुर्लभ गोमायु चिल र नेपालको आकाश हुँदै दक्षिण जाने क¥याङ–कुरुङ सारस पनि अभिलेख भएको छ ।
०८२ सालको वैशाखमा गृष्मकालीन आगन्तुक चराहरु आठ प्रजातिका कोइली, दुई प्रजातिका मुरलीचरा, स्वर्गचरी, सुनचरी, कस्तुरा, चाँचरजस्ता चरा भेटिएका छन् । ती चराहरु नेपालमा बच्चा कोरल्न बसाइँ सरी आउँछन् । अध्ययनको क्रममा भेटिएका दुई सय १७ प्रजातिका चराहरुमध्ये ९९ प्रजातिका चरा सङ्रक्षण महत्वका भएकाले गौमुखी क्षेत्र चराका लागि अत्यन्तै महत्त्वपूर्ण क्षेत्र भएको पुष्टि गरेको अनुसन्धानकर्ता चरा विज्ञ कृष्ण भुसालले बताउनुभयो ।
यस क्षेत्रमा नेपालका नौ प्रजातिका संरक्षित चरामध्ये दुई प्रजाति चिर कालिज र मुनाल पाइन्छन् । यसैगरी, विश्वमै दुर्लभ पाँच प्रजाति डङ्गर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, गोमायु महाचिल र चिर कालिज पनि अभिलेख गरीएको भुसालले जानकारी दिनुभयो ।
राष्ट्रिय रूपमा सङ्कटापन्न अवस्थामा रहेका १७ प्रजाति, चार प्रजाति सीमित क्षेत्रमा मात्र पाइने, ६९ प्रजाति खास प्रकारको भूगोलमा मात्र पाइने र ३१ प्रजाति साइटिस सूचीमा सूचीकृत चराहरु यस क्षेत्रमा भेटिनुले गौमुखी क्षेत्रको गरिमा झन् बढेको छ । यस क्षेत्रमा लोपोन्मुख हिमाली गिद्ध र हाडफोर गिद्धको गुँड भएको पुष्टि भएको छ । चराहरू मात्र होइन, यस अध्ययनले ८ प्रजातिका पुतली, ५ प्रजातिका माछा, ४ प्रजातिका उभयचर, ८ प्रजातिका सरिसृप र १८ प्रजातिका स्तनधारी जनावरहरूको उपस्थिति अभिलेख गरेको छ, जसले यस क्षेत्रको समग्र जैविक सम्पदा झल्काउँछ ।
यस अध्ययनले गौमुखी वन संरक्षण क्षेत्र घोषणका लागि थप सहयोग गरेको छ भने चरा तथा जैविक विविधता क्षेत्र बनाउन बलियो आधार मिलेको छ । यस कार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व राख्नेछ । यसले ग्रामीण पर्यटन, वैज्ञानिक अनुसन्धान, वातावरण संरक्षण र पर्यापर्यटन प्रर्वद्धनसँगै स्थानीय समुदायको जीविकोपार्जन तथा दिगो विकासका लागि पनि सम्भावनाको ढोका खोलेको पालिकाका उपाध्यक्ष महाविर रानाले बताउनुभयो ।