• १४ असार २०८२, शनिबार

प्रेम कविताको महत्त्वपूर्ण कृति

blog

कवि ठाकुर बेलवासे एक सशक्त कवि र सञ्चारकर्मी हुनुहुन्छ । विम्ब, प्रतीक र विचारलाई कवितामा संयोजन गर्न निपुण ठाकुर वैचारिक र गम्भीर कविता लेख्ने कविका रूपमा परिचित हुनुहुन्थ्यो । अब प्रेम कविता सर्जकको परिचय पनि ठाकुरमा थपिएको छ ।

प्रेम कवितामा पनि ठाकुरले विम्ब र प्रतीकको कलात्मक संयोजन त गर्नुभएको छ नै; प्रेममाथि वैचारिक पनि बन्नुभएको छ । कुशल काव्यकारिताका कारण कविता साहित्यमा टाढैबाट चिनिने चम्किला तारा जस्ता ठाकुर प्रेम कविताकृति  ‘चोटहरूको उत्सव’ सम्म आइपुग्दा उहाँले शब्दचयन र वाक्यकलामा भिन्न क्षमता प्रस्तुत गर्नुभएको छ । यसले ठाकुरको कवि व्यक्तित्वलाई थप उचाइमा पुर्‍याएको छ । उहाँले यो कविताकृतिमा सरल शब्दहरू प्रयोग गर्नुभएको छ तर त्यसको गहिरो सोच र चिन्तन प्रवाहलाई बेजोड वेगवान् बनाउनुभएको छ ।

प्रेम कविता भन्नासाथ पाठकले मायापिरतीका कुरा खोज्नु स्वाभाविक पनि हो । यो कृतिभित्रका कवितामा प्रेमका कुराहरू त आउँछन् तर ती जीवनको गहिरो तहमा पुगेर जिन्दगीलाई भिन्न किसिमले हेर्ने र देख्ने गरी आएका छन्– 

आफूभन्दा अग्लो 

चोटहरूको भारी बोकेर 

यो दुनियाँ डुलिरहँदा 

घाउ कत्तिको दुखेको छ ?

कसैले सोधेको थिएन 

चोटको भरिया सम्झेर 

मान्छेहरू पीडा थपिदिन्थे 

तिमी नै त 

पहिलो हौ 

मेरा चोटहरूबारे सोधखोज गरेर 

मलाई शीतल बनाउने 

(चोटहरूमा)  

यो कविता अंशले प्रेमभाव जति बोकेको छ; त्यति नै जीवन र जिन्दगीबारे पनि बोलेको छ । बेलवासेले यो कविताकृतिमा प्रेमका नाममा जीवनका विविध पक्षलाई विम्ब/प्रतिविम्बको प्रयोगशालामा लगेर अनेक ढङ्गबाट हेर्नुभएको छ । प्रेमको प्रयोगशालामा जीवनलाई रौँचिरा गर्नुभएको छ ।   

ठाकुरले यो कृतिका माध्यमबाट कवितामा अत्यन्तै सरल तरिकाले नयाँ प्रयोग गर्नुभएको देखिन्छ– 

‘ढोग्नु पर्छ मूर्तिको भगवान्लाई 

अनि माया गर्नु पर्छ मान्छेलाई 

तिम्रो घर कहिल्यै अँध्यारो हुँदैन’ भन्यौ 

प्रत्येक मठ, मन्दिर, चैत्य, गुम्बा

अनि चर्च र मस्जिदमा मन चढाउँदै हिँडे 

विश्वास जगाउँदै रहेँ मान्छेमा 

घर सधैँ चम्किरह्यो 

(स्मृतिदंश)

उहाँले यसरी धेरै कवितामा संवादको प्रयोग गर्नुभएको छ । कवितामा यसरी संवादको प्रयोग गरिएको यसअगाडि मैले पढ्न पाएको थिइनँ । कवि बेलवासेले प्रेम र मानवता, दुःख र सुख, स्नेह र सम्मान जस्ता भावनात्मक मूल्यको सम्पूर्णता बुझेर कविता लेख्नुभएको छ । यसलाई उहाँको काव्यिक परिपक्वता भने पनि हुन्छ । उहाँको यो काव्यकृति केवल साहित्यिक दृष्टिबाट मात्र नभई सामाजिक र मानवीय दृष्टिबाट पनि अत्यन्त महत्वपूर्ण छ । 

कवि बेलवासेका कविताले हृदयमा मानवीय संवेदनशीलता र सशक्त विचारको बीजारोपण गरिदिन्छ । उहाँका कवितामा सशक्त र विचारशील दृष्टिकोण पाइन्छ; जसले पाठकलाई आफ्नो जीवन र समाजका वास्तविकतासँग जोड्न मद्दत पुर्‍याउँछ–

मान्छेले जिन्दगीमा 

बोल्नका लागि नयाँ साथी भेट्न सक्ला 

बस्नका लागि नयाँ घर किन्न सक्ला 

जोड्न सक्ला सम्पत्ति 

अनि बन्न सक्ला रातारात कुबेर 

मन बुझ्ने आफ्नै जस्तो मन

कहाँ किन्न सक्छ मान्छेले 

यस्तो काव्य चेतनाले सामाजिक, सांस्कृतिक र मानवीय पक्षको पनि सशक्त प्रतिनिधित्व गरेका छन् भन्ने कुरालाई प्रमाणित गर्छ । 

ठाकुरले आफ्नो रचनामा महिलाको सम्मान, प्रेम र सहकार्यका मूल्यहरूलाई उच्च स्थान दिएको पाइन्छ; जसले महिलाप्रतिको उहाँको गहिरो सोच र समर्पणलाई स्पष्ट पार्छ ।  

बेलवासेले यो काव्यका माध्यमबाट प्रेमको 

विराट् रूप देखाउनुभएको पाइन्छ । उहाँले चलनचल्तीको प्रेमको भरिभाषाभन्दा धेरै माथि उक्लिएर प्रेमको नयाँ परिभाषा दिनुभएको अनुभूति हुन्छ । यो सङ्ग्रह केवल काव्यको शृङ्गारिक व्याख्या मात्र होइन; बरु यो समाजमा प्रेमको गम्भीर मुलायम सन्देश प्रवाह गर्न सफल बनेको छ । कवि बेलवासेले महिलालाई प्रेमिकाका रूपमा मात्रै हेर्नुभएको छैन; महिलालाई जीवनको विश्वविद्यालय नै ठान्नुभएको पाइन्छ–

तिमीसँगको सम्बन्धपछि त हो 

स्वास्नीमान्छेलाई 

मैले जीवनको विश्वविद्यालय सम्झेको

(सम्बन्धका पाठशाला)

यो कृतिभित्रका कविताहरू वासनात्मक प्रेमबाट पनि ओतप्रोत छन् तर वासनाको सस्तो प्रयोग गरिएको छैन । जीवन बाँच्नुको अर्थसँग अत्यन्तै महत्त्वपूर्ण भएर जोडिएको वासनात्मक प्रेमबाट मानिस कति आशक्त छन्; यी 

कविताले देखाउँछन् । 

कवि बेलवासेले यो काव्यकृतिमार्फत प्रेमको परिभाषालाई भिन्न बनाउनुभएको मात्र छैन; उहाँले त महिलाप्रतिको सम्मानलाई चुलीमा पुर्‍याउनुभएको पाइन्छ । प्रेमलाई पूजा गर्नुभएको छ । प्रेम गर्नेहरूलाई उहाँ पूर्ण मान्छे ठान्नुहुन्छ ।

महिलालाई त यो कृतिले सर्वशक्तिमान मात्रै मानेको छैन; सर्वोच्च स्थानमा राखेर आराधना गरेको छ । कवि वासनात्मक प्रेमलाई बढो कुशलतापूर्वक कवितामा उतार्न सफल देखिनुहुन्छ–

हो, त्यही एक रात 

तिमीमा फुलेका गुलाफका सुगन्धले 

म जीवनभर सुगन्धित हुन चाहन्छु

यसपछि 

सुगन्धको अर्को कुनै राग खोज्नु नपरोस् ।

(एउटा अँध्यारोको अनुष्ठान)

यो प्रेम कविताकृति हो । यसकारण पनि महिला–पुरुषको सम्बन्ध यी कवितामा आउने नै भयो । कविले हरेक जसो कवितालाई वियोगान्तमा लगेर अन्त्य गर्नुभएको छ तर कुनै पनि कवितामा महिलालाई अपमान गर्नुभएको छैन । महिलाको साथको अभाव नै कविताको वियोगान्त भाव बन्न पुगेको छ ।

कविले महिलालाई केवल भौतिक रूपमा होइन; सिर्जनात्मकता, करुणा र प्रेमको स्रोतका रूपमा प्रस्तुत गर्नुभएको छ । महिलाका जीवनका विभिन्न चरण–बाल्यकाल, युवावस्था, विवाह, मातृत्वलाई कविले अत्यन्तै संवेदनशील र सम्मानका साथ चित्रित गर्नुभएको पाइन्छ ।

‘चोटहरूको उत्सव’ मा प्रेम र माया एउटा प्रमुख विषय बनेको छ । कवि बेलवासेले महिलाको प्रेमलाई अत्यन्तै सन्तुलित र आदर्श रूपबाट प्रस्तुत गर्नुभएको छ । प्रेममा महिला केवल एक ‘रेस्पोन्स’ र स्वीकार गर्ने पात्र मात्र होइन; उनी आफैँ प्रेमको स्रोत र पोषक हुन्छिन् । प्रेममा महिलाले सहनशीलता, ममता, करुणा र अनुकम्पा प्रदर्शित गर्छन् । कवितासङ्ग्रहमा विभिन्न ठाउँमा कविले प्रेमको वास्तविक स्वरूपलाई चित्रण गर्नुभएको छ; जसले प्रेमका नाममा हुने भद्दा मजाकलाई अस्वीकार गरेको पाइन्छ । वास्तवमा कवि बेलवासेले यो कृतिका माध्यमबाट प्रेमको भिन्न चेतनाको ढोका खोल्नुभएको छ ।

साहित्यका माध्यमबाट पात्रपात्रालाई कमजोर बनाउने अभ्यास र परम्परा नयाँ होइन । बेलवासेले कवितामा स्त्री र पुरुष पात्र दुवैलाई समान व्यवहार र सम्मान गर्नुभएको छ । एकअर्काका प्रति गुनासोहरू मुखर बनाउनुभएको छ तर ती अति सम्मानजनक लाग्छन् । 

प्रेम आफैँमा सहयोग र मिलनको एउटा संयोजन हो । कविले यी कवितामा प्रेमको सहयोग र मिलनलाई जीवनको महत्त्वपूर्ण आदर्श बनाउनुभएको छ । उहाँले शान्ति र समानतालाई प्रेमको कसीमा ढालेर महिला–पुरुषको मिलनको शक्तिको रूप कवितामा देखाउनुभएको पाइन्छ । 

‘चोटहरूको उत्सव’ ले महिलाको सङ्घर्ष र परिवर्तनको यात्रामा उत्पन्न हुने चुनौतीलाई प्रकट गरेको छ । कवि बेलवासेले समाजका गलत धारणा र रूढिवादी दृष्टिकोणलाई चुनौती दिनुभएको छ । महिला एक पुरुषका लागि मात्रै नभएर सिङ्गो मानव संसारका लागि आधारस्तम्भ भएको दाबी यी कविताहरूले गरेका छन् । ठाकुर बेलवासे पत्रकारिता र कविता साहित्यमा प्रतिष्ठित नाम हो । यी प्रेम कविताले उहाँको सामाजिक व्यक्तित्वलाई अझ उचाइमा पुर्‍याएको मैले अनुभव गरेकी छु । 

अहिलेको कठोर समयमा प्रेम हल्का र ठट्टाको विषय कदापि हुन सक्दैन भन्ने आदर्शलाई कवि बेलवासेले कविताका माध्यमबाट दाबी गर्नुले पनि उहाँ नारीवादी कवि हुनुहुन्छ भन्ने प्रमाणित गरेको छ । बेलवासे साहित्यमा हतारको दौडमा हुनुहुन्न । १३ वर्षको अन्तरालमा उहाँको यो चौथो कृति प्रकाशित भएको छ । हुन त यो कृति २०७१ सालमै प्रकाशनको तयारी भएर कविकै हेलचेक्रयाइँबाट २०८१ मा आएर प्रकाशित हुन पुग्यो । यसको लामो र रोचक कथा बेलवासेले यसै कृतिमा लेख्नुभएको छ ।