• २ असार २०८१, आइतबार

लुम्बिनीलाई विश्वभरका बुद्धिष्ट केन्द्रको रूपमा विकास गरौँ : प्रधानमन्त्री प्रचण्ड

blog

लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल 

भैरहवा, जेठ १० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीलाई विश्वभरका बुद्धिष्टको ‘बर्थिङ सेन्टर’ का रूपमा विकास गरिने बताउनुभएको छ। 

उहाँले लुम्बिनीलाई विश्वभरका बुद्धिष्टको बर्थिङ सेन्टरको रूपमा विकास गरी त्यसमार्फत् यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवर्द्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना रहेको बताउनुभयो। 

प्रधानमन्त्री प्रचण्डले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताउनुभयो।

२५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस-२०८१ को अवसरमा बिहीबार लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार बुद्ध जन्मभूमि लुम्बिनीलाई विश्व शान्ति र धार्मिक पर्यटकको गन्तव्यको रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभयो। 

उहाँले संसारभरका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन/अवलोकन गर्नुपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताउनुभयो।

उहाँले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्व शान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील रहेको बताउनुभयो। उहाँले नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आह्वान गरिएको जानकारी दिनुभयो। 

उहाँले बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको बताउनुभयो।

मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्त्वपूर्ण अङ्ग पवित्र लुम्बिनीको विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागि परेको स्पष्ट पार्नुभयो।

नेपाल सरकारले सन् २००४ मा दोस्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिट्टै आयोजना गरिने ब्यहोरासमेत जानकारी दिनुभयो।