• १४ असार २०८२, शनिबार

काँक्रेविहार संरक्षण कार्ययोजना तयार

मिनी चिडियाखानादेखि वन्यजन्तु उद्धार केन्द्रसम्म

blog

दसबर्से संरक्षण योजना ल्याइएको सुर्खेतको काँक्रेविहार ।

ललित बसेल

सुर्खेत, असार १४ गते । देशको एक मात्र संरक्षित वन सुर्खेतको काँक्रेविहारलाई संरक्षण गर्न १० बर्से कार्ययोजना तयार पारिएको छ । इनभारोमन्टल फोरम फर रिसर्च एन्ड डेभलपेमेन्ट नेपाल प्रालिको प्राविधिक सहयोगमाा वन तथा भूसरंक्षण विभाग काठमाडौँले काँक्रेविहारको १० बर्से संरक्षण कार्ययोजना तयार पारेको हो । 

काँक्रेविहार वातावरणीय, ऐतिहासिक, पुरातात्त्विक, धार्मिक एंव सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएकाले यसको दीर्घकालीन संरक्षणका लागि आर्थिक वर्ष २०८२/८३ देखि २०९१/९२ को १० बर्से कार्ययोजना तयार गरिएको हो । १७५.५० हेक्टर क्षेत्रफलमा वीरेन्द्रनगर नगरपालिका–९ र १० मा फैलिएको काँक्रेविहार वन संरक्षण क्षेत्रमा करिब २५ प्रकारका स्तनधारी, ४१ प्रजातिका चरा, विविध प्रकारका माछा, उभयचर तथा सरीसृपलगायत ९३ रुख प्रजाति पाइने गर्दछन् । 

डिभिजन वन कार्यालय सुर्खेतको पहलमा कार्यक्रमको समीक्षा गरी विभिन्न क्षेत्रको सुझावसमेत सङ्कलन गरी कार्ययोजना तयार पारिएको हो । कार्ययोजनामा दिगो वन व्यवस्थापन, पुरातात्त्विक, धार्मिक एवं वातावरणीय संरक्षण, जैविक विविधता तथा जैविकमार्गको संरक्षण जस्ता विषयगत क्षेत्र समेटिएका छन् । यस्तै जनस्तरमा सचेतना कार्यक्रम, क्षमता तथा संस्थागत विकास, जलवायु परिवर्तन तथा वातावरणीय सेवाको भुक्तानी, वैकल्पिक इन्धन प्रवर्धन, गरिबका लागि आयआर्जन तथा पर्यापर्यटन विकास र कार्यमूलक अध्ययन अनुसन्धान तथा अभिलेखीकरण पनि कार्ययोजनाले समेटेका छन् । 

 चार करोड २० लाख बजेट प्रस्ताव

यस १० वर्षको विशेष कार्ययोजना कार्यान्वयन गर्न अनुमानित बजेट चार करोड २० लाख प्रस्ताव गरिएको छ । यसमध्ये कार्यक्रम खर्चमा तीन करोड ५० लाख र प्रशासनिक खर्चका लागि जम्मा ७० लाख बजेट प्रस्ताव गरिएको जानकारी डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले दिनुभयो । कार्ययोजनामा योजना निर्माणमा लाग्ने बजेट पनि प्रस्तावित गरिएको छ । मचान निर्माणमा १५ लाख, मिनी चिडियाखाना निर्माणमा १० लाख, फुट ट्रेल निर्माण तथा मर्मतमा ३० लाख, वन्यजन्तु उद्धार केन्द्र निर्माणमा ५० लाख, ऐतिहासिक, पुरातात्त्विक र धार्मिक सम्पदाको मर्मत पुनर्निर्माण तथा संरक्षणमा २० लाख, पर्यापर्यटन विकास तथा व्यवस्थापनमा ४८ लाखलगायत अन्य योजनाको बजेट प्रस्तावित गरिएको छ । 

परिषद् गठन गर्न प्रस्ताव

कार्ययोजनामा उल्लेखित कार्यक्रम कार्यान्वयन डिभिजन वन कार्यालय सुर्खेतले गर्ने जनाइएको छ । कार्ययोजनामा उल्लेख भए अनुसार काँक्रेविहार वन संरक्षण क्षेत्र परिषद् गठन गर्न प्रस्ताव गरिएको छ । परिषद्का प्रतिनिधिमध्येबाट परिषद्को कार्यकारिणी समितिको चयन गरिने छ । यस कार्यसमितिमा अध्यक्ष, उपाध्यक्षलगायत सदस्यहरू निर्वाचित भई आउने छन् भने सदस्यसचिव पदेन सदस्यका रूपमा रहने व्यवस्था गरिएको छ । यस संरचनामा कार्यसमितिको सङ्ख्या ११ जनासम्म रहने प्रस्ताव गरिएको छ । यस परिषद्को कार्यकारिणी समितिमा डिभिजन वन कार्यालयले समन्वय गरी तोकेको वन अधिकृतले सदस्यसचिव एवं प्रबन्धकका रूपमा रही कार्यक्रम सञ्चालन गर्ने डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत श्रेष्ठले बताउनुभयो ।

 के गर्न सकिन्छ ?

कार्ययोजना अनुसार यो वन संरक्षण क्षेत्रलगायत सुर्खेत जिल्लाका अन्य महìवपूर्ण सम्भाव्य पर्यापर्यटन क्षेत्रसँग सञ्जाल विस्तार गरी छोटा र लामा दुरीको पदयात्राको विकास गर्न सकिने जनाइएको छ । छोटो दुरीको पैदल यात्राका लागि खास गरी काँक्रेविहार वन संरक्षण र यसभित्र रहेका शिखर शैलीका मन्दिरको अवलोकनका साथै यस क्षेत्रका वरिपरि रहेका महìवपूर्ण गढी, मन्दिर र स्थानीय बासिन्दाको सांस्कृतिक, जीवनशैली, रीतिरिवाज, वातावरण, पर्यावरण र वन्यजन्तुको अवलोकन आदि आकर्षकका स्रोतका रूपमा विकास गरी लैजान सकेमा पैदल यात्री पर्यटनको विकास गर्न सकिने डिभिजनल वन अधिकृत श्रेष्ठले बताउनुभयो । ४५१ मिटरको परिपथ मार्गको निर्माण पनि भइरहेको जानकारी उहाँले दिनुभयो ।

सरकारले २०५९ वैशाख ३० गते संरक्षित वन क्षेत्र घोषणा गरेको हो । यस काँक्रेविहार वन संरक्षण क्षेत्रमा चितुवा, विभिन्न प्रजातिका मृग, खरायो, स्याल, फ्याउरो, सर्प, गोहोरो, जङ्गली बँदेल, बाँदर, चरीबाघ आदि वन्यजन्तु पाइन्छन् । कार्ययोजनामा वनडढेलो नियन्त्रण, पानीपोखरी निर्माण तथा मर्मत, गैरकानुनी क्रियाकलाप नियन्त्रण, चरिचरन नियन्त्रण, इको क्लब गठन, चोरीसिकारी तथा चोरी निकासी नियन्त्रण कार्यदल गठन एवं परिचालन, गोठालो तथा हेरालुका लागि संरक्षण शिक्षा, वन्यजन्तु क्षति राहतकोष स्थापना तथा वितरण, वृक्षरोपण र पुनर्उत्पादन संरक्षण, नर्सरी तथा बिरुवा उत्पादन कार्यलाई प्राथमिकता दिइएको छ ।