• २ असार २०८१, आइतबार

सेवार खोलामा पुल निर्माण सुरु

blog

पुल निर्माणको काम सुरु भएको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवार खोलास्थल ।

घोराही समाचारदाता

घोराही, जेठ १० गते । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा चार लेनको पक्की पुल निर्माणको काम सुरु भएको छ । तीन वर्षभित्रमा पुल निर्माणको काम सक्ने गरी निर्माण सुरु भएको पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर उपेन्द्र दासले जानकारी दिनुभएको छ । इन्जिनियर दासका अनुसार २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माणको काम सक्ने गरी २०८० साल वैशाख ३० गते रायमाझी निर्माण सेवा प्रालि काठमाडौँसँग सम्झौता भएको हो ।

सो सम्झौता अनुसार निर्माण कम्पनीले पुल डिजाइनको काम सकेर पूर्वाधार निर्माणको काम सुरु गरेको छ । उहाँका अनुसार पुल चार लेनमा ७० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको हुनेछ । सेवार खोलामा पुल नहुँदा सवारी आवागमनमा समस्या हुने गरेको थियो । 

पुल निर्माण भएपछि घोराही–तुलसीपुर सडकखण्डमा चल्ने सवारीसाधनसँगै नारायणपुर क्षेत्रबाट घोराही अध्ययनका लागि आउने विद्यार्थीलाई सहज हुने घोराही उपमहानगरपालिका–१०, नारायणपुर निवासी सन्तोष केसी बताउनुहुन्छ । खोलामा पुल नहुँदा बर्सातका बेलामा घण्टौँसम्म रोकिनुपर्ने बाध्यता छ ।