रुपन्देही समाचारदाता
रुपन्देही, जेठ ९ गते । लुम्बिनीमा २५६८ औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइने भएको छ । लुम्बिनी विकास कोषले बुुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउन विशेष तयारी गरेको छ ।
कोषले पत्रकार सम्मेलन गरी उक्त दिवस तीन दिन विविध कार्यक्रम गरी मनाउने तयारी गरिएको जनाएको छ । जेठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मेलन उद्घाटन गर्नुहुने बताइएको छ ।
कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताउनुभयो । उहाँले आफू लुम्बिनी बनाउने सङ्कल्पका साथ यहाँ आएको बताउँदै पवित्र लुम्बिनीको विकास र प्रवर्धनमा सम्पूर्ण सञ्चारकर्मीलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
उपाध्यक्ष डा. लामाले यो वर्ष बजेटको सुनिश्चितता नहुँदा थप कार्यक्रम सञ्चालन गर्न निकै कठिनाइ भोगेको बताउँदै बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय रूपमा सन्देश दिने गरी मनाउनुपर्नेमा जोड दिनुभयो ।
मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाको सहभागिता रहने छ । प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक एंव कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा समेत विविध कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
बुधबार ९ गते साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम, मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ । मूल समारोहका दिन जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीको सहभागितामा प्रार्थना सभा र शोभायात्रा हुने छ ।
लुम्बिनीमा जेठ १० गते बिहान नेपाल, भारत र श्रीलङ्कासम्म पुग्ने गरी त्रिदेशीय मोटरसाइकल यात्रा शुभारम्भ हुने कोषाध्यक्ष भट्टराईले बताउनुभयो । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्थिधातु रहेको रामग्राममा पण्डितपुरदेखि रामग्रामसम्म अस्थि यात्रा, प्राचीन तिलौराकोट दरबारमा, देवदहमा बुद्ध जयन्तीमा कोष र स्थानीय तहले सहकार्य गरेको जनाइएको छ ।
कोषले भगवान् बुद्धको महत्व दर्साउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लावासीलाई बुद्ध जयन्तीका अवसरमा दीप प्रज्वलन गर्न अपिल गरेको छ ।
लुम्बिनी प्रेस क्लबले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटक प्रवर्धनमा मिडियाको भूमिका विषय अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा कोषका उपाध्यक्ष डा. लामा, कोषाध्यक्ष भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमख डा. हरिध्वज राईलगायतले बोल्दै लुम्बिनीको पर्यटन प्रवर्धनमा पत्रकारसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।