• १३ साउन २०८१, आइतबार

बजार चलायमान बनाउने उपायको खोजी

blog

बुटवल, जेठ ८ गते । बुटवल बजारमा आएको मन्दी र व्यवसायीको बढ्दो विस्थापन कसरी रोक्ने भन्ने विषयमा बुटवलमा बृहत् अन्तर्क्रिया गरिएको छ ।  रुपन्देही व्यापार सङ्घले आयोजना गरेको बुटवल बजार चलायमानका आधार विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्ने व्यवसायीले बुटवल बजारमा आएको मन्दी र व्यवसायीको विस्थापन रोक्न स्थानीय पालिका, प्रदेश र सङ्घीय सरकारले नयाँ योजना ल्याउन सुझाव दिइएको छ । 

व्यवसायीले स्थानीय सहर बजारको संरक्षण र विकासको मुख्य जिम्मेवारी स्थानीय सरकारको भएको हुँदा त्यसका लागि गम्भीर बन्न बुटवल उपमहानगरपालिकालाई आग्रह गरेका छन् । 

उनीहरूले स्थानीय सरकारले व्यवसायीसँग कर र राजस्व मात्र उठाउने होइन कि बजारको स्थायित्वका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण तथा व्यवसायीमैत्री वातावरण निर्माण गर्ने कुरामा ध्यान दिन सुझाव दिएका छन् । व्यवसायीले बुटवलको मुख्य बजार क्षेत्रको चर्को घरभाडाले आफूहरूले बजार छाड्नु परिरहेको गुनासो गरेका छन् । 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको बजार पुरानो आर्थिक केन्द्र रहेका कारण त्यसलाई त्यहि रूपमा अगाडि बढाउन समस्याको पहिचान गर्न जरुरी रहेको उल्लेख गर्दै बुटवललाई विस्थापन गराउने मुख्य कारण राजमार्गको निर्माणमा भएको ढिलाइ रहेको बताउनुभयो । 

रुपन्देही व्यापार सङ्घका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले हिजोको सोच र शैलीमा गरिने व्यापार व्यवसायले बजारलाई चलायमान गराउन नसक्ने धारणा राख्दै बजारमा विविधताको खोजी गर्न आग्रह गर्नुभयो । 

रुपन्देही उद्योग सङ्घका द्वितीय उपाध्यक्ष हरिबहादुर खत्रीले बुटवलको बजार पहिलेको तुलनामा अहिले धेरै क्षेत्रमा विस्तारित भएका कारण पछिल्लो समयमा उपभोक्ताका लागि बुटवल आउनै पर्ने बाध्यता नरहेकाले बुटवललाई चलायमान बनाउन नयाँ ढङ्गको सोच तथा साना साना सुधारमा ध्यान दिनु जरुरी छ भन्नुभयो । 

बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष नरिश्वर पौडेलले बुटवलको पुरानो बजार क्षेत्रलाई ज्योतिनगरको पहिरो र अव्यवस्थित पार्किङले चिन्तित बनाएको बताउनुभयो । 

कार्यक्रममा राखिएका सुझाव र जिज्ञासाको जवाफ दिँदै  बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको पहिचान र विविधतालाई बचाएर बजार चलायमान बनाउन स्थानीय सरकारको सक्रियताले मात्र सम्भव नहुने बताउनुभयो । 

कार्यक्रममा रुपन्देही व्यवापार सङ्घका अध्यक्ष दीपकप्रसाद अधिकारीले बुटवलको मूख्य बजार क्षेत्रको घरभाडा धेरै भएको र पहिलाको तुलनामा व्यापार कम भएकाले व्यवसायी विस्थापित हुने अवस्था आएको बताउनुभयो ।