• १२ असार २०८१, बुधबार

वैदेशिक रोजगारीको दस महिना, सिप सिकेर जाने बढे

blog

काठमाडौँ, जेठ ७ गते । वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० वैशाखको तुलनामा २०८१ को वैशाखमा सिप सिकेर, दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत वैशाखमा दक्ष भएर जानेको सङ्ख्या ६९ प्रतिशत रहेकोमा गएको वैशाख ७४ प्रतिशत पुगेको छ । 

गएको वैशाख महिनामा ७० हजार ६३७ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५२ हजार १७७ जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् । गत वैशाख महिनामा ५४ हजार ४५७ जनाले श्रम स्वीकृति लिएर गएकोमा ३७ हजार ९९१ जना दक्ष भएर गएको विभागले जनाएको छ । 

विभागका अनुसार गएको वैशाखमा श्रम स्वीकृति लिएर विदेश गएकोमा उच्च दक्ष र व्यवसायी भिसामा श्रम स्वीकृति लिएर विदेश जाने ४४४ जना (०.६२ प्रतिशत) अर्धदक्ष भएर जाने पाँच हजार ४२० जना (७.६७ प्रतिशत) र अदक्ष १२ हजार ६१६ जना (१७.८६ प्रतिशत) रहेका छन् । 

गत वर्षको वैशाखमा श्रम स्वीकृति लिएर गएका ५४ हजार ४५७ गएकोमा उच्च दक्ष र व्यावसायिक १०८ जना (०.१९ प्रतिशत), अर्धदक्ष चार ९१५ (९.०२ प्रतिशत) अदक्ष ११ हजार ४४३ (२२ प्रतिशत) रहेको थियो । 

विदेश जाने छ लाख नाघे

चालु आव २०८०/८१ को १० महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या छ लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म रोजगारीका लागि छ लाख १२ हजार ९१० जनाले लिएका छन् । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् । 

वैशाखमा पहिलो श्रम गन्तव्य मलेसिया

वैशाख महिनामा पहिलो श्रम गन्तव्य मलेसिया बन्न सफल भएको छ । यस अवधिमा मलेसियाका लागि १६ हजार ९४९ जनाले श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । चालु आवको १० महिनामा ७९ हजारले श्रम स्वीकृति लिएर मलेसिया गएका छन् । यस अवधिमा दोस्रो श्रम गन्तव्यमा संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ सो अवधिमा युएईका लागि १६ हजार ५१२ जनाले श्रम स्वीकृति लिएर गएका छन् । यस्तै सो अवधिमा कतारका लागि ११ हजार १०७ जनाले र साउदी अरबका लागि ११ हजार ६१ जनाले श्रम स्वीकृति लिएर गएका छन् ।

दस महिनामा पहिलो श्रम गन्तव्य युएई

चालु आवको १० महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश बनेको संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । विभागका अनुसार चालु आवको १० महिनामा श्रम स्वीकृति लिएकोमा युएईका लागि एक लाख ५४ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका छन् । यस अवधिमा दक्षिण कोरिया नेपालीको पाँचौँ श्रम गन्तव्य बनेको छ । दक्षिण कोरियाका लागि १० हजार ९८१ जना रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया पुगेका छन् ।  विभागको महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको १० महिनासम्म युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । 

विप्रेषण करिब एघार खर्ब

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले यही महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको नौ महिना (चैत) सम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्ष सो अवधिमा तुलनामा १९.८ प्रतिशतले धेरै हो । यो तथ्याङ्क हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ ।