• ५ असार २०८१, बुधबार

‘पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ’

blog

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल । फाइल तस्बिर

काठमाडौँ, जेठ ५ गते । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताउनुभएको छ । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारण सभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताउनुभयो । 

निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न आग्रह गर्दै उहाँले निर्वाचन समिति गठन गरी समितिले कार्य प्रारम्भ गरिसकेको जानकारी दिनुभयो । महासङ्घको गत वैशाख २१ र २२ गते काठमाडौँमा सम्पन्न २७ औँ राष्ट्रिय महाधिवेशनले केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि मिति निर्धारण गरेको थियो । सदस्यता शुद्धीकरणले अन्तिम रूप नलिइसकेकाले समयमा निर्वाचन हुन नसक्ने आशङ्का गरिएको थियो । कार्यक्रममा महासङ्घका पूर्वसभापति तथा वक्ताहरूले पत्रकारिता क्षेत्रलाई व्यावसायिक, स्वतन्त्र र जिम्मेवार बनाउन नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँहरूले महासङ्घमा दलीय निकटताका आधारमा भागबण्डा खोज्ने प्रवृत्ति गलत भएको पनि बताउनुभएको थियो । पूर्वसभापति हरिहर विरही, विष्णु निष्ठुरी, डा.सुरेश आचार्य, डा.महेन्द्र विष्ट, वर्तमान सल्लाहकार निर्मला शर्मालगायतले महासङ्घलाई साझा र व्यावसायिक पत्रकारको छाता संस्थाकारुपमा कायम राख्न आग्रह गर्नुभएको थियो । साधारण सभाबाट साङ्गठनिक र आर्थिक प्रतिवेदनका साथै पत्रकारितालाई शुद्धीकरण गर्नेलगायत विभिन्न घोषणापत्र पारित गरेको छ । सो प्रदेश कमिटीको अधिवेशनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो । रासस