तनहुँ समाचारदाता
तनहुँ, चैत ६ गते । ऊर्जा सुरक्षा सुदृढ गर्दै विद्युत् वितरण प्रणालीलाई थप भरपर्दो बनाउने लक्ष्यसहित लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजना अघि बढाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणले जर्मन सरकारको सहकार्यमा कार्यान्वयन गर्न लागेको यस परियोजना अन्तर्गत करिब ४५ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गरिने छ । लेखनाथ र दमौलीमा आधुनिक सबस्टेसन स्थापना गरिने छ । जर्मन सरकारको केएफडब्लु विकास बैङ्कमार्फत सहवित्त लगानीको यस आयोजनाले क्षेत्रीय विद्युत् सञ्जाललाई सुदृढ बनाउँदै नेपालको ऊर्जा सुरक्षामा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, जर्मन राजदूत उडो भोल्ज तथा केएफडब्लु विकास बैङ्कका प्रतिनिधिले संयुक्त रूपमा बुधबार दमौलीमा सबस्टेसनको शिलान्यास गर्नुभयो ।
एक हजार मेगावाट प्रसारण क्षमता रहने यस परियोजनाले तनहुँ जलविद्युत् आयोजनालगायत विभिन्न आयोजनाबाट उत्पादित विद्युत् प्रभावकारी रूपमा राष्ट्रिय प्रणालीमा प्रवाह गर्ने छ । यसबाट ग्रिडको प्रभावकारिता बढ्नुका साथै नवीकरणीय ऊर्जाको समावेश विस्तार भई आयातित जीवाश्म इन्धनमा निर्भरता घटाउने भएकाले प्रभावकारी बनाउने तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यले यस परियोजनाले उत्पादन, प्रसारण र वितरणबिचको सन्तुलन कायम गर्दै देशको समग्र विद्युत् प्रणालीलाई बलियो बनाउने बताउनुभयो । उहाँले भननुभयो, “प्रसारण पूर्वाधार सुदृढीकरणबिना ऊर्जा सुरक्षाको लक्ष्य हासिल गर्न सकिँदैन । यस परियोजनाले विद्युत् आपूर्तिलाई गुणस्तरीय, नियमित र भरपर्दो बनाउन निर्णायक भूमिका खेल्ने छ ।”
परियोजना अन्तर्गत निर्माण हुने प्रसारण लाइन र लेखनाथ तथा दमौलीमा स्थापना गरिने आधुनिक ग्यास इन्सुलेटेड सबस्टेसनले विद्युत् आपूर्तिमा देखिने प्राविधिक समस्या न्यूनीकरण गर्ने छन् । यसले औद्योगिक तथा व्यावसायिक क्षेत्रका लागि आवश्यक पर्ने गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्ने छ । जर्मन राजदूत उडो भोल्जले नेपालको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न विश्वसनीय प्रसारण पूर्वाधार विस्तार अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।