लीलाधर वली
घोराही, जेठ ३ गते । लमही नगरपालिका–४ निवासी सुन्दरलाल चौधरीले ११ कट्ठा जग्गामा गरेको हिउँदे मकै खेती भित्र्याउन अहिले व्यस्त हुनुहुन्छ । खेतबारीमा लगाइएको मकै तयार भएपछि चौधरीको परिवार मकै व्यवस्थापनमा जुट्नुभएको हो ।
वर्षमा दुई बाली मकै खेती गर्दै आउनुभएका चौधरीले राम्रो आम्दानीसमेत गर्दै आउनुभएको छ । यो वर्ष मकैको राम्रो घोगा लागेकाले आम्दानी बढ्ने आशामा रहनुभएका चौधरी मकै बिक्री गरेर घरायसी आवश्यकता पूर्तिसँगै बर्खे धान खेतीका लागि मल र बिउ किन्ने तयारीमा रहेको बताउनुहुन्छ ।
हिउँदे मकै व्यवस्थापनमा जुट्नुभएका चौधरीले भन्नुभयो, “बर्खे खेतीका लागि बिउ र मलको जोहो गर्ने समय आइसक्यो, त्यही भएकाले मकै बिक्रीका लागि तयारी गर्दै छौँ ।” पछि वर्षाको समयमा राख्नलाई पनि समस्या हुने भएकाले अहिले खेतबारीबाट ल्याउँदै घरमा दाना छोडाएर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । किसान चौधरीका अनुसार हिउँदे मकै खेती गर्न थालेपछि घरमा कामसँगै आम्दानी बढ्दा कमाउनका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । उहाँले भन्नुभयो, “हिउँदे मकै खेतीले गर्दा आम्दानी बढ्ने गरेको छ । पहिले घरखर्च जुटाउनका लागि बाहिर जानुपर्ने भए पनि अहिले त्यो बाध्यता हटेको छ ।’’
मकै खेतीले गर्दा चैत, वैशाख, जेठको सुक्खायाममा पनि गाउँमा हरियाली हुने गरेको अर्का किसान सहदेव चौधरी बताउनुहुन्छ । करिब नौ कट्ठा जग्गामा हिउँदे र वसन्त मकै खेती गर्नुभएका उहाँलाई पनि पछिल्लो समय मकै व्यवस्थापन गर्नुपर्ने चटारो छ । बारीमा तयार भएका मकैलाई व्यवस्थापन गर्ने र बर्से खेतीका लागि मकै रोप्ने याम सुरु भएकाले हिउँदे मकै व्यवस्थापन गर्न लागेको चौधरी बताउनुहुन्छ । यसरी तयार भएको मकै गाउँबाटै बिक्री गरेको भन्दै चौधरीले भन्नुभयो, “उत्पादन भएको मकै बिक्रीका लागि समस्या छैन ।” कुखुरा तथा पशुपालन गर्ने किसानले दानाका रूपमा लग्ने भएकाले जति खेती गरे पनि बिक्री हुने गरेको छ । साथै दानाका रूपमा बिक्री नभएको मकै सहकारीले खरिद गरेर बाहिर पठाउने गरेको छ ।
अहिले देउखुरीमा कात्तिक, मङ्सिर महिनामा लगाएको हिउँदे मकै भित्र्याउन धेरै किसान व्यस्त हुनुहुन्छ । देउखुरी क्षेत्रमा सिँचाइको व्यवस्था हुने भएकाले लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका विभिन्न क्षेत्रमा किसानले हिउँदे र वसन्ते मकै खेती गर्ने गर्छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भएपछि मकै खेतीमा कृषि औजारको प्रयोग बढेको छ । परम्परागत रूपमा गर्दै आएको हिउँदे र वसन्ते मकैमा कृषि यन्त्रको प्रयोग बढेका कारण खेती गर्ने क्षेत्र र उत्पादन बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ लमहीका कृषि विकास अधिकृत हेमन्त पौडेल बताउनुहुन्छ । कृषि विकास अधिकृत पौडेलले भन्नुभयो, “बर्खे मकैबाट गुणस्तरीय उत्पादन लिन नसकिने भएपछि पछिल्लो समय धेरै किसान हिउँदे र वसन्ते मकै खेतीमा लागेका छन् ।”