• १२ साउन २०८१, शनिबार

संसद् खुलाउन पहल

blog

काठमाडौँ, जेठ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्का प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन संवाद तीव्र पार्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सन्दर्भमा सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग संसद् सुचारु गर्ने विषयमा छलफल गर्नुभएको छ ।  बैठकमा कांग्रेसले सहकारी ठगीका सन्दर्भमा संसदीय छानबिन समिति बनाउन माग राखेर गरेको संसद् अवरोधको निकासका सन्दर्भमा परामर्श भएको छ । बैठकपछि गृहमन्त्री लामिछानेले संसद्मा आफूलाई बोल्न दिने वातावरण बनाउन कांग्रेससँग आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “आफूमाथि लागेको आरोपको जवाफ दिन पाइन्छ, मैले संसद्मा जवाफ दिन पाइनँ । आफ्नाबारे लागेको आरोपबारे जवाफ दिन्छु । अनि कांग्रेसले जे गर्ने हो निर्णय गरे हुन्छ ।” 

उहाँले कांग्रेस व्यक्ति केन्द्रित भएको दाबी गर्नुभयो । साथै उहाँले संसद्मा उठान गर्ने अरू विषय रहेको प्रस्ट पार्दै प्रमाण दिन कांग्रेसलाई चुनौती दिनुभयो । उहाँले देशको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न अवरोध गर्नु अलोकतान्त्रिक हुने तर्क गर्दै यस विषयमा गम्भीर बन्न कांग्रेसलाई सुझाव दिनुभयो ।  यसअघि आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रमसहित समसामयिक सन्दर्भमा जानकारी गराउनुभएको थियो । त्यसै गरी उहाँले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नुभएको थियो ।  

प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबिच पनि संसद् खुलाउने सन्दर्भमा छलफल भएको छ । त्यसै गरी सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति देउवासँग फोन संवाद गर्दै मङ्गलबार सङ्घीय संसद्का दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले सहज वातावरण निर्माणका लागि आग्रह गर्नुभएको हो । 

सभामुखको सचिवालयका अनुसार उहाँले राजनीतिक सहमतिका आधार निर्माण गरी राष्ट्रप्रमुखको उपस्थिति र अवलोकनका लागि कूटनीतिज्ञ आउने भएकाले पनि सहज वातावरण बनाउन सभापति देउवालाई आग्रह गर्नुभयो । जवाफमा सभापति देउवाले सहकारी ठगीका सन्दर्भमा संसदीय छानबिन समिति बनाउने अडान यथावत् रहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षी दलले उठाएका विषयलाई बेवास्ता नगर्न आग्रह गर्नुभयो ।  यसै गरी गृहमन्त्री लामिछानेले पनि सभामुख घिमिरेसँग छलफल गर्नुभएको छ । उहाँले सभामुख घिमिरेलाई फोन गरेर संसद्मा बोल्नका लागि समय मिलाइदिन आग्रह गर्नुभयो । 

कांग्रेसको अडान कायमै 

नेपाली कांग्रेस पदाधिकारी बैठकले सहकारी ठगीका सन्दर्भमा संसदीय छानबिन समिति नबनाएसम्म संसद् सुचारु नहुने प्रस्ट पारेको छ । बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भन्नुभयो, “हाम्रो माग प्रस्ट छ । सहकारी ठगीका सन्दर्भमा संसदीय छानबिन समिति बनाउनु पर्छ । अनि मात्रै सदन सुचारु हुन्छ ।”

उहाँका अनुसार कांग्रेसले छानबिन समितिको माग गर्दै संसद्देखि सडकसम्म प्रदर्शन गर्ने तयारी गरेको छ । यसैबिच कांग्रेस भ्रातृ सङ्गठन नेपाल तरुण दलले मङ्गलबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेको छ ।