• १२ चैत २०८२, बिहिबार

‘राइड सेयरिङ’ सवारीमाथि कडा निगरानी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत १२ गते । ट्राफिक प्रहरीले ‘राइड सेयरिङ’ सवारीमाथि कडा निगरानी बढाएको छ । प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गर्दै कारबाही गरिरहेको छ । ‘राइड सेयरिङ’ चालकले मनोमानी पैसा असुल्ने, बार्गेनिङ गर्ने र अनलाइन नलिई अफलाइन चलाउने गुनासो बढेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो । 

चैत ८ गतेदेखि तीन दिनमा झन्डै चार सय चालकलाई कारबाही भएको प्रहरीले जनाएको छ । विशेष चेकिङ अभियानका क्रममा नियमविपरीत सञ्चालन भइरहेका र जथाभाबी राइड सेयरिङ चलाउनेलाई लक्षित गरी निगरानी बढाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “मुख्यतः अनलाइन अनुमति नलिई अफलाइन सवारी सञ्चालन गर्नु, जथाभाबी पिक एन्ड ड्रप गर्नु तथा सवारीसाधन मापदण्ड अनुसार नहुनु समस्या देखिएको छ ।” यस्ता गतिविधिले सडक सुरक्षा र यातायात व्यवस्थापनमा नकारात्मक प्रभाव पार्ने भएकाले विशेष अभियान चलाइएको उहाँको भनाइ छ । 

पठाओ, टुटल, याङ्गो, इनड्राइभ जस्ता राइडिङ सेयररिङले बजारको दैनिकी सहज बनाएका छन् । झन्डै चार लाख युवा स्वरोजार भएको राइड सेयरिङ कम्पनीको दाबी छ तर सुरक्षा र नियमनका सवालमा कुनै निकाय जवाफदेही नहुँदा यात्रु आफैँ जोखिम मोलेर हिँड्न बाध्य भएको यातायात व्यवसायी महासङ्घले जनाएको छ । 

कम्पनीमा दर्ता भएर अनलाइनमा सेवा दिनेभन्दा पनि दर्ता नभई अफलाइनमा मोलमोलाइ गर्नेको सङ्ख्या बढेको छ । यसको कानुनी व्यवस्थापन नहुँदा सम्भावित दुर्घटना पनि बढेको सुवेदीको भनाइ छ, “राइड सेयरिङका लागि कानुन बन्दै छ । कानुन भएपछि व्यवस्थापन गर्न सहज हुने छ ।” 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भन्नुभयो, “सुविधाका हिसाबले सबैलाई सजिलो भएको छ तर यसको व्यवस्थापन कठिन छ । कानुन निर्माण नहुँदासम्म गाह्रो छ । रातो नम्बर प्लेटले यात्रु बोक्नै पाउँदैन । कानुन नबन्दासम्म संवेदनशील अवस्था छ ।”