गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १२ गते । सरकारी स्वास्थ्य सेवामा कार्यरत विशेषज्ञ चिकित्सकको तलब मासिक दुई लाख रुपियाँ पुर्याउन प्रस्ताव गरिएको छ ।
सार्वजनिक प्रशासन रूपान्तरण अभियानले सार्वजनिक गरेको प्रस्तावमा स्वास्थ्यकर्मीको संरचनामा व्यापक सुधार आवश्यक रहेको औँल्याउँदै चिकित्सकको न्यूनतम तलब मासिक दुई लाख रुपियाँ पुर्याउन सुझाव दिएको हो । अभियानले भावी सरकारलाई बुझाएको सुधार खाकामा हाल विशेषज्ञ चिकित्सकको तलब अन्य सरकारी कर्मचारी सरह रहेको उल्लेख गर्दै यसलाई पुनर्संरचना गर्दै दुई लाख रुपियाँ पुर्याउने प्रस्ताव गरेको हो ।
अभियानका संयोजक गणेश घिमिरेले नयाँ सरकार सफल बनाउन कर्मचारी प्रशासनमा व्यापक सुधार अपरिहार्य रहेको भन्दै विशेषज्ञ चिकित्सकको न्यूनतम तलब दुई लाख रुपियाँ पुर्याउनुपर्ने प्रस्ताव गरिएको बताउनुभयो ।
अभियानले प्रस्ताव गरेको खाकामा कुनै पनि पदको तलब निर्धारण गर्दा आवश्यक शैक्षिक योग्यता हासिल गर्न लाग्ने समय, लागत तथा सेवाको विशिष्टीकरणलाई आधार बनाउनुपर्ने उल्लेख गरिएको छ । घिमिरेले सोही आधारमा विशेषज्ञ चिकित्सकको न्यूनतम तलब दुई लाख रुपियाँ हुनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।