• १२ चैत २०८२, बिहिबार

चार सयभन्दा बढी उडान प्रभावित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १२ गते । पश्चिम एसियाका देशमा जारी युद्धका कारण खाडी मुलुकका गन्तव्यमा हुँदै आएका चार सयभन्दा बढी उडान प्रभावित भएका छन् । फागुन १६ गतेदेखि उडान सुरक्षासम्बन्धी तनावका कारण पश्चिम एसियाका नौ वटा देशमा गैरसैनिक उडान प्रतिबन्धका कारण फागुन २० गतेदेखि बुधबारसम्म सात वटा वायुसेवा कम्पनीका ४०६ अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालबाट सबैभन्दा धेरै ओहोरदोहोर हुँदै आएका गन्तव्यमध्ये कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरबलगायतका गन्तव्यमा दैनिक उडान रद्द हुँदा हवाई यात्रुको ओहोरदोहोरमा समेत कमी आएको छ ।

विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले भन्नुभयो, “पछिल्लो समय कतार, संयुक्त अरब इमिरेट्स, साउदीलगायतका गन्तव्यमा सीमित उडान सुचारु भए पनि कुवेतको उडान सुचारु हुन सकेको छैन । उडान सुरक्षाका कारण अहिले विगतको तुलनामा आधा उडान सुरु भए पनि कुवेत एयरलाइन्स र जजिरा एयरवेजले भने अझै उडान सुरु गर्न सकेका छैनन् ।”

नेपाल आवागमनका लागि सस्तो, सुलभ र सहज मुख्य ट्रान्जिट मानिने गन्तव्यबाट कतार एयरवेज, फ्लाई दुबई र एयर अरेबिया जस्ता वायुसेवा र नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका दर्जनौँ उडान रद्द हुँदा यसले यात्रुको ओहोरदोहोरमा समेत असर पुगेको उहाँले बताउनुभयो ।

हिमाल आरोहण र पदयात्राका लागि नेपाल घुम्न आउने प्रमुख याममै प्रमुख वायुसेवाका उडान प्रभावित हुँदा त्यसको असर विदेशी पर्यटकको आवागमनमा देखिएको उहाँको भनाइ छ । हाल दैनिक १० अन्तर्राष्ट्रिय उडान रद्द हुँदै आएका छन् ।

विमानस्थल कार्यालयका अनुसार जजिरा एयरवेजका २१, कुवेत एयरलाइन्सका ४०, एयर अरेबियाका २१, फ्लाई दुबईका ४५, कतार एयरलाइन्सका ५५, नेपाल वायुसेवा निगमका ४५ र हिमाल एयरलाइन्सका मात्रै ४३ बढी उडान रद्द भएका छन् ।

पश्चिम एसियाका देशमा उत्पन्न सैन्य तनावका कारण उडान रद्द हुँदा यात्रुबाट लिँदै आएको विमानस्थल सेवा शुल्कबाहेक हरेक दिन दुई करोड १० लाख रुपियाँभन्दा बढी आर्थिक नोक्सानी हुँदै आएको छ ।