गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १२ गते । सोलुखुम्बुको लोबुचेमा भएको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना उडानअघि पाइलटलाई अद्यावधिक मौसमसम्बन्धी पर्याप्त सूचना नहुनु र हिउँले ढाकिएको समथर नरहेको हेलिप्याडका कारण भएको देखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको उक्त दुर्घटना जाँच प्रतिवेदनमा चालकले गत कात्तिक १२ गते लुक्लाबाट लोबुचेका लागि उडान भर्दा हिमपात तथा न्यून दृश्यतासम्बन्धी अद्यावधिक जानकारी नभएको, हेलिकोप्टर अवतरणका लागि हेलिप्याड स्थलमा हेलिकोप्टरलाई मार्गनिर्देशन तथा सतह अवस्थाबारे जानकारी दिन भुइँ कर्मचारीको उपस्थिति नरहेको, हेलिप्याडमा कुनै पनि स्पष्ट सङ्केत नभएको र जोखिम मूल्याङ्कनका उपाय नअपनाइएको लगायतका कारण औँल्याइएको छ ।
अवतरणको समयमा हेलिकोप्टरको स्किड (भुइँमा अडिने स्यान्ड) हिउँले ढाकिएको हेलिप्याडमा सन्तुलन गुमाएर ढल्किँदा मुख्य पङ्खा जमिनमा ठोकिएर दुर्घटना हुन पुगेको, हेलिकोप्टरको पङ्खाको हावाले भुइँको हिउँ उडाउँदा पाइलटले बाहिरी दृश्यका आधारमा हेलिकोप्टरको स्थिति ठम्याउन नसकेको समेत प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै हिउँले ढाकिएको हेलिप्याड ढुङ्गाले मिलाएर असमान तरिकाले बनाएको र बेसमा कार्यरत कम्पनीका जिम्मेवार अधिकारीसमेत घटना हुँदा लुक्लामा नभएको जनाइएको छ । प्रतिवेदनले दुर्घटनामा परेको हेलिकोप्टर उडानयोग्य अवस्थामा रहेको तथा नियामक निकायको प्रावधान र मापदण्ड अनुसार उद्धार उडानमा संलग्न रहेको र चिकित्सकीय रूपमा योग्य र अनुभवी रहेको जनाएको छ । दुर्घटनामा पाइलट विवेक खड्का घाइते हुनुभएको थियो ।