गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १२ गते । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा रहेका कागमा बर्डफ्लु पुष्टि भएको छ ।
पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले कीर्तिपुरका जङ्गलमा काग मरेको जानकारी पाइएपछि विभागको प्राविधिक टोली गएर परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको जानकारी दिनुभयो । कागमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङक्रमण पुष्टि भएपछि सतर्कता अपनाउन आग्रह गर्दै आत्तिनुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।
कीर्तिपुर नगरपालिका र पशु सेवा विभागको संयुक्त टोलीले त्रिविपरिसरबाट सङ्कलन गरिएका मृत कागको परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । परीक्षणका लागि पठाइएका नमुनामध्ये ‘एच फाइभ एन वन’ र ‘एच नाइन’ दुवै प्रकारका भाइरस भेटिएको हो ।
विभागका प्रवक्ता तथा महामारी रोग प्रमुख डा. उपाध्यायले दिनुभएको जानकारी अनुसार हालसम्म स्वास्थ्यकर्मीको समूहले त्रिविपरिसरबाट ६० वटा मृत काग सङ्कलन गरेर नमुना परीक्षणका लागि पठाइएको छ । उहाँले बर्डफ्लु सङक्रमित कागलाई सुरक्षित रूपमा खाल्डो खनी गाडिएको जानकारी दिनुभयो ।
प्रवक्ता डा. उपाध्यायले बाहिरबाट आएका चराबाट कागमा बर्डफ्लु सरेको हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले खुला रूपमा उड्ने चरामा देखिने सङ्व्रmमण नियन्त्रण गर्न कुखुरामा देखिने सङक्रमणभन्दा चुनौतीपूर्ण हुने भन्दै कागमा सङ्क्रमण छ भन्दैमा कुखुरामा नसर्ने बताउनुभयो । सतर्कता अपनाउनु पर्छ, उपाध्यायले भन्नुभयो, “तर आत्तिनुपर्ने अवस्था छैन ।” उहाँले झापा, मोरङ र सुनसरी जिल्लामा बर्डफ्लु फैलिएको जानकारी दिँदै कुखुरा ओसारपसारमा कडाइ गरिएको बताउनुभयो ।
हालसम्म उक्त क्षेत्रमा अन्य प्रजातिका चरामा अस्वाभाविक मृत्यु नभेटिएको उहाँको भनाइ छ । मरेका कुखुरा वा अन्य पशुपन्छीलाई अन्य जनावरलाई खुवाउने वा स्रोत नखुलेको सस्तो मासु उपभोग नगर्न पनि आग्रह गर्नुभयो ।
कागमा बर्डफ्लु पुष्टि भएपछि कीर्तिपुर नगरपालिकाले स्थानीय क्षेत्रमा कुखुराका दाना ओसारपसारमा अस्थायी रोक लगाएको छ । किसानलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै पशुपन्छीपालकलाई खोर सुरक्षित बनाउन, जङ्गली चराचुरुङ्गी तथा जनावरको पहुँच घरमा पालिएका कुखुरामा रोक्न निर्देशन दिएको छ ।