• १२ साउन २०८१, शनिबार

हत्यामा संलग्न अभियुक्त पक्राउ

blog

फुयालको हत्या आरोपमा पक्राउ परेका सप्तकोशी ५ का चन्द्रबहादुर सुवेदी । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, वैशाख ३० गते । सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित नेपाल बैङ्क लिमिटेडका सुरक्षागार्ड परशुराम फुयाँलको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले हत्या आरोपमा पक्राउ परेका सप्तकोशी नगरपालिका–५, गंगाजलीका ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई आइतबार सार्वजनिक गरिएको हो । 

सुवेदीलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा राप्ती नगरपालिका वडा नम्बर १ लोथर चितवनबाट शनिबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डिराज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार तालिम प्राप्त कुकुर सहितको मधेस प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त अनुसन्धान टोलीले बैङ्कमा रहेको सिसिटिभी फुटेजको अध्ययन विश्लेषण गरी उक्त घटनामा सुवेदीको संलग्न देखिएकोले नियन्त्रणमा लिएको बताउनुभयो । 

उहाँले अभियुक्त सुवेदीको साथबाट घटनामा प्रयोग भएको खुकुरी, घटनाको समयमा बोकेको झोला, लगाएको जुत्ता, पन्जा, सेन्डो, टोपी, सल र वरदात स्थलमा प्रयोग भएको काठ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी न्यौपानेले बताउनुभयो । 

सप्तकोशी नगरपालिका–२, सिद्धिपुरका ५६ वर्षीय फुयाँल बिहीबार बिहान बैङ्कमै मृत फेला परेका थिए । उहाँको खुकुरी प्रहार गरी हत्या गरिएको सप्तरी प्रहरीले यसअघि नै खुलाइसकेका थिए । नेपाली सेनाबाट सेवा निवृत्त भएपछि विगत ८ वर्षदेखि निरन्तर सुरक्षा गार्ड रहेका उहाँको शरीरमा खुकुरी प्रहार गरेको चोट र शवको वरिपरि रगतका टाटा फेला परेको थियो । 

उनी बैङ्क सुरक्षागार्ड कक्षमै मृत अवस्थामा फेला परेका थिए । फुयाँलको लुटेरासँग निकैबेर मुठभेड भएको सिसिटिभी फुटेजमा देखिएको बैङ्कले जनाएको छ । फुयाँलको हत्या गरी बैङ्कबाट चोरी गर्ने प्रयास भने सफल नभएको बैङ्कले जनाएको छ ।

मृतक फुयाँलका श्रीमती २ छोरा र २ छोरी छन् । सप्तरी प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट गार्डको धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिएकोले सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।