• १२ पुस २०८१, शुक्रबार

संसारकै अप्ठेरो बाटो

blog

नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार ६२६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सगरमाथाको आरोहण गर्नेमा ५१९ जना महिला रहेका छन् ।

वसन्त ऋतु हिमाल आरोहण लागि उपयुक्त सिजन हो । अहिले विभिन्न देशबाट नेपाल आएका पर्वतारोहीले हिमालका आधार शिविरहरू भरिभराउ भएका छन् । हिमाल आरोहणका लागि नेपाल आएका ७९ देशका पर्वतारोही अहिले सगरमाथासहित विभिन्न ३० वटा हिमालका आधार शिविरमा पुगेर हिमाल चढ्ने उपयुक्त मौसमको पर्खाइमा बसिरहेका छन् । यी हिमालमध्ये केहीमा आरोहण सुरुसमेत भइसकेको छ । यस पटक सगरमाथा आरोहणका लागि नेपालसहित ४१ देशका ४१४ जना पर्वतारोहीले अनुमति लिएका छन् । अनुमति लिनेमा ३३९ पुरुष र ७५ जना महिला रहेका छन् । गत वर्षको यही सिजनमा हालसम्मकै सबैभन्दा बढी ४७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । 

सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये केही पर्वतारोही पूर्वअभ्यासका रूपमा आधार शिविरदेखि दोस्रो शिविरसम्म राउन्ड ट्रिप (उकालो चढ्ने र आधार शिविर झर्ने) मा व्यक्त छन् । उहाँहरू सगरमाथा आरोहणका लागि बन्दोबस्तीका सामान बोकेर एक महिनाअघिदेखि नै आधार शिविरमा जमघट भएका हुन् । कतिपय पर्वतारोही आरोहणका लागि आउने र अनुमति लिने क्रम अझै जारी छ । 

आर्थिक सर्वेक्षण अनुसार नेपाल आउने पर्यटकमध्ये १७ प्रतिशत पर्यटक पदयात्रा र पर्वतारोहणमा जाने गरेका छन् । नेपालमा झन्डै तीन हजार हिमाल छन् । विश्वका आठ हजार मिटरमाथिका १४ हिमालमध्ये आठ वटा हिमाल नेपालमा छन् । त्यस्तै छ हजार मिटरमाथिका एक हजार ३१० हिमाल नेपालमा छन् । यी हिमाल खर्चालु पर्यटक नेपाल भित्र्याउने बलिया आधार मात्रै होइनन्, नेपाल र नेपालीलाई विश्वमाझ चिनाउने आधार र देशका अर्थतन्त्र उकास्ने माध्यम पनि हुन् । यी हिमाल आरोहणका लागि विदेशी पर्यटक नेपाल आउँदा सरकारलाई राजस्व मात्रै प्राप्त हुँदैन, हवाई कम्पनीदेखि होटल, आरोहण एजेन्सी, भरिया, पथप्रदर्शकसम्मले रोजगारी पाउँछन् । पर्वतारोहण र हिमाली क्षेत्रमा पदयात्रा गर्न आउनेहरू खर्चालु पर्यटकको सूचीमा पर्छन् । लामो समय हिमाल आसपास रहनुपर्ने भएकाले बसाइ अनुसार खर्च धेरै हुने गरेको छ । यसरी आरोहणका लागि जाँदा एक जना पर्यटकले ५० हजार डलरसम्म खर्च गर्ने तथ्याङ्कले देखाएको छ ।

नेपालमा पर्वतारोहण सन् १९५० बाट सुरु भएको थियो । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले नेपालको पश्चिमी भागमा अवस्थित हिमाल अन्नपूर्ण पहिलोको सफल आरोहण नै नेपालमा आठ हजार मिटर अग्ला हिमालको पहिलो आरोहणको रूपमा चिनिन्छ । आठ हजार ८१ मिटर उचाइको सो हिमाल विश्वको दसौँ अग्लो हिम शिखर हो । त्यसको तीन वर्षपछि सन् १९५३ को मे २९ तारिखमा न्यूजिल्यान्डका नागरिक सर एडमन्ड हिलारी र नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । 

जानकारहरूका अनुसार सगरमाथाको पहिलो आरोहणले नेपाललाई हिमालहरूको देश भनेर संसार भर चिनाएन मात्रै नेपालमा पर्वतारोहण र पर्यटनको युग नै सुरु गरिदियो । पर्यटन विभागको तथ्याङ्क अनुसार हालसम्म सात हजारभन्दा बढी मानव पाइलाले सगरमाथाको चुचुरो टेकिसकेका छन् ।

यसरी हुन्छ बाटो निर्माण

हरेक वर्ष आरोहण सुरु हुनुपूर्व सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्मको डोरी टाँग्ने (बाटो बनाउने काम) सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले गर्दै आएको छ । एसपिसिसीले विसं २०५४ देखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर दोस्रो आधार शिविरसम्मको बाटो बनाउने र मानव मल, मुत्रको व्यवस्थापनको जिम्मा लिँदै आएको हो । एसपिसिसीका अनुसार बाटो बनाउने तयारी सुरु भएपछि आधार शिविरमा बौद्ध परम्परा अनुसार आरोहण सफलताको कामना गर्दै पूजापाठ (क्षमापूजा) गर्ने, शक्ति माग्ने र लामा पूजा गरेपछि अनुभवी ‘आइसफल डाक्टर’ (हिमालमा बाटो बनाउने मान्छे) शेर्पाहरूले हिउँ कुल्चने गर्छन् ।

आधार शिविरबाट खुम्बु आइसफल हुँदै समुद्री सतहबाट छ हजार एक सय मिटर उचाइमा रहेको पहिलो शिविरसम्म पुग्न खर्पस, खोचलगायतका कारण बाटो बनाउन निकै अप्ठ्यारो र समय लाग्ने गर्छ । आधार शिविरबाट करिब चार किलोमिटरको बाङ्गोटिङ्गो, उबडखाबड, नागबेली आकारको बाटो पहिल्याउँदै डोरी र आल्मुनियमका भर्याङको सहारामा खुम्बु आइसफल पार गरेपछि दोस्रो शिविर पुगिन्छ । पाइलैपिच्छे खतरनाक खरपस भेटिने खुम्बु आइसफलको यो बाटोलाई संसारकै अप्ठ्यारो बाटो मानिन्छ । सगरमाथा, ल्होत्से र नृप्से हिमाल आरोहणको मार्ग पनि त्यही भएकाले यो बाटो समय समयमा बिग्रिरहन्छ । सगरमाथा आरोहण गर्नुअघि आरोहीहरू आधार शिविरबाट दोस्रो शिविरसम्म पटक पटक आवातजावतमा प्रयोग हुने यो बाटो बिग्रिरहने भएकाले आरोहण सिजन सकिने दिन (मे २९) सम्मै बाटो बनाउने टोली सगरमाथा आधार शिविरमा तयारी अवस्थामा रहन्छन् ।

आइसफल डाक्टरले बाटोमा सङ्केत राख्ने, भर्याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरेर आरोहीका लागि बाटो तयार पार्ने गर्छन् । यसरी आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो तयार पार्दा विभिन्न स्थानमा साना, ठुला गरी १५ देखि २० वटासम्म भर्याङको प्रयोग हुने गरेको छ । उक्त मार्गमा सन् २०१८ मा ३२ वटा भर्याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा प्रयोग भएको थियो । हिमनदी र हिउँ खाल्डा तथा खर्पसहरू धेरै रहेको दोस्रो शिविरसम्म हरेक वर्ष संरचना परिवर्तन भइरहने भएकाले भर्याङ कति राख्ने भन्ने सुरुमा यकिन नै हुँदैन ।

त्यस्तै गरी छ हजार चार सय मिटर उचाइमा रहेको दोस्रो शिविरसम्मको बाटो केही सजिलो भए पनि यहाँ पनि पाइला–पाइलामा मृत्यु छल्नुपर्ने हुन्छ । दोस्रो आधार शिविरसम्म बाटो बनाएपछि एसपिसिसीबाट खटिएको आइसफल डाक्टरको टोली आधारशिविर फर्किने गर्छ । दोस्रो आधार शिविरदेखि चुचुरोसम्मको बाटो पर्वतारोहण सञ्चालक सङ्घको तर्फबाट बर्सेनि फरक फरक आरोहण कम्पनीहरूले गर्दै आएको छ । दोस्रो शिविरदेखि तेस्रो शिविरसम्मको दुरी करिब तीन किलोमिटर रहेको छ । सात हजार तीन सय मिटरको उचाइमा रहेको तेस्रो शिविरसम्मको बाटो ज्यादै कठिन भएकाले यहाँ पनि पाइलै सार्न निकै गाह्रो हुन्छ । तेस्रो शिविरमाथि अल्टिच्युड सिकनेसको सम्भावना हुने भएकाले यहाँको बाटो बनाउन पनि समस्या र समय लाग्ने गरेको छ । 

यस्तै गरी चौथो शिविरसम्मको बाटो बनाउँदा जति माथि गयो, त्यति सास फेर्न कठिन हुने अक्सिजनको अभाव सुरु हुन थाल्छ । सगरमाथा आरोहण गर्दा आराम गर्ने ठाउँको रूपमा परिचित चौथो शिविरलाई साउथ कोलको नामले पनि चिनिन्छ । समुद्री सतहभन्दा सात हजार ९०६ मिटरको उचाइमा रहेको साउथ कोल क्षेत्र सगरमाथा र ल्होत्से हिमाल चढ्ने संयुक्त शिविर हो । यहाँबाट चुचुरोको बाटो तय हुने गर्छ । यो स्थानमा बाटो बनाउन गएको टोली र आरोहीहरू अपराह्नतिर पुग्ने गर्छन् । चौथो शिविरदेखि चुचुरोसम्मको यात्रा तय गर्न बेलुकी ९ बजेदेखि सुरु हुन्छ । चौथो शिविरभन्दा माथि बाल्कोनी र हिलारी स्टेप भन्ने ठाउँ रहेको छ । चौथो शिविरदेखि अनिवार्य समिट सुट र अक्सिजन लगाएर बेलुका हिँडेका टोली करिब १४ देखि १८ घण्टासम्म यही बाटो चढेर बिहान उज्यालो हुँदातिर चुचुरो पुग्न थाल्छन् ।

आरोहण सकिएपछि टाँगिएका डोरी, भर्याङलगायतका सामानहरू निकाल्न बाटो बनाएर आधार शिविर फर्किएका अनुभवी शेर्पाहरू करिब तीन महिना आधार शिविरमै बस्ने गरेका छन् । आरोहणमा प्रयोग हुने डोरीको मोटाइ नौ मिलिमिटर र भर्याङ बाँध्न प्रयोग हुने डोरी सात मिलिमिटरसम्मको हुन्छ । जुन डोरी युरोपबाट आयात हुने गरेको छ । 

आरोहणपूर्वको तयारी र खर्च

सगरमाथा आरोहणका लागि वैशाख र जेठ महिनालाई उपयुक्त समय मानिन्छ । यो समयमा अनुकूल मौसम हुने भएका कारण सगरमाथा आरोहणको तयारी गर्न आरोहीहरू चैत महिनामै सगरमाथातर्फ लागिसकेका हुन्छन् । सगरमाथाको आरोहण गर्न महिनौँ, कहिलेकाहीँ वर्षौंको तालिम र तयारीको आवश्यकता पर्न सक्छ । त्यति हुँदा पनि सगरमाथा चढ्न सकिन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । प्रतिघण्टा एक सय माइलको दरले चल्ने हिउँ बोकेको चिसो बतासको गति र माइनस ३० डिग्री फरेनहाइटको चिसो तापक्रममा ज्यानै लिने खालका हिमआँधी र हिम पहिरोको सामना गर्न विश्वका कुना कप्चाबाट पर्वतारोही नेपाल आउने गर्छन् । सगरमाथा आरोहणका लागि पहिलै छ हजार मिटर हाराहारीको हिमाल आरोहण गरिसकेको हुनु पर्छ । त्योबाहेक आरोही रक क्वालमिङ, वाल क्वालमिङलगायतको तालिम प्राप्त हुनु पर्छ । सगरमाथा आरोहणका लागि तोकिएको हिमाली दस्तुर (राजस्व) तिरेपछि पर्यटन विभागले ७५ दिने आरोहण अनुमति दिन्छ । सगरमाथा आरोहण समूहमा मात्रै जानुपर्ने नियमका कारण एक्लै जान पाइँदैन । आरोहीलाई आरोहणमा सहयोग गर्ने शेर्पा (गाइड) लाई आरोहण अनुमतिको शुल्क लाग्दैन ।

पर्यटन विभागले विदेशी आरोहीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा प्रतिव्यक्ति एक हजार एक सय, शरद्मा पाँच हजार पाँच सय र अन्य सिजनमा दुई हजार ७५० अमेरिकी डलर शुल्क तोकेको छ । नेपालीका लागि भने वसन्त ऋतुमा प्रतिव्यक्ति ७५ हजार, शरद्मा ३७ हजार पाँच सय र अन्य सिजनमा १८ हजार २५० रुपियाँ शुल्क तोेकिएको छ ।

सगरमाथाबाहेक आठ हजार मिटरसम्मका अन्य हिमालमा विदेशी नागरिकलाई वसन्त ऋतुमा एक हजार आठ सय, शरद्मा नौ सय र अन्य सिजनमा ४५० अमेरिकी डलर शुल्क लिने गरिएको छ । नेपालीलाई भने यी हिमालमा क्रमशः १० हजार, पाँच हजार र २५ सय रुपियाँ रोयल्टी तोकिएको छ । आठ हजार मिटरमुनिका हिमालका लागि अझ कम रोयल्टी तिरेर हिमाल आरोहण गर्न सकिन्छ । यस वर्ष सगरमाथामा आरोहण अनुमति दिएबापत सरकारलाई करिब ६० करोड रुपियाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ ।

आरोहणमा कडाइ

बर्सेनि सगरमाथा आरोहणको व्यवस्थापनलाई लिएर अन्तर्राष्ट्रिय जगतमै आलोचना हुने गरेको छ । पर्यटन विभागले सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन र आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो । 

विभागका महानिर्देशक (हाल आन्तरिक राजस्व विभागमा सरुवा) चक्रबहादुर बुढाका अनुसार यसअघि खटाइएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगी घरमै बसेर भत्ता खाने, आरोहीले नक्कली फोटो तथा कागजपत्र तयार पारेर आरोहण पूरा गरेको दाबी गर्ने गरेको गुनासोको आधारमा सम्पर्क कार्यालय नै स्थापना गरेर अनुगमन थालिएको हो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा आधार शिविरमा हुने गरेका गैरकानुनी क्रियाकलाप, आरोही समूहबिच हुने झगडा, आरोहणका क्रममा हुने ट्राफिक जाम, उद्धारमा हुने समस्या र सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुग्नेलगायतका गुनासा आउने गरेका थिए । तिनलाई निगरानी र नियन्त्रण गर्न सम्पर्क कार्यालय स्थापना गरिएको हो ।”

उहाँका अनुसार यस सिजनको हिमाल आरोहणको व्यवस्थापनका लागि ७७ जनालाई विभिन्न हिमालका लागि सम्पर्क अधिकृतको रूपमा खटाइएको छ । त्यसमध्ये कतिपय तोकिएको क्षेत्रमा पुगिसकेका छन् भने कतिपय अझै पुग्न बाँकी छन् । यसरी खटाइएका सम्पर्क अधिकृतहरू आफ्नो आरोहण समूहका साथ हिमालको आधार शिविरसम्म पुगेर आरोहण सम्पन्न नहुन्जेल सोही शिविरमा बसेर सरकारी प्रतिनिधिका रूपमा आरोहण व्यवस्थापनमा खटिने छन् । छ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहणमा जाने पर्वतारोहीले एक जना सम्पर्क अधिकारी लैजानुपर्ने कानुनी व्यवस्था छ । 

आरोहण गर्न नयाँ बाटो 

सगरमाथा आरोहणका लागि यो वर्ष नयाँ बाटो सञ्चालमा ल्याइएको छ । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार पहिलो आधार शिविर नजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्रयोग भएको रुट नजिकै भएर नयाँ बाटो प्रयोगमा ल्याइएको हो । उहाँले भन्नुभयो, “यस पटक विगतका वर्षहरूमा प्रयोग भएको रुटमा हिउँ अस्थिर देखिएकाले पुरानो रुट नजिकै भएर दोस्रो शिविरसम्मको बाटो तयार पारिएको छ ।” सन् २०१३ देखि सन् २०१४ सम्म प्रयोग भएको बाटोमा हिउँको अवस्था अस्थिर देखिएकाले नयाँ बाटो निर्माण गरिएको उहाँले बताउनुभयो । 

आरोहीलाई विद्युतीय चिप्स

यस पटकको आरोहण कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान सुरु गरिएको छ । विभागका निर्देशक गुरुङका अनुसार सगरमाथा आरोहण गर्न जाने आरोही समस्यामा पर्दा आपत्कालीन उद्धार र खोजी कार्यमा सहयोग पुर्याउन आरोहीले लगाउने विशेष पोसाक (ज्याकेट)मा विद्युतीय चिप्स जडान कार्य सुरु गरिएको हो । उहाँले भन्नुभयो, “आरोही दुर्घटनामा पर्ने, हराउने, लेक लागेर बिरामी हुने जस्ता समस्यालाई दृष्टिगत गर्दै यस पटक सबै आरोहीको पोसाकमा चिप्स जडान गरिने छ । यसले हराएका आरोहीको ठेगानालगायतका अवस्था पत्ता लगाउन सहयोग पुग्ने छ ।”

मानव जीवनको रक्षाका लागि उपयोगी मानिएको विद्युतीय चिप्स वाहक आरोही हिमपहिरोमा पुरिएको अवस्थामा पनि डिटेक्टरको मद्दतले उद्धार तथा खोजी कार्यमा सहयोग पुग्ने उहाँले बताउनुभयो । विश्वका अन्य मुलुकमा पनि यस्ता अभ्यास प्रयोगमा रहेको बताउँदै उहाँले चिप्स जडानले आरोही र आरोहण क्षेत्रलाई सुरक्षित बनाउने जानकारी दिनुभयो । एजेन्सीले प्रदान गरेको चिप्स आरोहीले प्रयोग गरे नगरेकाबारे सगरमाथा आधार शिविरमा एसपिसिसीले निगरानी राख्ने छ । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा परीक्षण गरी गुणस्तरयुक्त यस्ता चिप्सको मूल्य १५ देखि २० अमेरिकी डलर पर्ने र त्यसको लागत आरोहणमा संलग्न एजेन्सीले बेहोर्ने छ ।

मलमूत्र छाड्न नपाइने

यो वर्षदेखि सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्ने आरोहीले आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा र ल्होत्से आरोहणबाट आरोहीले आफ्नो दिशा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय जारी गरेको छ । सगरमाथालाई स्वच्छ र सफा राख्न यस्तो नियम लागु गरिएको हो । सगरमाथाको माथिल्लो क्षेत्रमा मानव मलमूत्र, डोरी, टिन, अक्सिजनका खाली सिलिन्डिर, क्यानलगायतका फोहोर रहेकाले त्यसको सरसफाइ र सर्वोच्च शिखरलाई दुर्गन्धित हुनबाट रोक्न यस्तो नियम लागु गरिएको हो । 

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाका अनुसार साउथ कोल क्षेत्रमा खासै हिउँ नभएकाले आरोहीले खुला रूपमा मलमूत्र विसर्जन गर्दै आएका छन् । आरोहीलाई आधार शिविरमा दिसा विसर्जनका लागि एउटा विशेष प्रकारको झोला दिने र फर्कने बेला उक्त झोला फिर्ता ल्याउनुपर्ने छ । एउटा झोला पाँच किलो तौल बोक्ने क्षमताको हुने र आरोहीले माथिल्लो क्षेत्रमा बिताउने समयका आधारमा वितरण गरिने ती झोलामा हुने रसायन र धुलोले दिसालाई ठोस बनाई गन्धरहित बनाउने उहाँले बताउनुभयो ।

साढे सात हजारले टेके चुचुरो

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२३’ का अनुसार नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार ६२६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सगरमाथाको आरोहण गर्नेमा ५१९ जना महिला रहेका छन् । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाएकी थिइन् । पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उहाँले विसं. २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । तर उहाँ जीवितै फर्किन भने सक्नुभएन । हालसम्म सगरमाथा आरोहणका क्रममा तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको आरोहण गर्नुअघि सन् १९२२ मा सात जना शेर्पाले आरोहणकै क्रममा ज्यान गुमाएका थिए । त्यसलाई नै पर्वतारोहणको इतिहासमा सगरमाथा आरोहणको व्रmममा मृत्यु भएको पहिलो घटनाको रूपमा हेर्ने गरिएको छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार दुई हजार ३२१ जनाले सगरमाथाको चुचुरो टेकेका छन् । जस अनुसार सन् २०१८ मा ५६०, सन् २०१९ मा ६४४, सन् २०२१ मा ४५९ र सन् २०२२ मा ६५८ जनाले चुचुरो टेकेका हुन् । सन् २०२० मा कोभिडका कारण सगरमाथामा कुनै मानव पाइला पुगेनन् ।

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।