• ११ कात्तिक २०८२, मङ्गलबार

बाह्र ठेकेदार कम्पनीलाई स्पष्टीकरण

blog

केचना–कञ्चनजङ्घा सडक अन्तर्गत माईखोलामा रहेको बेलासे पुल । असोज १८ को बाढीले यो पुलको बिच भाग धसिएपछि यहाँ सवारी चलाउन निषेध गरिएको छ । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, कात्तिक ११ गते । यतिबेला मेची कोरिडोरका इलाम, पाँचथर र ताप्लेजुङ भरपर्दो सडक सञ्जाल नभएर समस्यामा छन् । गत असोज १८ गते रातिको वर्षासँगै आएको बाढी र पहिरोले मेची राजमार्ग अवरुद्ध हुँदा यी तीन जिल्लाले ११ दिनसम्म सडक सञ्जालबाट वञ्चित हुनु परेको थियो ।

वर्षौंदेखि जमिन धसिने र बग्ने समस्या हुँदै आएको मेची राजमार्गको राजदुवाली माईखोलामाथिको सडकमा गएको पहिरोले पूर्वी पहाडले समस्या खेप्नु प¥यो । यो खण्डको विकल्पका रूपमा निर्माण गर्न थालिएको केचना–कञ्चनजङ्घा सडकको पनि समयमा काम नहुँदा पूर्वी पहाडको आशा र अपेक्षा हराएको छ । 

अन्ततः मेची कोरिडोरमा ठेक्का लागेका र वर्षौंसम्म पूरा काम हुन नसकेका योजनाका ठेकेदारलाई सडक डिभिजन कार्यालय इलामले स्पष्टीकरण नै सोधेको छ । अहिले इलाम–झापा जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्घा सडक अन्तर्गत बेलासे–राकसे–भन्ज्याङ सडकखण्ड निर्माणको जिम्मा लिएको खड्का कृष्ण सक्षम जेभी काठमाडौँ २०६८/६९ मा ठेक्का लागेको माई नगरपालिकामा पर्ने सुखानी खोलाको पक्की पुलको ठेकेदार स्काई अजम्बर शिवराम जेभी काठमाडौँ, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबिच माईखोलामा रहेको दुधाङ पक्की पुलको जिम्मा पाएको नेसनल नीलगिरि जेभी, इलाम–माईपोखरी–सन्दकपुर सडकमा पर्ने रातेखोलाको पक्की पुलको जिम्मा लिएको सिवाको–बस्नेत जेभी काठमाडौँ, मेचीराजमार्ग अन्तर्गत चिहानडाँडा–फिक्कलबिचको सडक स्तरोन्नतिको काम थालेको एभ्रिथङ सोलुसन कन्स्ट्रक्सन प्रालि झापा, पाँचथरको फेमेखोला पुल–प्राङबुङ–फालोट सडकको जिम्मा लिएको थो थो केरेक पेगिरो निर्माण सेवा पाँचथर, इलामको भालुखोप–लक्ष्मीपुर–थाक्ले–खुदुनाबारी सडकको स्तरोन्नतिको काम थालेको एपेक्स कन्स्ट्रक्सन कम्पनी काठामाडौँ, केचना–कञ्चनजङ्घा सडकको धुलिखेल–आले जेभी पाँचथर, नेपालटा–मङ्गलबारे सडकको के एक कन्स्ट्रक्सन धनुषा, मेची राजमार्ग अन्तर्गत फिदिम–गोपेटार सडकखण्डको मर्मत तथा स्तरोन्नतिको काम थालेको टेक एन्ड सपना कन्स्ट्रक्सन प्रालि पाँचथर, राँके–फिदिम सडकखण्डको मर्मतको जिम्मा लिएको गायत्री माँ कन्स्ट्रक्सन एन्ड समरित कन्स्ट्रक्सन जेभी धनुषा, फिक्कल–पशुपतिनगर मर्मतको जिम्मा लिएको एबिसी निर्माण सेवा इलामलाई डिभिजन कार्यालयले स्पष्टीकरण सोधेको हो ।   

त्यसो त इलाममा अहिले सबैभन्दा बढी केचना–कञ्चनजङ्घा (फास्ट ट्र्याक) को चर्चा र आवश्यकता रहेको पाइन्छ । मेची राजमार्गको राजदुवालीखण्डको सडक अस्थायी रूपमा सञ्चालनमा आए पनि यसको दीर्घकालिन समाधान भने केचना–कञ्चनजङ्घा सडक नै रहेको सडक डिभिजन प्रमुख पवन भट्टराई बताउनुहुन्छ । गत आर्थिक वर्षमा यो सडकका लागि आएको पाँच करोड रुपियाँ रकम काम हुनै नसकेर फिर्ता गएको थियो । 

२०७८ असार २९ मा बेलासे–राकसे–भन्ज्याङ सडकको काम दुई वर्षमा सक्ने गरी ठेक्का लिएको खड्का–कृष्ण–सक्षम जेभीले चार वर्ष बित्दा पनि आधा काम गर्न सकेको छैन । कालोपत्रेसमेत सक्ने गरी लिएको ठेक्काको काम यतिका समय बित्दा आएको रकम पनि गुमाउनु परेको छ । ठेकेदारको लापरबाहीकै कारण आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड रुपियाँ फ्रिजसमेत भएको छ । अघिल्लो वर्ष पनि निर्माणमा ढिलासुस्तीकै कारण यो सडकको १४ करोड रुपियाँ बजेट फ्रिज भएको थियो । 

साढे नौ किलोमिटरको यो खण्डको २०७८ असार २९ मा लागेको ठेक्काको म्याद २०८० पुस २९ सम्म थियो तर काम नसकिएपछि २०८२ असार १८ मा सक्ने गरी म्याद थपिएको थियो । थपिएको समयभित्र पनि ४५ प्रतिशत मात्रै काम सकिएको छ । डिभिजनका इन्जिनियर अर्जुन घिमिरेले भन्नुभयो, “निर्माण व्यवसायीले गरेको काम सन्तोषजनक छैन । ज्यादै सुस्त गतिमा काम हुन्छ । काम छाडेको वा नगरेको भए ठेक्का तोड्ने प्रक्रिया हुन्थ्यो होला, काम पनि गर्ने तर एक/दुई जना कामदार मात्र लगाउने गरिएकाले काम ज्यादै सुस्त भएको देखिन्छ ।” 

अहिले राजदुवालीको सडक बन्द गरेर त्यहाँ गरिने खर्चबाट वैकल्पिक सडक निर्माणमा जोड दिनुपर्ने जिल्लावासीको धारणा रहेको छ । दुई महिनाअघि मात्र यही सडक अन्तर्गत पर्ने पुवाखोलामा निर्माण गरिएको बेलिब्रिज असोज १८ गते राति आएको बाढीले बगाएको थियो । असोज १८ को विपत्पछि सरकारले इलामलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त जिल्ला घोषणासमेत गरेको छ ।