• ११ कात्तिक २०८२, मङ्गलबार

तातोपानी कुण्डमा पर्यटक भरिभराउ

blog

कुण्डमा स्नान गर्ने पर्यटकको भिड । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), कात्तिक ११ गते । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक छेउमा रहेको भुरुङ तातोपानी कुण्डमा स्नान गर्ने पर्यटकको भिड लागेको छ । बेनी हुँदै अन्नपूर्ण आधार शिविर, घोडेपानी र मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको भिड लागेको हो । पर्यटकका कारण तातोपानी कुण्ड आजकल दिनभर जसो भिडभाड हुने गरेको छ ।   

मुस्ताङका साथै उच्च हिमाली भेगमा रहेका म्याग्दीका पर्यटकीय स्थलको भ्रमण गरेर फर्किएका पर्यटक तातोपानी कुण्डमा डुबेर स्नान गर्ने गरेको कुण्डका सञ्चालक जितेन्द्र चोचाङीले बताउनुभयो । उहाँका अनुसार दैनिक रूपमा एक हजार दुईदेखि एक हजार पाँच सयसम्मले कुण्डमा स्नान गर्ने गरेका छन् । 

तातोपानी कुण्ड पछिल्ला केही वर्षयता हिमाली क्षेत्रको यात्रापछि चिसो फाल्ने र थकान मेटाउने स्थलका रूपमा विकास हुन थालेको छ । दसैँतिहार र छठपर्व बिदाको अवसर पारेर म्याग्दी र मुस्ताङ भ्रमणका लागि आएका पर्यटक तातोपानी कुण्डमा रमाइलो मानेर स्नान गर्ने गरेका छन् । प्राकृतिक रूपमा नै यहाँ मूलबाट तातोपानी आउँछ । 

दसैँपछिको समयमा मुस्ताङ भ्रमण जाने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएकाले तातोपानीमा पर्यटकको चाप बढेको तातोपानीका चोचाङीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो पटक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र माथिल्लो मुस्ताङसम्म पुगेर फर्किएका पर्यटक चिसो फाल्न र यात्राको थकान मेटाउन तातोपानी कुण्डमा स्नान गर्न आउने गरेका छन् ।” 

कुण्डमा स्नान गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै तातोपानी बजारमा रहेका होटेलसमेत भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । 

तातोपानीको कुण्डनजिकै कपडा फेर्ने ठाउँ, धारा, सार्वजनिक शौचालयलाई व्यवस्थित बनाइएको छ । तातोपानीमा स्नान गर्न आएका पर्यटकको सुविधाका लागि कुण्डपरिसरमा चमेनागृहसमेत सञ्चालन गरिएको छ । 

कालीगण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ४५ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गर्ने व्यवस्था मिलाइएको कुण्ड सञ्चालक चोचाङीले बताउनुभयो । कुण्डमा स्नानका लागि स्वदेशीलाई ५० रुपियाँ र विदेशीलाई  १५० रुपियाँ शुल्क तोकिएको छ । पर्यटकको सुविधाका लागि तातोपानी बजारमा करिब २० वटा सुविधासम्पन्न होटेल सञ्चालनमा छन् । एक दिनमा पाँच सयभन्दा बढी बास बस्न सक्ने क्षमता छ । तिहारपछि पर्यटकको आगमन बढेपछि सबै होटेल भरिभराउ भएको स्थानीय होटेल व्यवसायी राजु हमालले जानकारी दिनुभयो ।

भुरुङ तातोपानीमा बास बस्ने आधाभन्दा बढी पर्यटक अन्नपूर्ण आधार शिविर जाने र मुस्ताङबाट फर्किएका रहेको उहाँले बताउनुभयो । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पर्यटक भुरुङ तातोपानीबाट जिप चढेर नारच्याङको हुमखोलासम्म पुग्ने र त्यहाँबाट पदयात्रा सुरु गर्ने उहाँले बताउनुभयो ।