दाङ/नेपालगन्ज समाचारदाता
दाङ, कात्तिक ११ गते । जेनजी आन्दोलनका क्रममा देशभरका कारागार र बाल सुधारगृहबाट कैदीबन्दी फरार हुने घटनाले व्यापक असर पारेको छ । विशेष गरी तुलसीपुर कारागार र बाँकेको नौबस्ता बाल सुधारगृहबाट ठुलो सङ्ख्यामा कैदीबन्दी अझै फरार छन् । तुलसीपुर समाचारदाता सन्तोष दहितका अनुसार जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका २५३ मध्ये अहिलेसम्म १५७ जना कारागारमा फिर्ता आएका छन् भने २० जना जिल्लाबाहिरका अन्य कारागारमा स्थानान्तरण भएका छन् । यद्यपि हालसम्म पनि ७६ जना कैदीबन्दी अझै फरार छन् ।
कारागार प्रशासनले फरार रहेका कैदीबन्दीविरुद्ध खोजी तीव्र बनाइएको जनाएको छ । तुलसीपुर कारागारका जेलर गीरबहादुर सिजवालका अनुसार यो अवधिमा १७७ फरारमध्ये ८६ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो भने ९१ जनाले आफैँ कारागारमा फर्केका थिए ।
४४ जना अझै फरार
नेपालगन्ज समाचारदाता सिराज खानका अनुसार जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति ७८ जना बालबन्दी प्रहरीसँगको भिडन्तपछि फरार भएका थिए । भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
अहिलेसम्म ३४ जना बालबन्दी पक्राउ परेका छन् भने ४४ जना अझै फरार छन् । बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले फरार ४४ बालबन्दीलाई फिर्ता ल्याउन नेपाल–भारत नाकाहरू, पहाडी जिल्ला र स्थानीय क्षेत्रमा निगरानी बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार फरार बालबन्दी फिर्ता ल्याउन असोज २० सम्म समयसीमा दिइएको थियो तर तीन साता बित्दा पनि ४४ जना बालबन्दी फिर्ता आएका छैनन् । प्रमुख रानाका अनुसार फिर्ता नभएमा फरार बालबन्दीलाई कारागार ऐन अनुसार कारबाही गरिने छ ।