• १० मंसिर २०८१, सोमबार

गन्तव्य दोलखा

blog

गौरीशङ्कर हिमालको काखमा अवस्थित दोलखा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ भन्दा अत्युक्ति नहोला । जताततै डाँडाहरूमा वर्षापछि उम्रेका विभिन्न प्रजातिका वनस्पति तथा रुखबिरुवाहरू, पाखाभरि लहलहाउँदो कोदाका बालाहरू, तल बेँसीमा पहेँलपुर भएको धानका बालाहरू अनि अविरल तामाकोशीमा बगिरहेको कञ्चन निलो पानी र त्यसमाथि विभिन्न चराचुरुङ्गीको चिरबिर आवाजहरूले चित्त प्रसन्न हुन्छ ।

नेपालका पर्यटकीय गन्तव्यहरू काठमाडौँ उपत्यका, पोखरा र चितवनको स्वदेशी तथा विदेशी पर्यटकमाझ धेरै नै प्रचारप्रसार भइसकेको छ तर दोलखा जिल्लाले पर्यटकलाई लोभ्याउने सामर्थ्य हुँदाहुँदै पनि ओझेलमा परे झैँ छ । पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक सौन्दर्यता, मौलिक जीवन्त संस्कृति र एड्भेन्चर (साहस) तीन वटै कुराले ओतप्रोत छ । लुक्ला (सोलुखुम्बु) को काठमाडौँसित सोझो हवाई सम्पर्क हुनुअगावै जिरीबाट नै पर्वतारोहीको यात्रा प्रारम्भ हुन्थ्यो । 

सगरमाथा आरोहण गर्ने पर्वतारोही जिरीबाट नै कैयौँ दिनको ट्रेकिङ (पदयात्रा) गर्दै नाम्चेबजार पुग्थे, अरू कुनै विकल्प थिएन । पर्वतारोहीलाई आवश्यक वस्तुको आपूर्तिका लागि जिरीबाट पिठ्युँमा भारी बोकी हिँड्ने भरियाको लर्को लाग्ने गथ्र्याे । पछि एड्मन्ड हिलारीको अग्रसरतामा लुक्लामा एयरपोर्ट बनेपछि बल्ल भरियाबाट सामान ढुवानीको प्रचलन हट्यो । सन् १९९० को दशकमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले रसियन हेलिकोप्टर सेवा जिरीबाट सुरु गरेपछि जस्तापातादेखि सिमेन्टसम्म सोलुखुम्बुमा आपूर्ति हुन थालेपछि त्यहाँ विकासको नयाँ लहरले धपक्कै छोप्यो ।

दोलखाबाट सगरमाथा क्षेत्रमा जाने विदेशी पर्यटकको आवागमनमा कमी आए पनि कालिञ्चोक तथा भीमेश्वर मन्दिरको दर्शन गर्न स्वदेशी पर्यटकले गर्दा स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्‍याएको छ । विगतमा दोलखा जानु भनेको भीमेश्वर मन्दिरको दर्शन गर्नुमा सीमित थियो । कालिञ्चोकको दर्शन गर्न चार/पाँच घण्टा हिँड्नुपर्ने बाध्यता थियो, चरिकोट (दोलखा) बाट केबुलकार सञ्चालन आउनुभन्दा अघिसम्म । 

हाल कुरीबाट ७ मिनेटमा केबुलकारमा चढेर कालिञ्चोक मन्दिरको दर्शन तीर्थयात्रीलाई सहज भएको छ । कालिञ्चोक मन्दिरबाट लाङटाङ, गौरीशङ्कर र सगरमाथा क्षेत्रको मनमोहक दृश्यहरू हेर्न सकिन्छ । कालिञ्चोक पुग्नुअगावै कुरीमा एकरात विश्राम गरेर बिहान मन्दिरको दर्शन गरेर आरामले दोलखा फर्केर त्यसै दिन भीमेश्वर मन्दिरमा हुने आरतीमा सम्मिलित हुनु राम्रो हुन्छ । दोलखा बजारनजिक रहेको मञ्जुश्री पार्क तथा त्रिुपरासुन्दरी मन्दिर पनि दर्शनीय छन् । 

सम्पूर्ण दोलखा जिल्लाको भूबनोट साह्रै आकर्षक छ । र, स्विसहरूले त यस ठाउँलाई आफ्नै मुलुकको भूबनोट झैँ लागेर यहाँको सम्पूर्ण विकासमा अर्बौँ रुपियाँ खर्च गर्‍यो । अरनिको राजमार्गको खाडीचौरबाट चरिकोट हुँदै जिरीसम्म कालोपत्रे बाटो निर्माण गरिदियो । त्यति मात्र होइन, स्विस सरकारको सहयोगमा जिरीमा चिज कारखाना, व्यावसायिक बहुउद्देश्यीय स्कुल र आधुनिक गाईफार्म पनि हेर्नलायक छ । स्विस भूगर्भविद् (१४ हजार वर्ग किमी पैदल नेपाल भ्रमण) को नाममा जिरी बजारबाट थोरै माथि टेनिहागन इकोलोजिकल पार्कबाट यस सुन्दर नगरको नयनाभिराम दृश्य देख्न सकिन्छ ।

जिरी एउटा यस्तो सुन्दर सहर हो; जुन बिल्कुलै प्रदूषणमुक्त छ र फराकिला सडक पेटीले गर्दा हिँडडुल गर्न साह्रै मज्जा लाग्छ । र, यस सहरको अर्को विशेषता ठाउँ ठाउँमा पेटीमा डस्टबिनहरू राखिएको छ, कतै सडक पेटीमा चुरोटका ठुटा, चकलेट, चाउचाउ, बिस्कुटका खोलहरू यत्रतत्र मिल्काइएको देखिँदैन । 

तराईमा मात्र होइन, हाल यो वैशाख महिनामा तापक्रम बढ्नाले धेरै गर्मीको महसुस हुन्छ, काठमाडौँ उपत्यकामा पनि । यो मौसममा दोलखा जिल्लाको मुडे र जिरी जस्ता शीतल हावापानी भएको प्रदूषणमुक्त सहरमा आधुनिक सुविधायुक्त आरामदायी होटल/रिपोर्ट सञ्चालनमा ल्याउन सकिए यस क्षेत्रमा पर्यटन विकासको अनन्त सम्भावना छ । स्विट्जरल्यान्ड पनि नेपालमै छ, दक्षिणा अफ्रिका पनि नेपालमै छ, मात्र छ त पहलकदमीको आवश्यकता ।

यो ग्रीष्म मौसममा आँखाले नभ्याउने गरी विभिन्न रङका गुराँसले डाँडापाखा ढकमक्क फुलेको मनमोहक दृश्यले को मात्र लोभिँदैन होला ? सहरको कोलाहल, धुलो, धुवाँ र प्रदूषणबाट मुक्त भई सहरको व्यस्त जीवनशैली र तनावबाट मुक्त भई तरोताजा हुन यो उपयुक्त ठाउँ हो । दसैँतिहारको लामो बिदामा नेपाली विदेश भ्रमणमा जाने क्रम बढ्दो छ । त्यस्ता भ्रमणमा जानुको साटो त्योभन्दा निकै थोरै खर्चमा अरनिको राजमार्गको सुनकोशी नदी छेउमा बसेर  र्‍याफ्टिङ र क्याकेइङको मज्जा लिन सकिन्छ । सुकुटेबिचमा रहेको रिपोर्टहरूमा थाइल्यान्डको पटाया अथवा फुकेटभन्दा कम खर्चमा भरपुर मज्जा लिन सकिन्छ ।

खाडीचौरबाट दोलखा जाने क्रममा मुडेमा बास बसेर ‘सफ्ट एड्भेन्चर’ गर्ने सोख छ भने सैलुङ डाँडाको शान्त वातावरणमा आफ्ना फुर्सतका क्षणहरूलाई स्मरणीय बनाउन सकिन्छ । नेपालमा अल्पसङ्ख्यक जातिमा रहेका जिरेल तथा थामीहरूको संस्कृति जान्ने बुझ्ने अभिरुचि छ भने दोलखा उपयुक्त थलो हो । यस पङ्क्तिकारका मित्र जनार्दन सुवेदीले वर्षौँ दोलखा जिल्लामा अमेरिकाबाट विद्यार्थीलाई अध्ययन भ्रमण गराएको स्मरण हुन्छ । पहिले देश दर्शन गरौँ अनि पछि विदेश भ्रमण गरौँ । 

नेपालका ‘वाकिङइन्साइक्लोपिडिया’ डा. हर्क गुरुङले रूपरेखा साहित्यिक पत्रिकालाई विसं २०२१ (तदनुसार सन् १९६५) साल लन्डनबाट प्रेषित पाँच पेजको पर्वतारोहणसम्बन्धी लेख आज पनि उत्तिकै सान्दर्भिक छन् । उहाँ उक्त लेखमा पर्वतारोहणबारे यस्तो उद्गार व्यक्त गर्नुहुन्छ, “हाम्रो साधारण दृष्टिकोणमा कठ्याङ्ग्रिने हिमाल चढेर जिउ जोखिममा हाल्नु मूर्खता हो ।”  तर समृद्धिशाली समाजको दाँजोमा यो हाम्रो परिभाषा सीमित सिद्ध हुन जान्छ । हामी बाँच्ने बेसाहाको घेराभित्र पिल्सिएका छौँ तर विकसित देशका मानिस आर्थिक सम्पन्नता नाघेर मनोरञ्जन खोज्दछन् । भौतिक साधनहरूले जति परिपूर्ति भए पनि उनीहरू असन्तुष्ट रहन्छन् । आफैँले रचेको आधुनिकताको साङ्लोबाट उम्कन उनीहरू पर्यटक भई विश्व चहार्छन्, अगुवा भई बिराना ठाउँ पुग्छन् अनि पर्वतारोही भई मेसिनले फट्टिएको शरीरलाई प्रकृतिसित दाँज्न खोज्छन् ।  बेलायतको ख्यातिप्राप्त ‘लन्डन स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन’ विश्वविद्यालयबाट भूगोलमा विद्यावारिधि गर्नुभएका डा. गुरुङ हाम्रा हिन्दु धर्ममा आधारित मिथकीय प्रसङ्ग उल्लेख गर्दै भन्नुहुन्छ, “युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको” महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमाल हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा सजीव पाउँछ र सृष्टिकर्ताको महानतामा विश्वास गर्न मानिस बाध्य हुन्छ । 

उहिलेका ऋषिले हिमालमा ज्ञान पाए झैँ रुसो, रस्किन, गोथे, निन्से, वर्डस्वर्थ, किटस आदिले पर्वतको शान्तिमा प्रेरणा पाए । दार्शनिकताको स्रोतका साथै पर्वत सुन्दरको महानता हो । गुराँसे वन, बुगनी लेक र हिमशिलाले सिँगारिएको पर्वतको दुनियाँ चहार्नु एउटा स्वच्छ वातावरणको भोग गर्नु हो । अझ हिमालमाथिको सिन्दुरे बिहान, चहकिलो दिउँसो, सुनौलो साँझको रङ फेराइभन्दा मोहनी लाउने दृश्य अरू के हुन सक्छ र ? (विषय विविध डा. हर्क गुरुङ)

विज्ञ पाठकलाई डा. हर्क गुरुङका माथिका गहकिला विचारबाट प्रभावित भई हालका नयाँ पुस्ताले प्रेरणा लिँदै यति सुन्दर मुलुक नेपालका हिमाल, पहाड, भित्री मधेश र तराईका हरिया फाँटको भ्रमण गरेर स्वदेश चिन्ने आशा र फुर्सतका क्षणहरूलाई अविस्मरणीय बनाउने सार्थक प्रयासका लागि यो पङ्क्तिकारको अनुरोध मात्र हो । आगे हजुरहरूको मर्जी । 

वैशाख, जेठको गर्मी मौसममा भारतीय सिमाना जोडिएको नेपालका सहरहरूमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेर लु (तातो हावा) ले दिउँसो घरबाहिर निस्कन ज्यादै कष्टप्रद हुन्छ । भारतमा त यो याममा ४५/४६ डिग्री तापक्रम पुग्न सामान्य झैँ हुन्छ । हाम्रो छिमेकको भारतको बिहार प्रदेशको पटना, दरभङ्गा, मुज्जफरपुर, भागलपुर, मोतीहारी, चम्पारण, सहरसा, सुपौल र पूर्णिया जस्ता बाक्लो जनसङ्ख्या भएका सहरहरूमा दोलखाको मुडे, जिरी, चरिकोट र कुरीको शीतल स्निग्ध हावाको रसास्वादन गर्न पाए कति रमाउँथे होला ?  पोखरेली पर्यटन व्यवसायीहरू नेपालका मुख्य सहरका साथै उत्तर प्रदेश (भारत) का बनारस, लखनउ आदि सहरमा पुगेर पर्यटन प्रवर्धन गरे झैँ दोलखाली पर्यटन व्यवसायीहरू पनि जनकपुर, राजविराज, विराटनगर, वीरगन्ज, हेटौँडा, बुटवल, भैरहवा, धनगढी, नेपालगन्ज र महेन्द्रनगर (कञ्चनपुर) का साथै माथि उल्लिखित बिहारका सहरमा पर्यटन प्रवर्धन गरेर स्वदेशी तथा भारतीय पर्यटकलाई आकर्षित गर्नुपर्ने आवश्यकता छ । चैतको २९ गतेदेखि स्थानीय उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिरी महोत्सव गर्नु सराहनीय कार्य हो । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकलाई लक्षित गर्दै ‘गर्मी से बेहाल चलो नेपाल’ भन्ने नारा घन्काएर त्यहाँका पर्यटकलाई आकर्षित गर्ने जुक्ति निकालेको थियो । 

हालसम्म दोलखामा स्वदेशी धार्मिक पर्यटकले थेगेको छ । विदेशी पर्यटक यस क्षेत्रमा सीमित सङ्ख्यामा आउँछन् । जिरीलाई कैयौँले स्विट्जरल्यान्डको जुरिख सहरसँग तुलना पनि गर्छन् तर जिरी चरिकोट सातदोबाटोबाट मात्र ५५ किमी टाढा भए तापनि धेरै नेपाली पर्यटक भीमेश्वर मन्दिर र कालिञ्चोकको दर्शन गरेर फर्किन्छन् । जापान (टोकियो) मा २७ वर्षदेखि बहुमूल्य धातु, पत्थर (प्रिसियस स्टोन) को व्यापार गर्दै आएका चन्द्र श्रेष्ठ तीन/चार वर्षदेखि दोलखा बजारमा दरबार होटल सञ्चालनमा ल्याएर गुणस्तरीय सेवा दिने प्रयत्नमा तल्लीन हुनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “आफ्नो व्यवसाय जापानमा भए तापनि मन चाहिँ जहिले पनि दोलखामा गुणस्तरीय पर्यटनको विकास कसरी गर्ने भन्ने ध्यान हुन्छ ।” तर स्थानीय स्तरबाट अपेक्षित सहयोग नपाउँदा उहाँ खिन्न हुनुहुन्छ । चैतदेखि जेठको गर्मी मौसममा ढकमक्क डाँडा, पाखामा विभिन्न रङका गुराँसले मात्र पर्यटकलाई प्रफुल्ल पार्दैन । पुस–माघको ठिहिराउँदो चिसोमा मुडे, खरीढुङ्गा, कालिञ्चोक र कुरी आदि क्षेत्रमा मज्जाले हिउँ पर्ने हुनाले स्किइङको मज्जा लिन सकिन्छ तर त्यस क्षेत्रमा हिउँ पर्दा काठमाडौँबाट विशेष गरी युवायुवती पुगेर एकअर्कालाई हिउँका डल्लाहरू फालेर रमाइलो गर्दछन् । 

दोलखामा पर्यटनका अन्य गतिविधि जस्तै रकक्लाइविङ्ग, प्याराग्लाइडिङ, स्काइडाइभ र ट्रेकिङ कार्यक्रम सञ्चालन गर्न सकिन्छ । हालका सुसूचित आधुनिक पर्यटक निकै संवेदनशील हुन्छन् र आफू बस्ने रिपोर्ट÷होटल भवन ग्रिन कोडको पालना गरी बनाइएको छ कि छैन, रिन्युवल इनर्जी (पुनः प्रयोग हुने इन्धन) र फोहोरको दिगो व्यवस्थापन कसरी गरिएको छ भन्ने कुराको विचार गर्दछन् । 

त्यति मात्र होइन, पाहुनाहरू आफूलाई ब्रेकफास्ट, लन्च तथा डिनरमा उपलब्ध गराउने खाद्यान्न, तरकारी र फलफूलहरू अर्गानिक छ कि छैन भन्ने कुरामा त्यति नै सचेत हुन्छन् । त्यसैले हाइइन्ड (खर्चिलो गुणस्तरीय) पर्यटकबाट लाभ लिने हो, त्यसै स्तरको उत्कृष्ट सेवा प्रदान गर्न दोलखाली पर्यटन व्यवसायीहरू गम्भीर हुनु पर्छ ।

Author

पूर्णहरि अमात्य