• ७ जेठ २०८१, सोमबार

अजातशत्रु केशव उपाध्याय

blog

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर

फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र !

कविशिरोमणि लेखनाथ पौड्यालले नैतिक दृष्टान्तमा उल्लेख गर्नुभएको उपर्युक्त श्लोक जोकोहीका लागि लागु हुन्छ भन्ने सर्वमान्य उक्ति मानिँदै आएको छ । यद्यपि एकाध विद्वान् भने मेरो जोडा अर्को कोही छैन भन्ने घमण्डले फुलेल भइरहेका पनि हुन्छन् । त्यो उसको नितान्त वैयक्तिक स्वाभाव हो र त्यसले ऊ स्वयंलाई घाटा पु-याइरहेको हुन्छ । हाम्रै वरिपरि पनि यस्ता विद्वान् महोदय नभएका होइनन् तर ‘नजाने गाउँको बाटै नसोध्नु’ भन्छन् । यहाँ एक जना उक्तिसार्थक विद्वान्का बारेमा थोरै विवेचनाका शब्दले श्रद्धासुमन अपर्ण गर्न लागिएको मात्र हो । उहाँ हुनुहुन्छ, अजातसत्रु प्राडा केशवप्रसाद उपाध्याय । 

उहाँलाई अग्रज, समवयी र कान्छो पुस्ताले पनि ‘आँखामा हाल्दा पनि नबिझाउने’ भनेर प्रशंसा गरेका उहाँ संलग्न कार्यक्षेत्रका अथवा सङ्गतियाहरूले भनेको सुनिँदै आएको हो । उहाँको भौतिक अवसानपछि पनि प्रसङ्ग चल्नासाथै ‘ओहो, उहाँ जस्तो मान्छे त त्रिवि सेवामा होस् कि नेपाली साहित्यमा, अर्को कोही जन्मिएकै छैन’, भन्नेहरू छँदै छन् । 

केशव उपाध्याय सर मधुपर्कमा फाट्टफुट्ट आउनुहुन्थ्यो । उहाँको स्वास्थ्यमा अलिक समस्या थियो । मधुमेह र उच्च रक्तचाप शरीरमा निकै समयदेखि प्रवेश गरेका कारण शरीर चङ्गा देखिँदैनथ्यो र पनि साहित्यिक गतिविधिमा भने प्रायः पुग्नुहुन्थ्यो । म मधुपर्कमा लामो समयसम्म संलग्न रहँदाको अवस्थामा ‘विचारमञ्च’ र ‘उहाँ’ स्तम्भमा केशव सरलाई पनि छुटाएको थिइनँ । यस अर्थमा पनि उहाँसँग नजिक नै थिएँ । ‘मधुपर्क सम्मान’ को प्रारम्भ भएपछिका केही वर्षदेखि नै गद्यतर्फको मधुपर्क सम्मानका लागि उहाँको नाम छलफलमा आउने गरेको थियो । यद्यपि अनेक कारणले अर्को वर्ष, अर्को वर्ष भन्दै पन्छाउने गरिएथ्यो । पछि विसं २०७३ सालमा आएर उहाँको नाम सर्वसम्मत भएथ्यो ।

सम्मान समारोह (जेठ ३० गते) सकिएको महिना दिनपछि जस्तो उहाँ मधुपर्कको कार्यालयमा आउनुभयो । प्रतिकूल स्वास्थ्यका कारण एक जना साथी नलिई हिँड्न छोड्नुभएको थियो । साथमा कहिले निर्मोही व्यास हुनुहुन्थ्यो, कहिले रमेश गोर्खाली त कहिले छोरी–बुहारी । त्यस दिन साथमा बुहारी हुनुहुन्थ्यो । त्यो बेला मधुपर्कको सम्पादनमा म एक्लै थिएँ । उहाँले ढोकाबाट छिर्नासाथै ‘कोइरालाजी’ भन्नुभयो ! नमस्कार आदान–प्रदान हुँदा देखेँ– उहाँको श्वास निकै नै बढेको थियो । अनुहार रातो देखिएथ्यो । बोल्न पनि सकस परिरहेको जस्तो देखिएथ्यो । मैले तत्काल भनेथेँ– “ओहो, हजुरलाई यस्तो गाह्रो हुने रहेछ, किन कष्ट गर्नुभएको ? फोन गर्नुभएको भए त भेट्न म घरमै आइहाल्थेँ नि ।”

उहाँले छोटोमा जवाफ दिनुभएथ्यो– ‘तपाईंलाई दुःख दिन मनले मानेन । कार्यालयमै आएर भेटौँ लाग्यो र बुहारीलाई साथमा लिएर आएको” भनिनसक्दै नजिकैको कुर्सीमा बस्नुभएको केशव सर एकाएक लल्याकलुलुक भएर घोप्टिन लाग्नुभयो । उहाँतर्फ नै फर्किएर बोलिरहेकाले तत्क्षण अँगालोमा लिन सम्भव भएकाले भुइँमा ढल्न दिइनँ ।

मधुपर्क कार्यालयमा एकाएक ठुलै आतेस आइलागेको थियो । बोकेर सोफामा सुताइयो । जुत्ता खोलेर पैताला रगड्नेदेखि तालुमा पानी छ्याप्नेसम्मका व्रिmया हुँदा पनि उहाँ होस्मा आउन सक्नुभएन । उहाँकी बुहारीले ‘सुगर लो’ भएको हुन सक्ने भन्दै झोलाबाट सुन्तला निकालेर ताछ्नुभयो । दाँत बाँध्नुभएका कारण केस्रा खुवाउन सम्भव नै थिएन । निचोर्दा पनि सबै झोल मुखमा पर्न सकिरहेको थिएन । उपाय त लगाउनै प-यो । चम्चाले मुख खुलाएर सुन्तलाको रस र चिनी पानी एकसाथ मुखमा पसाउने काम भयो । सँगसँगै तालुमा पानी छ्याप्ने र पैताला रगड्ने व्रिmया पनि भइरह्यो । कार्यालयमा भएका हामी सबै आतेसमा थियौँ । ओहो, उहाँलाई केही भइहाल्यो भने ?

एक मात्र सान्त्वना बुहारी साथमै भएका कारण मिलेको थियो । उहाँकी बुहारी हामी जत्तिको आत्तिनुभएको पनि थिएन । घरमा पनि एकाध पटक यस्तो भएको तर यति लामो समयसम्म चाहिँ नभएको उहाँको भनाइले हामीलाई झन्  अत्याएकै थियो । निकै समयपछि उहाँले आँखा खोल्नुभयो र चारैतिर हेर्नुभयो । 

मैले सोधेँ– के भयो सरलाई ? 

उहाँले भन्नुभयो– खै एकाएक के भयो हो ! सिताङ्ग भएँ, भनन्न भएर आयो । केही थाहै पाइनँ ।

हाम्रो त सातो उडेको थियो । हजुरलाई केही भएको भए, कत्रो अबगाल हुन्थ्यो । तर उहाँले सहज जवाफ दिनुभयो– जे हुन लेखेको छ, त्यही हुन्छ । केही होला कि भनेर, डराएर हिँड्डुल गर्नै छोड्यो भने त झनै कुँजिहालिन्छ नि !

उहाँ त्यसरी आउनुको कारण के थियो ? कुनै लेखरचना पनि बोक्नुभएको थिएन, पारिश्रमिक लिन पनि होइन । एक मात्र कारण मधुपर्क सम्मानका लागि मैले भूमिका खेलेको उहाँको अनुमानमा हुन सक्छ । त्यसै भएर धन्यवाद भन्नलाई पो थियो कि भन्ने हो । ‘कार्यालयमै आएर भेटौँ भनेर आएको’ भन्नुले यति अनुमान गर्न सकियो ।

उहाँलाई अस्पताल जाउँभन्दा पनि मान्नुभएन । त्यस अवस्थामा राखिरहन पनि उचित थिएन । खासमा उहाँलाई जतिसक्दो छिटो पठाउन पाए आफूलाई ढुक्क हुने विचार ममा आइरहेको थियो । कार्यालयको गाडीमा पठाउनका लागि तत्कालीन महाप्रबन्धक सुशील कोइरालाको कार्यकक्षमा गएर बेलिबिस्तार लगाएँ । भर्खरै मधुपर्क सम्मानद्वारा सम्मानित व्यक्तित्व भएका कारण उहाँ पनि आत्तिँदै मधुपर्कमा आउनुभयो र सहानुभूति प्रकट गर्नुभयो । त्यसपछि गाडीमा चढाएर घर पठाउने काम भयो । उक्त घटनापछि दैनिकै जस्तो फोन गरेर सन्चो बिसन्चो सोधिरहेँ । उहाँले सन्चै छ, त्यही दिन किन त्यस्तो भयो, कहिल्यै त्यस्तो भएको थिएन भन्नुभयो । तर बुहारीले भने कहिलेकहीँ त्यस्तो हुने गरेको बताउनुभएथ्यो । 

उहाँलाई त्यसपछिका केही वर्ष अस्वस्थताले सताए पनि लेखन कार्यलाई साधनाकै रूपमा अगाडि बढाइरहनुभएथ्यो । अस्वस्थ हुँदाहुँदै पनि लामो समयदेखि निरन्तर लेख्दै आउनुभएको आफ्नै जीवनकथा पूरा गरेरै छाड्ने दृढ सङ्कल्पले पनि उहाँलाई मानसिक उपचार गरिरहेकाले चिकित्सकीय उपचारमा थप बल पुगिरहेको अनुभव हुन्थ्यो । परिवारका सदस्यका साथै उहाँले शिक्षा दिनुभएका विद्यार्थी, शुभचिन्तक एवं साथीभाइहरूको सहयोगले भीमकाय ग्रन्थ ‘मेरो जीवनकथा’ विसं २०७४ मा प्रकाशित भएर नेपाल प्रज्ञा–प्रतिष्ठानमा भव्य समारोहबिच लोकार्पण भएको क्षण उहाँका लागि सम्भवतः जीवनमा सबैभन्दा खुसीको क्षण थियो । उहाँले कार्यव्रmम स्थलमै हस्ताक्षर गरेर दिनुभएको उक्त भीमकाय ग्रन्थको छोटो समीक्षा लेखेर आफूसम्बद्ध पत्रिकामा प्रकाशित गर्ने अवसर मैले पनि प्राप्त गरेथेँ । समीक्षा पढेर आफैँले फोन गरेर धन्यवाद दिँदै खुसी व्यक्त गर्नुभएको थियो । उहाँले त्यसरी सानो समीक्षाका लागि पनि त्यस किसिमको कृतज्ञापूर्ण धन्यवाद प्रकट गर्नुहुँदा म भने शरमले पानी पानी भएको थिएँ । उहाँले जीवनकथामा उल्लेख गर्नुभएको श्लोक यतिबेला पनि सम्झिरहेको छु– 

‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्

परोपकारः पुण्याय पापाय परपीडनम् ।’ अर्थात् वेदव्यासले रचना गर्नुभएका १८ पुराणको सारका रूपमा यो श्लोक रहेको छ । परोपकार गर्नाले पुण्य मिल्छ र अर्कालाई पीडा दिनाले पाप लाग्दछ । उहाँको जीवन–दर्शन नै यही श्लोकमा आधारित भएको अनुभूत हुन्थ्यो । यति मिहीन र यति खुलस्त लेखनको अर्को आत्मकथा नेपाली साहित्यमा सम्भवतः अर्को छैन होला । छ सय पृष्ठको ग्रन्थको टुङ्ग्याउनी वाक्य– ‘बालककालमा आमा र वृद्धावस्थामा पत्नी गुमाउने म अभागी नै रहेछु’ ले नराम्ररी चिमोटिन्छ पाठक मन । १९९० पुस १७ गते मकवानपुरगढीको चण्डिनीमा पिता तीर्थ उपाध्याय र माता प्रेमकुमारीबाट जन्मिएका घनराज घिमिरे आफ्नै बुताले केशवप्रसाद उपाध्यायको नामबाट नेपाली साहित्यमा अमर बन्नुभएको छ । 

बाल्यकालमा धेरै दुःखकष्ट भोग्नुपरेकाले सानैदेखि जिम्मेवारीबोध, आफ्ना लागि भन्दा अरूका लागि केही गर्नै पर्ने दायित्वबोधले थिचिएकै परिणामस्वरूप हुन पर्छ झट्ट देख्नेले उहाँलाई चिन्तित, दुःखी र घुलमिल नहुने एकलकाँटे स्वभावको लख काट्थे । हो पनि त्यस्तै । उहाँ स्वयं भन्नुहुन्थ्यो– यो मेरो बाल्यकालदेखिकै स्वभाव हो । अन्तरमुखी नै हुँ । साहित्यकार प्रेमचन्द ठुला साहित्यकारहरूकहाँ जान धक मान्थे अरे । म पनि त्यस्तै छु । बाल्यकालमा आमाको माया नपाउँदा आत्मबल गुम्ने, साहस नहुने र अपहेलित झैँ लाग्दो रहेछ । आर्थिक अभाव, चिन्ता, किताब किन्न नसक्दाको पीडा मसँग जति छन्, अरूसँग सायदै होलान् । 

उहाँलाई आशीष दिँदै हजुरआमाले ‘पण्डित भएस् है’ भन्दा उहाँ भने ‘नाइँ म त मास्टर हुन्छु’ भन्नुहुन्थ्यो अरे । २०१५ सालमा साहित्याचार्य र २०२४ सालमा नेपालीमा स्नातकोत्तर गर्नुभएका उपाध्यायलाई डा. हजारीप्रसाद द्विवेदीका लेखहरू पढ्दा ‘विद्यावारिधि गर्न पाए त !’ भन्ने मोह जागेको थियो तर बाटो पहिल्याउन सजिलो थिएन । उहाँले विद्यावारिधि प्रसङ्गको रामकहानीको पोको फुकाउनुभएको छ– बसाइ राजविराज थियो । शोध–अनुसन्धान गर्नुभन्दा पनि प्रव्रिmयाहरू पु¥याउनै गाह्रो थियो । काठमाडौँ आएका बखत वासुदेव त्रिपाठीसँग भेट भयो । उहाँले पनि विद्यावारिधि गर्न सल्लाह दिनुभयो । आफूले लेखनाथको कवित्वबारे शोधकार्य गर्दै गरेको र कुमारबहादुर जोशीले महाकवि देवकोटाको कवित्वबारे गर्दै गरेकोले मलाई समको नाट्यकारिताबारे गर्नुहोस् भन्नुभयो । मैले पहिले तपाईं सक्नुस्, त्यसपछि म थालौँला भनेँ । पछि तत्कालीन डीन डा. पार्थिवेश्वर तिमिल्सिना र डा. त्रिपाठी राजविराज जानुभएको बेला विद्यावारिधि दर्ता फारम नै लिएर जानुभएको रहेछ । उहाँहरूले नै समको नाट्यकारितामा दर्ता गराइदिनुभयो । मलाई त खण्डकाव्यमा गर्ने सोच थियो । यता मोहनहिमांशु थापाले समका नाटकबारे दर्ता गराइसकेका पनि रहेछन् । त्यसैले पछि शीर्षक बदलेर समका दुःखान्त नाटकबारे अध्ययन गरेँ र त्यसैमा पार लगाएँ । 

उहाँ भन्नुहुन्थ्यो– “खै, किन हो ? मलाई धेरैले गुन लगाएका छन् तर मैले बदलामा कसैलाई केही गर्न सकिनँ ।” 

केशव सरले त्यसो भन्नुभए पनि उहाँले नेपाली साहित्यलाई लाउनुसम्मको गुन लगाउनुभएर विसं २०७९ साल फागुन १२ गते भौतिक रूपमा हामीमाझबाट अस्ताउनुभयो ।