• १४ फागुन २०८२, बिहिबार

काठमाडौँ–३ को स्थलगत रिपोर्टिङ

एकाउन्न प्रतिशत महिला मतदाता, एक जना महिला उम्मेदवार

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १४ गते । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ का रविरत्न श्रेष्ठ कृषि पेसामा संलग्न हुनुहुन्छ । काठमाडौँमै अर्गानिक तरकारी पु¥याउने अठोटका साथ उहाँले २०७६ मा वैदेशिक रोजगारीबाट फर्किएपछि कृषि कर्म थाल्नुभएको हो । उहाँले चार लाख रुपियाँभन्दा बढी लागतमा टहरा बनाएर मौसमी तरकारी लगाउनुभएको छ । लगानी थपेपछि आम्दानी केही वृद्धि भएको छ । उहाँले भन्नुभयो, “तर भने जस्तो उत्पादन छैन । लगानी र मेहनत धेरै आम्दानी सीमित भएकाले खर्च धान्न समस्यै छ ।”

कृषक श्रेष्ठ जस्तै स्थानीय नवराज तामाङ खुकुरापालन गर्नुहुन्छ । उहाँले राज्यको अनुदान ‘नक्कली किसान’ ले पाउने गुनासो गर्दै वास्तविक कृषिमा लागेका किसानलाई अनुदान, राहत र प्राविधिक सहयोग भए बिदेसिनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा भोट माग्न आउँदा राम्रो राम्रो काम गर्छु भन्ने तर हामी जस्तो किसानलाई हेर्दै नहेर्ने पार्टीलाई भोट दिन्न । यसपालि विचार गरेर भोट दिने हो । हामीले पनि त राहत पाउनु पर्छ नि !”

श्रेष्ठ र तामाङ जस्तै काठमाडौँ क्षेत्र नं. ३ का मतदाता प्रतिनिधि सभा सदस्यको फागुन २१ गते हुने निर्वाचनको तयारीमा छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १, २ र ३ गोकर्णेश्वर नगरपालिकाका वडा नं. १ देखि ९ र काठमाडौँ महानगरपालिका वडा नं. ६ समेटिएको काठमाडौँ क्षेत्र नं. ३ मा ६४ हजार ४७९ मतदाता छन् । काठमाडौँ महानगरपालिका–६ निवासी सरस्वतीनगर सुधार सङ्घका उपाध्यक्ष सावित्री खड्काले काठमाडौँ क्षेत्र नं. ३ मा ठाउँ अनुसार अलग अलग समस्या रहेको बताउनुभयो । उहाँले वर्षामा डुबान नहोस्, हिउँदमा धुलो नहोस्, राम्रोसँग स्वास फेर्न सकिने वातावरण होस् र सुशासन होस् भन्ने जनचाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरतर्फ सडकसहित अन्य पूर्वाधार व्यवस्थित गर्नु छ । कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकामा सडक, खानेपानी, कृषि उत्पादनका लागि बजार र राज्य प्रणालीबाट प्राप्त हुने सेवा सुविधालाई छिटोछरितो बनाउनु पर्छ भन्ने छ ।” 

२१ पुरुष र एक महिला उम्मेदवार 

काठमाडौँ क्षेत्र नं. ३ मा १६ राजनीतिक दल र छ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको छ । जसमा एक जना महिलाको मात्र उम्मेदवारी परेको छ । उक्त क्षेत्रमा महिला मतदाताको सङ्ख्या ३२ हजार ९२३ अर्थात् ५१.०६ र पुरुष मतदाताको सङ्ख्या ३१ हजार ५५६ अर्थात् ४८.९४ प्रतिशत रहेको छ । नेपाली कांग्रेसले रमेश अर्याल, नेकपा (एमाले) ले रामेश्‍वर फुयाँल, नेपाली कम्युनिस्ट पार्टीले नीरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ महानगर प्रहरीका पूर्वप्रमुख राजुनाथ पाण्डे, उज्यालो नेपाल पार्टीले अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङलाई उम्मेदवार बनाएको छ । 

त्यसै गरी नेकपा (माओवादी) ले नेता शेखरनाथ आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीले सुन्दरराम बोहरा, नेकपा (संयुक्त) ले बाबुकाजी कार्की, नेपाल मजदुर किसान पार्टीले मदन श्रेष्ठ, मङ्गोल नेसनल अर्गनाइजेसनले कुलबहादुर लामा, मितेरी पार्टी नेपालले जितबहादुर तामाङ, जनता समाजवादी पार्टी, नेपालले प्रनिलध्वज कार्की र आम जनता पार्टीले रूपसागर देवीलाई उम्मेदवार बनाएको छ । 

नेसनल रिपब्लिक नेपालले प्रेमछिरी शेर्पा, प्रगतिशील लोकतान्त्रिक पार्टीले शेखर अर्याल, श्रम संस्कृति पार्टीले सुवास घिसिङलाई उम्मेदवार बनाएको छ । स्वतन्त्रतर्फ सुरेशकुमार ढुङ्गाना, श्रीकृष्‍ण बराल, सज्‍जन आचार्य, केशव नेपाल, रामकृष्‍ण पुजारी र प्रदीप काफ्लेले उम्मेदवारी दिनुभएको छ । 

पाँच दलबिच मत तान्ने प्रयास 

काठमाडौँ क्षेत्र नं. ३ मा २०७९ मा नेपाली कांग्रेसका नेता सन्तोष चालिसे विजयी हुनुभएको थियो । कांग्रेसले पहिलो पटक नेता रमेश अर्याललाई उम्मेदवार बनाएको छ । एमाले नेता रामेश्‍वर फुयाँल संविधान सभा सदस्य एवं बागमती प्रदेश सभा सदस्य रहिसक्नुभएको छ । 

नेपाली कम्युनिस्ट पार्टीले नेता नीरज लामा स्थानीय राजनीतिक एवं सामाजिक अगुवा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे काठमाडौँ महानगरपालिकाको प्रहरी प्रमुख हुँदा चर्चित हुनुभएको हो । उज्यालो नेपाल पार्टीले अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङ लोडसेडिङ हटाएपछि उज्यालो नेपाल अभियन्ताका रूपमा परिचित हुनुहुन्छ । माओवादी नेता शेखरनाथ आचार्य खोला नदी संरक्षण र सामाजिक अगुवाको भूमिकामा काम गर्दै आउनुभएको छ । काठमाडौँ क्षेत्र नं. ३ का अधिकांश उम्मेदवारका मुद्दा मिल्दाजुल्दा छन् । सुशासन, आर्थिक विकास, युवालाई विकासमा साझेदारी, रोजगारी, स्थानीय विकास, सडक तथा अन्य भौतिक संरचना निर्माण एवं स्तरोन्नति, शिक्षा, स्वास्थ्य र यातायात पूर्वाधार र यातायात सेवालाई गुणस्तरीय बनाउनेसहितका विषय समावेश छन् ।