• १४ फागुन २०८२, बिहिबार

अठार वर्षपछि फरार युवक पक्राउ

blog

जनार्जन खत्री

सर्लाही, फागुन १४ गते । बेग्लाबेग्लै तीनवटा डाँका–चोरी मुद्दामा १८ वर्ष १५ दिनको कैद सजाय पाएका एक युवक लालबन्दीबाट पक्राउ परेका छन् । 

डाँका–चोरी मुद्दाका प्रतिवादी हरिवन नगरपालिका –६, बस्ने ३३ वर्षीय मदनबहादुर लामालाई इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

लामालाई सर्लाही जिल्ला अदाततले डाँका–चोरी मुद्दामा एक पटक सात वर्ष दुई महिना पाँच दिन, अर्को पटक पाँच वर्ष आठ महिना पाँच दिन र फेरि अर्को पटक पाँच वर्ष दुई महिना पाँच दिन गरी १८ वर्ष कैद सजाय सुनाएको प्रहरीले जनाएको छ । 

तीन पटक गरेर लामाविरुद्ध अदालतले एक लाख ७५ हजार रुपियाँ जरिवानासमेत सुनाएको छ । चुनावको मौका पारेर लालबन्दी बजारमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ परेका लामालाई प्रहरीले बिहीबार सर्लाही जिल्ला अदालत पेश गरेको थियो । 

अदालतले लामालाई १८ वर्ष १५ दिन कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो । डिएसपी राईका अनुसार लामालाई अदालतको आदेशअनुसार बिहीबार नै कारागार कार्यालय मलङ्गवा चलान गरिएको छ ।