• १४ फागुन २०८२, बिहिबार

सत्तामा हुँदा पनि गलत कदमको विरोध गर्ने साहस राख्छु : गगन थापा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका सभापति गगन थापा।

लक्ष्मी तिमिल्सेना

जमुनाह (बाँके), फागुन १४ गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा देशको राजनीतिलाई नयाँ युगमा लैजाने बताउनुभएको छ। बिहीबार बाँकेको जानकीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आगामी पाँच वर्षका लागि कांग्रेस स्पष्ट योजना र कार्यक्रमसहित मतदातामाझ आएको बताउनुभयो।

सभापति थापाले आफ्नो दुई दशक लामो राजनीतिक र सामाजिक अनुभवको स्मरण गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा आफ्नो अडान कायमै रहेको उल्लेख गर्नुभयो। "मैले सुरु गरेको स्वास्थ्य बिमा प्रणाली अहिले प्रभावकारी हुन सकेको छैन, यो ध्वस्त जस्तै बनेको छ," उहाँले भन्नुभयो, "यसको आमूल सुधार अबको प्राथमिकता हुनेछ।" उहाँले शिक्षालाई निःशुल्क र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन आफू निरन्तर लागिपरेको बताउनुभयो।

पार्टी नेतृत्वले गल्ती गर्दा समेत विरोध गर्ने साहस राखेका कारण आफूले कतिपय अवस्थामा आलोचना खेप्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, "प्रतिपक्षमा हुँदा मात्र होइन, सत्तामा हुँदा पनि आफ्नै पार्टीको गलत कदमको विरोध गर्ने व्यक्ति म नै हुँ। म सधैँ जनताको हितलाई केन्द्रमा राखेर राजनीति गर्छु।"

देशमा अझै बेरोजगारी र विकासको असन्तुलन जस्ता समस्या विद्यमान रहेको स्वीकार गर्दै उहाँले ती समस्या समाधानका लागि ठोस कार्ययोजना आवश्यक रहेको औँल्याउनुभयो। उहाँले कांग्रेसले जितेपछि सार्वजनिक रूपमा कार्ययोजना प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनुभयो। "आगामी वैशाख १ गतेदेखि क्रमशः कामको विवरण र लक्ष्य सार्वजनिक गर्नेछौँ," उहाँले थप्नुभयो, "प्रत्येक महिना प्रगति प्रतिवेदन दिँदै कामलाई नतिजामुखी ढङ्गले अघि बढाउने हाम्रो सङ्कल्प छ।"

कार्यकर्ताहरूलाई निर्देशन दिँदै सभापति थापाले सामाजिक सञ्जालको मात्र भर नपर्न आग्रह गर्नुभयो। "अल्गोरिदमको राजनीतिले संसारभरि नै घृणा र उत्तेजना फैलाउनेको पक्ष लिन्छ, त्यसैले घर–घरमा पुगेर संयमित ढङ्गले आफ्ना कुरा राख्नुस्," उहाँले भन्नुभयो।

प्रतिनिधि सभा निर्वाचन लक्षित सो सभामा सहभागी हुन सभापति थापासहितका नेताहरू हेलिकप्टरमार्फत बाँके आउनुभएको थियो। कार्यक्रममा बाँके र बर्दियाका उम्मेदवार तथा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता थियो।