• १५ फागुन २०८२, शुक्रबार

दलहरूको प्रतिबद्धता

प्रदेश राजधानीका पूर्वाधार प्राथमिकतामा

blog

हेटौँडा औद्योगिक क्षेत्रस्थित प्रदूषित पानी प्रशोधन केन्द्र ।

राममणि दाहाल

मकवानपुर, फागुन १५ गते । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार आफ्ना भावी योजना र कार्यक्रमसहित मतदातासमक्ष पुग्ने क्रमले तीव्रता पाएको छ । बागमती प्रदेशको राजधानीका उम्मेदवार तथा दलको प्राथमिकता पूर्वाधारमै केन्द्रित भएको छ ।

विगतको निर्वाचनमा भन्दा फरक अभ्यास देखिएको यस पटकको निर्वाचनमा दल र उम्मेदवारलाई भावी योजनाका बारेमा प्रश्न गर्न थालेका मतदाताले सङ्घीय संसद्मा पुगेर नीति नियम बनाउनेदेखि आफ्नो गाउँठाउँको विकास तथा योजनाका बारेमा समेत उम्मेदवारहरूसँग प्रतिबद्धता खोजेका हुन् ।  देश सङ्घीयतामा गएसँगै हेटौँडा उपमहानगरपालिका प्रदेश राजधानी बनेको नौ वर्ष भइसकेको छ । अझै हेटौँडाको व्यवस्थित र योजनाबद्ध विकासको सुरुवात हुन सकेको छैन । प्रदेश सरकारले प्रशासनिक भवन अभाव बेहोर्दै आएको छ । अझ गत भदौमा भएको जेनजी विद्रोहका क्रममा प्रदेशका मन्त्रालय र कार्यालयहरूको संरचनामा तोडफोड र आगजनी भएपछि खुम्चिएर प्रदेश सरकार सेवा प्रवाह र कार्यसम्पादन कठिन बनेको छ । कतिपय मन्त्रालय भाडाका घर र मातहतका कार्यालयबाट चलेका छन् । मुख्यमन्त्री कार्यालय नै साबिकको जिविसको भवनमा रहेको छ ।

प्रदेशको प्रशासनिक भवनका लागि हेटौँडा उपमहानगरपालिका–१६ मा जग्गाको पहिचानसहित  विस्तृत परियोजना प्रस्तावसमेत बनेको छ । तर प्रशासनिक भवन निर्माण गर्न बजेट विनियोजन हुँदै आए पनि सङ्घीय सरकारले जग्गाको टुङ्गो नलगाउँदा प्रदेश सरकारको योजना अलपत्र अवस्थामा छ । 

बागमती प्रदेश उद्योग परिसङ्घका उपाध्यक्ष स्वागतराज प्याकुरेल प्रदेश राजधानीसमेत रहेको हेटौँडाको समुचित विकासका लागि सबै किसिमका पूर्वाधार बनाउनुपर्नेमा जोड दिनुहुन्छ । “प्रादेशिक राजधानीमा व्यवस्थित र योजनाबद्ध विकास आवश्यक छ,” उहाँले भन्नुभयो, “सडकलगायतका पूर्वाधार बन्छन् । अधुरो र अधकल्चो छाडिन्छ, कतै पैदलमार्ग त कतै ढल हुँदैन, पूर्वाधार विकासलाई व्यवस्थित गर्ने गरी दल र उम्मेदवारको प्रतिबद्धता आउनु पर्छ ।” हेटौँडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये १५ वटा वडा निर्वाचन क्षेत्र नम्बर १ र चार वटा वडा निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ ।  कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक डा. बलराम भट्ट हेटौँडा नगरबाट सहरमा परिणत भएकाले अब सहरी आधारभूत आवश्यकता पूर्ति हुनुपर्ने कार्यक्रम र योजना दल उम्मेदवारका मुद्दा बन्नुपर्ने सुझाउनुहुन्छ । उहाँले हेटौँडालाई शैक्षिक हब बनाउन खोजिए पनि समन्वय अभाव भएको भन्दै सामाजिक पूर्वाधारलाई जोड दिएर योजना र नीति बनाउने गरी उम्मेदवारले सङ्घीय संसद्मा आवाज लैजानुपर्ने बताउनुभयो । 

औद्योगिक क्षेत्रलाई प्राथमिकता 

हेटौँडाको विकाससँगै औद्योगिक क्षेत्रको मुद्दालाई यहाँका उम्मेदवारहरूले समेटे पनि दलका केन्द्रीय घोषणापत्रमा ती मुद्दाले प्राथमिकता पाउन सकेको छैन । दलहरूका केन्द्रीय प्रतिबद्धताले देशकै सबैभन्दा ठुलो औद्योगिक क्षेत्रमध्येको एक हेटौँडा औद्योगिक क्षेत्रको प्रवर्धन र प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको निर्माणलाई समेटेको छैन ।

नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा २०४८ देखि करिब तीन वर्ष उद्योग स्थापना र रोजगारी सिर्जनासँगै अर्थतन्त्रले उचाइ लिएको समय भनेको छ । तर हेटौँडामा स्थापना भएका रोजगारमूलक र निर्यातमूलक प्रमुख राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योग पछिल्लो समयमा बन्द र पलायन भएका छन् । आव २०५७/५८ मा मकवानपुरबाट दुई अर्ब २९ करोड नौ लाख २७ हजार रुपियाँ बराबरको निर्यात व्यापार भएकोमा गत आवमा ४० करोड ४२ लाख ८२ लाख ७९ हजार ९४३ रुपियाँ बराबरको निर्यात हुनुले औद्योगिकीकरण दल र उम्मेदवारको नारामा मात्र सीमित बनेको छ । 

“सरकारको एउटा निकायले मयुरधाप औद्योगिक क्षेत्रका लागि जग्गा दियो, अर्को निकाय मुद्दमा गयो,” परिसङ्घ उपाध्यक्ष प्याकुरेलले प्रश्न गर्नुभयो, “अब कसरी बन्छ लगानीको 

वातावरण ?” स्वदेशी उत्पादनको प्रवर्धन गर्ने नीति आवश्यक भएको भन्दै उहाँले कच्चा पदार्थ आयात गर्ने उद्योग र तयारी वस्तुको आयात गर्नेमाथि एउटै व्यवहार गर्दा समस्या आएकाले कानुनमा सुधारको प्रतिबद्धता आवश्यक भएको सुनाउनुभयो । 

क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डिना हेटौँडा औद्योगिक क्षेत्रमा बन्द भएको उद्योगको जग्गामा नयाँ उद्योग स्थापना गर्न पहल गर्ने बताउनुहुन्छ । उहाँले प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्र निर्माणमा देखिएको कानुनी समस्या समाधानमा सहजीकरण गर्ने बताउनुभयो ।

यस्तै क्षेत्र नम्बर १ का नेकपा (एमाले) का उम्मेदवार रामेश्वर रानाले औद्योगिक क्षेत्रको प्रवर्धनलाई आफ्नो मुद्दा बनाउनुभएको छ । क्षेत्र नम्बर १ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विजय गौतम र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले पनि रोजगारी सिर्जना र औद्योगिकीकरणको सवाललाई आफ्नो चुनावी मुद्दा बनाएर सार्वजनिक गर्नुभएको छ ।

दलका केन्द्रीय घोषणापत्रमा हेटौँडा

कांग्रेसले केन्द्रीय घोषणापत्रमा प्रदेश र स्थानीय सरकारका पूर्वाधार क्षेत्रका गौरवका योजनाहरूमा थप स्रोत उपलब्ध गराउने भनेको छ ।

राष्ट्रिय राजधानी काठमाडौँबाट प्रदेशको राजधानी हेटौँडा छिटो र सहज रूपमा जोड्ने एउटा सडकलाई सबै समय आवागमन नरोकिने गरी एक वर्षभित्र स्तरोन्नति गर्ने, प्रदेश राजधानीमा सवारी बत्ती तथा क्यामेरा प्रयोगबाट सवारी आवागमन नियमन गर्ने र प्रदेश राजधानीलाई विशिष्टीकृत केन्द्रका रूपमा विकास गर्ने सवाल समेटेको छ । 

यस्तै कांग्रेसले बागमती प्रदेश विश्वविद्यालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्च शिक्षा र स्वास्थ्य सेवामा आत्मनिर्भरता बढाएको भन्दै प्रस्तावित पोष्टबहादुर बोगटी सुरुङमार्गलाई आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

एमाले नेतृत्वको सरकारले सुरु गरेको काठमाडौँ–तराई द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । उता नेकपाको केन्द्रीय चुनावी प्रतिबद्धतामा सातै प्रदेशमा कृषि औद्योगिक पार्क स्थापना गर्ने भनेको छ । रास्वपले हेटौँडालगायतका सहरमा नयाँ बाइपास सडक बनाउने मुद्दा अघि सारेको छ । 

प्राध्यापक भट्ट गत भदौ २३ गते सुशासनका माग गर्दै जेनजीले गरेको विद्रोह र २४ गतेको विध्वंसको घटनालाई मूल मुद्दा बनाएर उम्मेदवार जानुपर्ने सुझाउँदै हेटौँडाको मानव संशाधनको उपयोग उम्मेदवारको प्रमुख मुद्दा हुनुपर्ने बताउनुहुन्छ । 

यस्तै हेटौँडा बजार क्षेत्रको राजमार्ग विस्तार, मानव र वन्यजन्तुबिचको द्वन्द्व, अव्यवस्थित बसोबासी, सुकुमवासीलगायत समस्या लामो समयदेखि चुनावी मुद्दा बन्दै आएको छ । राजमार्ग विस्तारबाट प्रभावितले क्षतिपूर्ति र मुआब्जा माग गर्दै आएका छन् ।

क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार प्रकाश गौतमले सुशासनसँगै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न काम गर्ने सार्वजनिक प्रतिबद्धता जनाउँदै आउनुभएको छ । कांग्रेसका उम्मेदवार उपाध्यायले बागमती र बकैया गाउँपालिकालाई कृषि तथा पशुपालनको पकेट क्षेत्रका रूपमा विकास गर्न पहल गर्ने बताउनुभयो । एमाले उम्मेदवार रानाले नयाँ उद्योग स्थापना तथा उत्पादन र रोजगारी वृद्धि गर्ने योजना अघि सार्नुभएको छ । यस्तै नेकपाका उम्मेदवार गौतमले उद्योग र उद्यमशीलता अन्तर्गत साना तथा घरेलु उद्योग प्रवर्धनको योजना ल्याउनुभएको छ । राप्रपाका उम्मेदवार सिंहले हेटौँडामा रोजगारीको पहलसँगै निर्यातमुखी उद्योग प्रवर्धनका लागि पहल गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।