यो संसार शक्ति र भक्तिले चलिरहेको छ । शक्ति र भक्तिको मूल केन्द्र भगवान् हुन् । यो सृष्टि नै भगवान् ब्रह्मा, विष्णु र महेश्वरको नाम र कामसँग जोडिएको छ । पवित्र धार्मिकस्थल खार्पुनाथ शक्ति र भक्तिका लागि प्रसिद्ध छ । जहाँ भगवान् शिव विराजमान हुनुहुन्छ त्यहाँ भक्तजन र आस्थावान् वर माग्ने र भर मान्ने गर्दछन् । खार्पुनाथ पशुपतिनाथको उत्तर ढोका र मानसरोवर कैलाशको प्रवेशद्वारका रूपमा पनि चाहिन्छ ।
खार्पुनाथको उत्पत्ति, इतिहास र महिमा खार्पु तीर्थ हो । यही पवित्र तीर्थमा नाथ (शिव) बस्नुभएकाले खार्पुनाथ भनिएको हो । खार्पुमा प्राकृतिक रूपमा डाँडो नै शिवलिङ्ग भएको र पवित्र नदी कर्णालीछेउमा बगिरहेको छ । महाभारतका सूर्यपुत्र दानवीर कर्णले मानसरोवरबाट बगेर आइरहेको यस नदीलाई पवित्र जल मानेर आफ्नो नालनर्सिङामा राखेर पिएको हुनाले यसलाई कर्नाली भनिएको हो भन्ने मान्यता छ । जहाँ खार्पु दोभान छ; जसलाई गौरी पनि भन्दछन् । यहाँ स्नान गर्ने गर्दछन् । खार्पु दोभान (गौरी) मा भगवान् विष्णु स्नान गर्न आएर कर्णाली पारिपट्टि शङ्खतोडा ढुङ्गाका रूपमा बस्नुभएको छ । भगवान्् ब्रह्मा स्नान गर्न आउनु भई ब्रह्माकपाली ढुङ्गाका रूपमा रहनुभएको छ । नवदुर्गा भवानी स्नान गर्न आउनुभई तप्पन तातोपानीका रूपमा बस्नुभएको छ । श्यामकर्ण घोडा स्नान गर्न आई ढुङ्गामा बच्छेरी पाइलाका रूपमा रहेको छ । कबुली गाई स्नान गर्न आएर ढुङ्गामा कबुली गाई पाइलाका रूपमा रहेको छ । यमराज स्नान गर्न आई गौजो काट्ने ढुङ्गा (यमद्वार) का रूपमा रहनुभएको छ । यही भएर खार्पु दोभानको वरिपरि र छेउछाउमा मसानघाट छन् जसलाई त्रिपेनी भन्दछन् । भगवान् शिवले स्नान गरी खार्पु डाँडो शिवलिङ्गका रूपमा रहनुभएको छ जसभित्र भगवान् शिवको भव्य मन्दिर छ भन्ने जनविश्वास छ । त्यही भएर खार्पु मन्दिरमा धूपबत्ती बाल्दा यसको टुप्पोमा बास्ना र धुवाँ आउँछ भन्ने भनाइ छ । खार्पु दोभान (गौरी) मा स्वयम् पार्वती दुई वटा नदीको बिचमा टापुका रूपमा रहनुभएको छ । जसलाई पार्वतीको गोप्य अङ्गको आकारका रूपमा पनि बुझ्दछन् । देवादिदेव महादेवको वासस्थान कैलाशलाई जसरी हिन्दु र बौद्ध धर्मावलम्बी आस्था राख्छन् त्यसरी नै खार्पुनाथलाई पनि दुवै धर्मावलम्बीले पवित्र तीर्थका रूपमा मान्छन् । आफ्नो घरको अशुभगौ जो काट्न, वरदान माग्न र पूजाआजा गर्न आउँछन् । एउटा किंवदन्ती अनुसार ह्वाडेखोली लामा जसलाई बौद्ध धर्मावलम्बी गुरु पद्मसम्भव र हिन्दुहरू भगवान् शिवका रूपमा चिन्दछन् । उहाँले खार्पु दोभानमा स्नान गरी केही माथि कोट खौला जाने बाटोतिर ढुङ्गामा लामा पाइला छाडेर रलिङ गुम्बामा गई तपस्या गर्न लाग्नुभयो । ध्यान मुद्रामा उहाँले खार्पुलाई मानसरोवर र रलिङ तुथो (चुचुरो लाई कैलाश बनाउन लाग्दा बिहानीपख राक्षसरूपी काग रलिङको चुचुरोमा बसी कराएर लामाको ध्यान भङ्ग गरेकाले लामाले श्राप दिई कागरूपी राक्षस त्यही रलिङ चुचुरोमा भष्म भएको, अहिले पनि रलिङ चुचुरोमा कालो देखिँदा त्यसलाई काग हो भन्ने भनाइ छ । पछि लामा अर्थात् भगवान् शिवले यहाँ अशुभ भयो भनेर आफ्नो निवासस्थान कैलाश र मानसरोवर चीनको तिब्बतमा अवस्थित अहिलेको कैलाश पर्वत र मानसरोवर ताल बनाउनुभयो । त्यसैले पनि कैलाश, मानसरोवर, रलिङ र खार्पुनाथको सम्बन्ध जोडिएको छ । कैलाश, मानसरोवर र रलिङको दर्शन गर्नुभन्दा पहिला खार्पुनाथको दर्शन गरेर मात्र जानु पर्छ भन्ने जनविश्वास र धार्मिक मान्यता छ । त्यसै गरी नै भगवान् शिवले खार्पुमा पवित्र तीर्थ र आफ्नो तपस्या स्थल बनाउनु भनी त्यहाँ रहेका डाँडालाई सोध्नुभयो र भन्नुभयो । ए डाँडाहरू, भोलि बिहानसम्म जुन डाँडा उप्केर यहाँ शिवलिङ्ग आकारमा बस्छ म त्यसलाई पवित्र तीर्थ र तपस्या स्थल बनाउँछु । त्यसपछि त्यहाँ रहेका चार दिशाका चार डाँडा दक्षिणमा रहेको छिप्राको लुवासुर डाँडा, उत्तरमा रहेको बरगाउँ डाँडा, पूर्वमा रहेको खर्पेलगाउँ डाँडा र पश्चिममा रहेको सिमकोट कुडिल्ला डाँडाको रातभरि प्रतिस्पर्धा चल्यो । बिहानीपख अरू डाँडा उप्किन नसकेको र सिमकोटको कुडिल्ला डाँडा उप्केर आई अहिलेको खार्पुडाँडा शिवलिङ्ग आकारमा रहेर बस्यो । जहाँ भगवान् शिव तपस्या गरी बसेर पवित्र तीर्थस्थल बनाए । खार्पु डाँडो र सिमकोट कुडिल्ला डाँडाको ढुङ्गा, माटो त्यही भएर समान अर्थात् एकै खालको छ भन्ने मान्यता छ । स्वस्थानी व्रतकथामा महादेवपत्नी वियोग भई सतीदेवीको मृत शरीरलाई पीठमा राखेर पृथ्वी भ्रमण गर्दा जुन जुन स्थानमा सतीदेवीको अङ्ग पतन भयो त्यहाँ त्यहाँ एक एक शक्तिपीठ र स्वम्भूलिङ्ग उत्पन्न हुँदै गयो । समस्त पीठको सङ्ख्या साढे सात करोड छ । त्यसमध्ये ५० पीठको मात्र दर्शन गरे पनि अवश्य मुक्ति प्राप्त हुन्छ । यस खार्पुमा सतीदेवीको काखी (खार) पतन भयो । त्यसैले यसलाई खार्पुनाथ भनिएको हो । यसको मूल थान गुफाको आकार काखी अर्थात् खार जस्तै छ । जहाँ महादेव शिवशक्ति स्वरूपमा रहेका छन् । एकातिर शिव तपस्या गरेर बसेको आकृति देखिन्छ भने अर्कोतिर ढुङ्गामा गणेश, दुर्गा भवानीलगायत भगवान्का विभिन्न स्वरूप देखिन्छन् । यहाँ धर्मी मान्छेले मात्र भगवान्का स्वरूप देख्न सक्छन् भन्ने जनविश्वास छ । यस सिद्धभूमि, मोक्षभूमि र पुण्यभूमि खार्पुनाथको महिमा स्कन्दपुराणमा पनि उल्लेख गरिएको पाइन्छ । जगत्गुरुले पनि खार्पुनाथ र मानसरोवर कैलाशको सम्बन्ध र महìवबारे प्रवचन दिएको सुनिन्छ । खार्पुनाथको उत्पत्ति, इतिहास र महिमा अपरम्पार, अलौकिक र अद्भुत छ । जुन शक्ति र भक्तिका लागि खार्पुनाथ प्रसिद्ध र पवित्र तीर्थ मानिन्छ ।
खार्पुनाथको सम्बन्ध हुम्लाको नामकरणसँग पनि जोडिएको छ । महाभारतकालमा पाण्डवले खार्पुनाथमा कोटिहोम लगाएको किंवदन्ती पाइन्छ । पछि योगी नरहरिनाथले पनि यहाँ कोटिहोम गरेको भेटिन्छ । यही कोटिहोमबाट अपभ्रंश भई हुम्ला भएको भन्ने बुझिन्छ । खार्पुनाथ हुम्लाको पहिलो मन्दिर हो । योभन्दा पहिला यहाँ माडु मात्र निर्माण भएको पाइन्छ । एउटा भनाइ अनुसार खर्पेलगाउँका तत्कालीन भलादमी भीमबहादुर शाहीले सपनामा खार्पुको गुफाभित्र चल्ला ली माउ चरिरहेको र टुप्पोमा धुवाँ जस्तो आएको देखे । ब्युँझिएर आज के अचम्मको सपना देखेँ भन्ने सोचे । बिहान खर्पेलगाउँबाट त्यहाँ आइरहेका बेला साँच्चिकै खार्पु टुप्पोमा धुवाँ आइरहेको देखे । पछि हेर्दा त गुफाभित्र हलो, जुवा र अन्य सरसामान एक्कासि आगलागी भई त्यसको धुवाँ त्यहीँ भित्रबाट नै गई टुप्पोबाट निस्केको रहेछ । त्यतिखेर खार्पु जिउलामा काम गर्दा खर्पेलगाउँका मानिसले कामको सहजताका लागि हलो, जुवा, मुदोडो लुकाएर राख्थे । यसपछि यो ठाउँ त सत र शक्तिको ठाउँ रहिछ भनेर भीमबहादुर शाहीले त्यहाँ मन्दिर बनाए । पूजापाठ गर्न लगाए । माघेसङ्व्रmान्ति मेला मनाउन थाले । त्यहाँ आउने मान्छे (तीर्थयात्री र बटुवा) बस्नका लागि धर्मशाला पनि बनाए । यस मन्दिरको रेखदेख र पूजाआजा गर्ने काम खर्पेल र यिङच्याले गर्न लागे । तसर्थ खर्पेल र यिङच्याले सेवाचाव्रmी, अरू मुलुक राम भन्ने गीत छ । त्यतिखेर सत्र सय हुम्लो, भीमबहादुर शाहीको कुम्लो भन्ने भनाइ पनि थियो । खार्पुनाथ शक्ति र भक्तिका लागि प्रसिद्ध हुँदै गयो । यसको महिमा र महìव चिन्दै गए । टाढा टाढाबाट पनि भक्तजन माघेसङ्व्रmान्ति मनाउन, वरदान माग्न, गौजो काट्न र साक्षात् शिवजीको दर्शन र पूजाआजा गर्न आउन थाले । यहाँको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, प्राकृतिक र पर्यटकीय महìव बढ्दै गयो । २०५५ सालमा तत्कालीन जिविस. सभापति जीवनबहादुर शाहीले खार्पुमा नयाँ शिवमन्दिर बनाएर खार्पुनाथ मन्दिर क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन लगाउनुभयो । खार्पुनाथ शिवालय व्यवस्थापन समिति स्थापना गरी खार्पुनाथ मन्दिरको रेखदेख, मर्मतसम्भार, मेलापर्वहरु मनाउने र पूजापाठ गर्ने कार्य भइराखेको छ । २०७३ सालमा जीवनबहादुर शाही पर्यटनमन्त्री हुँदा खार्पुनाथ मन्दिरको जीर्णोद्वार गरी त्यहाँ प्यागोडा शैली (छाने शैली) को पक्की मन्दिर निर्माण भई उद्घाटन गर्नुभएको थियो । उहाँको पहलमा नेपाल सरकार पर्यटन मन्त्रालय र खार्पुनाथ गाउँपालिकाको सहकार्य र सव्रिmयतामा गुरुयोजना अनुरूप यस खार्पुनाथ मन्दिर क्षेत्रको नयाँ नयाँ संरचना बनाउने र विकास कार्य धमाधम अगाडि बढिरहेको छ । अझै पनि यस खार्पुनाथ मन्दिरको सेरोफेरो विकास गर्नका लागि धेरै काम गर्न बाँकी नै छ । नियमित पूजाआजा गर्नका लागि पुजारीको व्यवस्थापन गर्नुपर्ने पनि देखिन्छ । जिल्लास्तरीय, प्रदेशस्तरीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा एक शक्तिपीठ र भक्तिकेन्द्रका रूपमा यस खार्पुनाथ मन्दिरको विकास गरिनु आवश्यक रहेको देखिन्छ । पशुपति र कैलाशको शक्ति र स्वरूपमा रहेको खार्पुनाथको महिमा र महìव उत्तिकै छ । प्रचारप्रसारको कमीले ओझेल परेको जस्तो भए पनि खार्पुनाथलाई वरदान माग्ने र भर मान्ने सङ्ख्या बढ्दै छ । शक्ति, भक्ति र आस्थाको केन्द्र खार्पुनाथ बन्दै छ ।