• १४ फागुन २०८२, बिहिबार

सदाचार नीति सुशासनको आधार

blog

मुलुकको दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारभूमि भनेको त्यस देशमा बसोबास गर्ने आमनागरिकको उच्च नैतिक चरित्र, राष्ट्रप्रेम, सकारात्मक सोच, शिष्टाचार, सद्व्यवहार र सदाचार हो । नेपाललाई समृद्ध र प्रत्येक नेपालीलाई सुखी बनाउन दीर्घकालीन राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने शक्तिशाली औजार सदाचार पद्धतिको निर्माण, यसको सशक्त प्रयोग र निरन्तर अभ्यास हो । विगत केही वर्ष यता नेपालको राजनीतिक क्षेत्र, कूटनीतिक क्षेत्र, सार्वजनिक प्रशासन, निजी क्षेत्र, सहकारी क्षेत्र, वित्तीय संस्था, नागरिक समाजलगायत समग्र अङ्गमा पलाएको नैतिक ह्रास र बेतिथि हामीले स्वीकार गर्नु पर्छ । कुनै पनि राष्ट्रको समृद्धि मुलुकको भौतिक पूर्वाधार निर्माणको विकास, विस्तार, वृद्धि र सुदृढीकरणमा मात्र निर्भर रहँदैन । विकासको वास्तविक मानक वा सूचकाङ्क देशको सार्वजनिक प्रशासनको निष्पक्षता, पारदर्शिता, जवाफदेहिता एवं स्वच्छता र नागरिकले राज्यका सम्बद्ध संयन्त्रहरूप्रति कति विश्वास गर्छन्, यसमा सरोकार राख्छ । 

नेपालको संविधानमा उल्लिखित समावेशी लोकतन्त्र, धर्मनिरपेक्ष र समाजवाद उन्मुख अर्थतन्त्रको सर्वोच्च अवरोधक नीतिगत भ्रष्टाचार, आर्थिक विचलन, अनियमितता र नैतिक स्खलन देखिएको छ । यसै विषम परिस्थितिको सफल अवतरणको मार्गचित्र प्रतिविम्बित गर्न र सार्वजनिक जीवनका सबै क्षेत्रमा शुद्धीकरण ल्याइ मुहान नै स्वच्छ र स्वस्थ बनाउनु पर्छ । नेपालको शताब्दीभन्दा लामो इतिहास बोकेको धरोहर गोरखापत्र राष्ट्रिय दैनिकमा पनि प्रकाशित हुँदै आएको छ – ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत’ अर्थात् ‘सबै सुखी होऊन्, सबै रोगमुक्त (स्वस्थ) रहून्, सबैले कल्याण (शुभ) देखून् र कसैले पनि दुःख भोग्न नपरोस्’ । विश्वकल्याण र सबैको सुखको वन्दना गरिएको यस वैदिक महामन्त्रले परिकल्पना गरिएको सदाचार पद्धति आत्मसात् गर्दै सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको विषयगत स्थायी समितिमध्ये विकास, आर्थिक मामिला तथा सुशासन समितिले सङ्घ, प्रदेश तथा स्थानीय तह र सरोकारवाला विज्ञसँग सघन कार्यशाला, गोष्ठी, अन्तव्रिर्mया एवं छलफल गरी शासकीय सुधार तथा सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको विस्तृत मसौदा तयार गरी सभामा प्रस्तुत गरेको छ । यो नीति प्रशासनिक औपचारिकता पूरा गर्ने मनसायले मात्र ल्याएको नभई समृद्ध नेपाल निर्माणको नैतिक जग र सार्वजनिक प्रशासन, सहकारी, वित्तीय संस्था, निजी र गैरसरकारी क्षेत्रलाई एकीकृत नैतिक कसीमा राख्ने र भ्रष्टाचारको मुहान नै सङ्लो बनाउने दूरगामी कदम हो । समितिद्वारा प्रस्तुत गरिएको मसौदा नीतिमा सदाचार एवम् दिगो सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि निदानात्मक र प्रवर्धनात्मक उपचार पद्धतितर्फ जोड दिएको देखिन्छ ।

संवैधानिक र कानुनी आधार

नेपालले भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धि र वित्तीय कार्यदलका मापदण्ड पालना गर्ने प्रतिबद्धता जनाएको छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख बढाउनुका साथै वैदेशिक लगानी भित्र्याउन सहज वातावरण निर्माण गर्छ । नेपाल भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्षधर राष्ट्र हो । यस नाताले पनि नेपालले आफ्नो आन्तरिक कानुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सदाचारयुक्त बनाउनु पर्छ । प्रस्तावित राष्ट्रिय सदाचार नीतिले यी अन्तर्राष्ट्रिय मापदण्डलाई आत्मसात् गरेको देखिन्छ । सदाचार र सुशासन प्रवर्धनका लागि कानुन विद्यमान रहँदारहँदै पनि विभिन्न प्रयोग अभ्यास अन्तर्राष्ट्रिय मूल्यमान्यताका आदर्श मर्म साक्षात्कार गर्दै सदाचार नीतिको आवश्यकता देखिएको हो । 

नेपालको संविधानमा राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी राज्यका नीतिअन्तर्गत सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने उल्लेख छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनले सार्वजनिक पदाधिकारीको जिम्मेवारी र उत्तरदायित्व तोकेको छ । प्रस्तावित नीतिको क्रियान्वयनपश्चात् ऐनलाई थप प्रभावकारी बनाउन मद्दत गर्छ । भ्रष्टाचार निवारण ऐनले आर्थिक अपराधलाई दण्डनीय बनाएको छ । प्रस्तावित मसौदा नीतिले भ्रष्टाचार हुनुपूर्व नैतिक चरित्रको नियमन गर्ने लक्ष्य राखी सूचनाको हकसम्बन्धी ऐन थप प्रभावकारी हुन मार्गप्रशस्त गर्छ ।

यस आलेखमा राष्ट्रिय सदाचार नीति (मसौदा) मा अभिव्यक्त सोच, ध्येय, लक्ष्य र उद्देश्य, मूलभूत मान्यता, मार्गदर्शक सिद्धान्त तथा आधार, नीति र रणनीतिबारे सङ्क्षेपमा उल्लेख गरिएको छ । यस नीतिको महìवपूर्ण अङ्गका रूपमा रहेको क्षेत्रगत रणनीतिहरू, जुन विभिन्न निकाय र क्षेत्रका जिम्मेवार पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने सदाचार पद्धतिका सम्बन्धमा यथासम्भव विवेचना गरिएको छ ।

उद्देश्य, नीति र रणनीति 

राष्ट्रिय सदाचार नीति (मसौदा) को दीर्घकालीन सोच समाजका सबै क्षेत्रमा सदाचार कायम गर्दै सुशासन प्रवर्धन गर्ने रहेको छ । ध्येय इमानदार एवं सकारात्मक नागरिक, सदाचारयुक्त समाज निर्माणमा जोड दिइएको छ । लक्ष्यभित्र सदाचारयुक्त पद्धति संस्थागत गर्दै सभ्य समाज निर्माण गर्ने र सदाचार जीवन पद्धतिको अभिन्न अङ्ग बनाउने राखिएको छ । मसौदामा चार वटा उद्देश्य राखिएको छ । समाजका सबै क्षेत्रमा इमानदारी र सदाचार कायम गर्दै निष्ठा एवं सुशासन प्रवर्धन गर्नु, सदाचारयुक्त पद्धति अवलम्बन गर्दै सुसंस्कृत समाज निर्माण गर्नु, सदाचारसम्बन्धी अध्ययन, अनुसन्धान र नियमन गर्ने संस्थागत व्यवस्था गर्नु र सदाचारका नियम कार्यान्वयन, अनुगमन र स्वःनियमन पद्धतिको व्यवस्था गर्नेसहित नीतिका चार वटा उद्देश्य रहेको छ । ती उद्देश्य प्राप्तिका लागि नौ वटा नीति र पैतीस वटा रणनीति उल्लेख गरिएका छन् ।

मूलभूत मान्यता

स्वतन्त्रता, सक्रियता, व्यावसायिकता, रचनात्मकता एवं उत्कृष्टता, मानव मर्यादा, नागरिक सहभागिता, राष्ट्रभक्ति, निष्ठा र सकारात्मकता मसौदा राष्ट्रिय सदाचार नीतिका मूलभूत मूल्य, प्रतिबद्धता एवं मान्यता उल्लेख गरिएको छ । देशको संविधान, कानुन र पेसागत मूल्यमान्यताको पालना, सेवा नै धर्म हो भन्ने मूल मन्त्रको अवलम्बन र कर्तव्यपरायण, स्वःजागरण, स्वःनियमन, स्वःमूल्याङ्कन तथा राष्ट्रिय हित र स्वार्थ सर्वोपरि महत्व, पारदर्शिता तथा जवाफदेहिताका साथ समयमा निर्णय र कार्यसम्पादन, सार्वजनिक सेवामा पहुँच, गुणस्तरीयता र समन्यायिक र जीवन पद्धतिमा मानवीय मूल्यको आत्मसात् राष्ट्रिय सदाचार नीतिका सिद्धान्त तथा आधार मसौदामा उल्लेख छ ।

क्षेत्रगत रणनीति

विधायिकाका पदाधिकारी/सदस्य एवं सार्वजनिक जिम्मेवारी पाएका व्यक्ति, शैक्षिक/प्राज्ञिक क्षेत्र, राजनीतिक दल, गैरसरकारी सङ्घ संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था, कूटनीतिक क्षेत्र, शैक्षिक÷प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, सञ्चार, सामाजिक सञ्जाल तथा सूचना प्रविधिको क्षेत्र, वित्तीय (बैङ्क, वित्तीय संस्था एवं सहकारी) क्षेत्र, धार्मिक तथा सामाजिक सङ्घ संस्था र विदेशी नागरिकलगायत क्षेत्रगत रणनीति अन्तर्गत सदाचार नीतिको मसौदा प्रस्ताव गरिएको छ ।

नीतिका पाँच स्तम्भ

पारदर्शिता र जवाफदेहिता : सबै क्षेत्रले आफ्ना निर्णय, कार्यपद्धति र आर्थिक कारोबारमा सार्वजनिक र स्पष्ट राख्नुपर्ने । स्वार्थको द्वन्द्व र सदाचार ः व्यक्तिगत लाभभन्दा सार्वजनिक हितलाई सर्वोपरि मान्ने र पदीय मर्यादा अनुकूल आचरण प्रदर्शन गर्ने । कानुनी र सांस्कृतिक सम्मान ः प्रचलित नीति, कानुन, मानव अधिकार र नेपालको मौलिक सभ्यता, संस्कृति एवं परम्परा जगेर्ना गर्ने । समावेशी र विभेदको अन्त्य : जात, जाति, धर्म, लिङ्ग वा आस्थाका आधारमा हुने विभेदलाई त्यागी समानता र सद्भावना अभिवृद्धि गर्ने । संस्थागत संस्कृति : हरेक सार्वजनिक निकायमा नैतिक अनुगमन संयन्त्र बनाउने र जिम्मेवार कार्यसंस्कृतिको विकास गर्ने । प्रस्तुत मसौदाले व्यक्तिको निजी जीवनदेखि सार्वजनिक ओहोदासम्म र स्थानीय तहदेखि अन्तर्राष्ट्रिय निकायसम्म एउटै नैतिक धरातलमा बाँध्ने प्रयास गरेको देखिन्छ ।

विद्यमान चुनौती

राष्ट्रिय सदाचार नीति जतिसुकै उत्कृष्ट भए पनि यसको प्रभावकारी कार्यान्वयनका क्रममा नैतिक एवं संस्कारजन्य समस्या, कानुनी छिद्र, दण्ड र पुरस्कारको अभाव, आर्थिक कारोबार पूर्णतः विद्युतीय माध्यम बनाउन नसक्दा यसमा थुप्रै तगारा उपस्थित हुन सक्छन् । नीतिगत भ्रष्टाचार, संरक्षणवादी राजनीति, राष्ट्रसेवक कर्मचारीतन्त्रमा ट्रेड युनियनको प्रभाव सदाचारका मापदण्ड पालना गराउन अवरोधक पनि हुन सक्छन् । 

भावी मार्गचित्र

सदाचार कुनै बाह्य शक्तिद्वारा लादिने विषय नभई यो मानवको भित्रैदेखि पलाउनुपर्ने चेतना हो । यसका लागि राज्यले स्पष्ट नीति तथा मापदण्ड निर्माण भएमा यसबाट असल पद्धतिको विकास हुन्छ र नेपालमा सुशासन स्थापनाका लागि शक्तिशाली कोसेढुङ्गा साबित हुन सक्छ । प्रस्तुत मसौदालाई दराजमा थन्क्याउनुको सट्टा अविलम्ब संसद्द्वारा पारित गरी कार्यान्वयनमा लैजानु पर्छ । यसका लागि राजनीतिक दलहरूबिच न्यूनतम साझा सहमति र नागरिक समाजको निरन्तर दबाब आवश्यक छ । जबसम्म देशमा आर्थिक सदाचार जीवनपद्धतिको रूपमा स्वीकार गरिँदैन, तबसम्म भौतिक विकासले मात्र जनतालाई वास्तविक सुख प्रदान गर्न सक्दैन । सदाचार नै सभ्यताको जग र आर्थिक स्वच्छता नै समृद्धिको इन्जिन हो । 

ठोस सुझाव

हरेक सरकारी कार्यालय र सार्वजनिक निकायमा वर्षको कम्तीमा एक पटक नैतिक सदाचार परीक्षण गर्ने, सार्वजनिक खरिद, राजस्व सङ्कलन र भुक्तानीमा कृत्रिम बुद्धिको उपयोग गरी अनियमितता पत्ता लगाउने, भ्रष्टाचार वा अनियमितताको सूचना दिने कर्मचारी वा नागरिकको सुरक्षाका लागि छुट्टै र बलियो कानुन निर्माण गर्ने, उच्चपदस्थ अधिकारीको सम्पत्ति विवरण केवल खामबन्दी नराखी आमनागरिकद्वारा हेर्न मिल्ने गरी पारदर्शिता कायम गरी सार्वजनिकीकरण गर्नेलगायत अन्य संयन्त्रको व्यवस्था गर्न उपयुक्त हुन्छ ।

निष्कर्ष

सदाचार र सुशासन एक सिक्काको दुई पाटा हुन् । सदाचार नीति नेपालको सार्वजनिक जीवन शुद्धीकरण गर्ने एउटा महत्वपूर्ण कोसेढुङ्गा हो । सदाचार कुनै बाह्य दबाबबाट होइन, भित्री हृदयदेखि नै पलाउनुपर्ने चेतना हो । राज्यले बनाएको कडा नीति र पद्धतिले त्यस चेतनालाई जागृत गराउन मद्दत गर्छ । सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त समाज, पारदर्शी प्रशासन र जवाफदेही नेतृत्व नै समृद्ध नेपालको आधार हो । सदाचार नीति पारित गरी अक्षरशः कार्यान्वयन भएमा नेपालले विकासको दौडमा एउटा नयाँ उचाइ हासिल गर्ने निश्चित छ । अतः नीति व्यक्तिगत र दलीय स्वार्थभन्दा उँचो गरी साझा राष्ट्रिय कार्यसूची (एजेन्डा) का रूपमा अघि बढाउनु पर्छ । आर्थिक सदाचार बिनाको विकास बालुवामा खन्याएको पानी जस्तै हो, जसले केही समयका लागि जमिन भिजाए पनि दिगो फल दिँदैन । यो नीति लागु हुँदा राज्यका निकायप्रतिको जनविश्वास बढ्ने, वैदेशिक लगानी भित्रिने, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने र नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सगौरव शिर ठाडो पार्न सक्ने छ । भ्रष्टाचारमुक्त नेपाल बनाउन नीति नै मात्र पर्याप्त होइन, प्रत्येक नागरिकमा म भ्रष्टाचार गर्दिनँ, भ्रष्टलाई सहन्नँ र भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्दछु भन्ने दृढ चट्टानी सङ्कल्पको खाँचो छ । 

सदाचार नै सभ्यताको जग हो र सुशासन नै समृद्धिको ढोका हो । सरकारी कार्यालयमा हुने ढिलासुस्ती र विविध भेषधारी रूप, आकार र प्रकृतिका चलखेलको अन्त्य भई सेवाग्राहीले बिना झन्झट सरल, सहज र गुणस्तरीय सेवा सुविधा प्राप्त गर्न सक्छन् । पूर्वाधार विकास निर्माण आयोजना निर्धारित समयमा नै सम्पन्न भई गुणस्तरीयपन देखिने छ । प्रस्तावित राष्ट्रिय सदाचार नीतिले समाजका हरेक तप्कालाई नैतिक जिम्मेवारी र जवाफदेहीपनको घेराभित्र ल्याउने प्रयास गरेको छ । सार्वजनिक पदधारण गरेका उच्च पदाधिकारीदेखि निजी क्षेत्र र आमनागरिकसम्मले आफ्नो आचरणमा सुधार ल्याउनु नै समृद्ध नेपालको प्रस्थानविन्दु हो । राष्ट्रिय सदाचार मसौदा नीति कागजमा मात्र सीमित नभई प्रभावकारी कार्यान्वयन हुन सकेमा दिगो सुशासनको परिकल्पना साकार हुने छ ।