नपत्याउने गरी हाम्रा राहदानी हराए । बाटोमा या अन्यत्र कतै हराएका भए आफ्नै गल्तीले हराएका हुन् भनेर मन बुझाउँथेँ तर यस्तो ठाउँमा हराए जुन ठाउँमा हराउने कुरा कल्पनासम्म गर्न पनि सकिँदैन ।
पहिलो पाँच वर्षको अमेरिकी भिसा सकिएपछि दोस्रो चरणको भिसाका लागि अनलाइन फारम भरेर बैङ्कमा दस्तुर बुझाएको भौचरसँगै दुवै थान राहदानी काठमाडौँको दरबारमार्गमा रहेको इन्भेस्टमेन्ट
बैङ्कमार्फत अमेरिकी दूतावासमा पठाएका थियौँ । बढीमा तीन दिनभित्र भिसा लागेर आउनुपर्ने नियम थियो तर हाम्रा राहदानी सात दिनसम्म पनि आएनन् ! कु¥यौँ, अर्को सातासम्म पनि आएनन् ।
दुई÷तीनचोटि बैङ्कमा गएर सोधेँ । राहदानी काउन्टरमा बस्ने कर्मचारी टिमुर्केका रहेछन्, सधैँ रुखो जवाफ दिए, “हामीकहाँ आएको छैन । अरू कुरा हामीलाई थाहा हुँदैन ।”
मन झन् झन् अशान्त हुँदै गयो ।
अर्को एक साता पर्खें, तैपनि राहदनी आएनन् । एक महिना पुग्न थाल्यो तैपनि राहदानीको अत्तोपत्तो भएन । त्रिपुरेश्वरमा ‘५२ धक्का ५३ ठक्कर’ खाएर र सरकारलाई अतिरिक्त रकम बुझाएर (किनकि पाँच हजार रुपियाँ तिर्नेको राहदानी एक÷डेड महिनापछि आउने र थप पाँच हजार रुपियाँ तिरेमा बढीमा साता दिनभित्रै आउने चलन जो थियो) बनाएको राहदानी हराउँदा मन अशान्त हुनु स्वाभाविकै थियो । उता अमेरिकाबाट छोराहरूले दैनिकै फोन गरेर हैरान पारेका थिए । उनीहरूलाई के जवाफ दिनु, वाक्क भइसकेको थिएँ ।
झन्डै एक महिना कटेपछि बाध्य भएर अमेरिकी दूतावासमा फोन गरेँ, “लौन हजुर, हाम्रा राहदानी हराए, खोजी पाऊँ ।”
दूतावास अमेरिकी भए पनि फोन उठाउने व्यक्ति नेपाली नै थिए, नेपालीमै बोले । सबै विवरण सोधे । मैले भएको व्यहोरा रिठ्ठो नबिराइ सुनाएँ । उनले भने, “के भएको रहेछ, म बुझेर फोन गर्छु ।”
आशा गर्नुबाहेक मसँग अर्को उपाए थिएन । फोन राखेँ र लामो सास फेरेँ ।
झन्डै १५÷२० मिनेटपछि फोनको घन्टी बज्यो । उठाएँ, फोन गर्ने व्यक्ति उनै थिए । उनले भने, “तपाईंहरूको पासपोर्ट यहीँ छ ।”
उनको कुरा सुनेपछि मैले लामो सास फेरेँ । ‘धन्यवाद’ भन्न पनि भ्याइनँ । उनै बोले, “तपाईं कहाँ बस्नुहुन्छ ?”
“भक्तपुरको गट्ठाघरमा,” सङ्क्षिप्त उत्तर दिएँ ।
“भोलि यहाँ आउन सक्नुहुन्छ ?”
“किन नआउनु, आइहाल्छु नि ! बरु
कतिबेला आऊँ ?”
“दिउँसो २ बजे आउनुहोला ।”
“म्याडमलाई पनि ल्याउनु पर्छ कि ।”
“पर्दैन, तपाईं मात्रै आउँदा हुन्छ ।”
सबै कथा मीनालाई सुनाएँ । राहदानी हराएको छैन भनेपछि उनी पनि शान्त भइन् ।
अर्को दिन २ बज्न १० मिनेट बाँकी छँदै दूतावासको गेटमा पुगेँ । मूल गेटबाटै सोधीखोजी सुरु भयो । दुई तह भित्र पसेपछि शरीरमा भएका मोबाइल, घडी, पर्स, पेटी, कलमलगायत सबै सामान काउन्टरमा बुझाउन लगाए र भित्र पठाए । पहिलोचोटि भिसा लगाउन जाँदा पनि त्यसै गरेका थिए । अहिले उही व्रmम दोहोरियो ।
केही समय हिँडेपछि ठुलो हलमा पुगेँ । हलको ढोकामा बसेका सुरक्षाकर्मीले पुनः केरकार गरे । आफ्नो नाम बताएँ । उनले आफूले समातेको कागज हेरे अनि टाउको हल्लाउँदै भित्र पस्न दिए । भित्र भएका अर्का सुरक्षाकर्मीले एउटा कुर्सीमा बस्ने आदेश जारी गरे ।
म त्यहाँ पुग्दा अमेरिकी भिसाका लागि अन्तर्वार्ता दिनेहरूको घुइँचो थियो । कोही म जस्तै कुर्सीमा बसेका थिए भने कोही नजिकै रहेको झ्यालमा उभिएर अन्तर्वार्ता दिँदै थिए । त्यसरी अन्तर्वार्ता दिनेहरू कोही खुसी हुँदै बाहिर निस्किँदै थिए भने कोही अमिलो चुक जस्तो अनुहार बनाएर बाहिरिँदै थिए ।
मलाई किन यहाँ ल्याए भन्नेबारे म अनभिज्ञ थिएँ । ट्वाल्ल परेर बसिरहेको थिएँ, त्यस्तैमा माइकबाट मेरो नाम उच्चारण भयो । म झटपट निर्धारित झ्यालनिर गएँ । भित्र एक जना पुरुष थिए, उनलाई नमस्कार गरेँ । उनले भने, “एकैछिन पख्नु ल ।”
आदेशको पालना गरेर उभिइरहेँ । एक मिनेट पनि भएको थिएन, एउटी २५ देखि ३० वर्ष उमेरकी जस्ती युवती आइन् । उनी अमेरिकी नागरिक हुन् भन्ने कुरा उनको अनुहारले बताउँथ्यो । उनलाई देखेपछि उनलाई पनि नमस्कार गरेँ ।
उनले अङ्ग्रेजीमा भनिन्, “अङ्ग्रेजी भाषामा कुरा गर्न सक्नुहुन्छ ?”
मैले नेपालीमै भने, “नेपाली भाषामा बोल्छु ।”
त्यसपछि नजिकै उभिएका पुरुषले मैले गरेको कुरालाई अङ्ग्रेजीमा अनुवाद गरेर युवतीलाई सुनाउन र उनले अङ्ग्रेजी भाषामा बोलेका कुरा नेपाली भाषामा अनुवाद गरेर मलाई सुनाउन थाले । मेरो कुरा सुनेपछि उनी मुस्कुराइन् र मलाई सोधिन्, “यहाँ किन आउनुभएको हो ?”
मैले उही राहदानी हराएको र खोज्दै जाँदा यहाँसम्म आइपुगेको कथा सुनाएँ । मेरो कुरा सुनेपछि उनी पुनः मुस्कुराइन् । मेरो अनुहारतिर हेर्दै सोधिन्, “अमेरिका कति पटक जानुभयो ?”
मैले भने, “यसपूर्व तीन पटक गइसकेको छु ।”
उनले फेरि सोधिन्, “तपाईंको अमेरिकाको यात्रा कस्तो भइरहेको छ ?”
उनले यस्तो प्रश्न सोधेपछि मलाई सन् २०१६ मार्च २५ अर्थात् विसं २०७२ चैत १२ गतेका दिन अमेरिकाको मिनियापोलिस एयरपोर्टबाट अमेरिका छिर्ने व्रmममा इमिग्रेसनमा घटेको एउटा दुःखद घटनाको सम्झना भयो । त्यसबेला मीना र म तेस्रो पटक अमेरिका जाँदै थियौँ । त्यसबेलासम्म हामी नेपालबाट दाल, मसला, बेसार, चाउचाउलगायतका खाद्य सामग्री लैजान्थ्यौँ । एयरपोर्टमा कुनै समस्या हुँदैनथ्यो । नेपालबाट लगेको दाल र मसला आफू बस्दासम्म खान पुग्थ्यो ।
यसचोटिको यात्रामा पनि हामीले दाल, मसला, बेसार तथा दुई कार्टुन वाई वाई चाउचाउसमेत लगेका थियौँ । जहाजबाट बाहिर निस्किएपछि सिधै इमिग्रेसनमा गयौँ । लामो लाइन थियो । केही समयपछि हाम्रो पालो आयो । पासपोर्ट देखायौँ । सामान्य अन्तर्वार्तापछि भित्र छिर्न दिए । अब अमेरिका छिरियो भन्ने लागेको थियो । लगेज निस्किने ठाउँमा पुगी आफ्ना लगेज ट्रलीमा राखेर बाहिर निस्किँदै थियौँ, त्यस्तैमा चार जना पुलिसले हामीलाई घेरे । अचम्म लाग्यो, यसअघि यस्तो कहिल्यै भएको थिएन । उनीहरूले हामीलाई अर्को काउन्टरतिर जान भने । ट्रली गुडाउँदै उनले भनेको ठाउँतिर गएँ । त्यहाँ पुग्दा उनका हातमा अघि मैले भरेको सानो फारम थियो । त्यस फारममा कुनै हातहतियार, लागुपदार्थ, मासुजन्य खानेकुरा आदि ल्याए÷नल्याएको भनी टिक लगाउनुपथ्र्यो । मैले मासुजन्य कुरा नल्याएको भनी टिक लगाएको थिएँ । मलाई लाग्छ, मैले खाद्यान्न पनि नल्याएको भनी टिक लगाएको रहेँछु कि भन्ने पनि लाग्यो । त्यसपछि उनीहरूले हाम्रा लगेज खोल्न लगाए । खोलेँ । त्यहाँ भएको दाल, मसला, बेसारलगायतका सबै सामान डस्टबिनमा फालिदिए । पछि चाउचाउ हेरे । त्यसमा चिकन चाउचाउ लेखिएको थियो । त्यो देखेपछि उनले सोधे, “यो के हो ? चिकेन भनेको मासु होइन ?”
एकैछिन गलफत्ती भयो । मैले अनभिज्ञता जाहेर गरेँ तर उनीहरूले मानेनन्, बरु भने, “यु आर भेरी क्लेभर ।” मलाई के कुरामा क्लेभर भएको हुँ, थाहा नै भएन ।म केही बोलिनँ । उनीहरूले चिकेन चाउचाउका कार्टुन टेबुलमाथि राखे र मतिर हेर्दै भने, “यो सबै अमेरिकी कानुनविपरीतको कार्य हो । अब तिमीसँग तीन वटा विकल्प छन् । या त तिमी तीन सय डलर जरिबाना तिर, तिर्दिन भन्छौ भने तिम्रै देशमा फर्क । होइन दुवै काम गर्दैनौ र जबरजस्ती गर्छौ भने हामी तिमीलाई अमेरिकी कानुन अनुसार गिरफ्तार गर्छौं र मुद्दा चलाउँछौँ ।”
परेन त फसाद ! जेल जानु र घर फर्किनु सजिलो काम थिएन । तीन सय डलर तिर्नुबाहेक मसँग अर्को उपाय भएन । तैपनि मानिहाल्छन् कि भनेर तरकारी किन्दा किच किच गरे जस्तो घटाउनलाई ल्याङल्याङ गर्न थालेँ । जति अनुरोध गरे पनि एक पैसा घटाएनन् । बाध्य भएर खल्तीबाट सय सयका तिनोटा कटकदार हरिया डलर झिकेर दिएँ । मन कटक्क खायो ।
मीना नजिकै उभिएर उनीहरूलाई आँखा तर्दै थिइन् । हात समाएर त्यसो नगर्न भनेँ । मनमनै त्यहाँ तिरेको डलरलाई नेपाली रुपियाँमा बदलेँ । त्यो बेलाको झन्डै ४०÷४५ हजार रुपियाँ थियो ! मन अमिलो भयो । सुकेको मुखमा अलिकति थुक निकालेर निलेँ र लामो सास फेरेँ । उनीहरूले तीन सय डलरको रसिद दिए । अरू सामान पहिले नै फालिसकेका थिए, चाउचाउका दुइटै कार्टुन पनि डस्टबिनमा हाले र ‘अबदेखि यस्तो गैरकानुनी काम गर्ने छैन, गरेमा अमेरिकी कानुनबमोजिम सजाय भोग्न तयार छु’ भन्ने बेहोराको कागजमा सही गराएर छाडिदिए ।
हामी तल झ¥यौँ । छोरा पवन भण्डारी ‘किरण’ र अमेरिकी साथी माइक डेली हामीलाई लिन आइरहेका रहेछन् । छोराले ढिलो निस्किनुको कारण सोध्यो । मैले सबै घटना विवरण सुनाएँ । मेरो कुरा सुनेपछि माइकले पनि मन दुखाए । कोकसलाई फोन पनि गरे तर पार लागेन । त्यसपछि हामी मलिन अनुहार बनाउँदै घरतिर लागेथ्यौँ । मेरो अन्तर्वार्ता लिँदै गरेकी युवतीको ‘अमेरिकाको यात्रा कस्तो भइरहेको छ ?’ भन्ने प्रश्न सुन्नासाथ मैले ‘त्यही घटनाका कारण मेरो भिसा आउन ढिला भएको हो कि’ भन्ने अनुमान लगाएथेँ । मलाई लाग्यो– त्यस दिनको घटना विवरण उनीहरूले सिस्टममा राखेको हुनु पर्छ । त्यसपछि मैले विगतको सबै घटना विवरण रिट्ठो नबिराई उनलाई सुनाएँ । उनले कानले मेरो कुरा सुन्दै थिइन् तर उनका आँखा भने कम्प्युटरको स्व्रिmनमा गडेका थिए । “त्यो काम अमेरिकी कानुनविपरीत थियो भन्ने कुरा तपाईंलाई थाहा थिएन ?”
“थियो तर चिकेन चाउचाउप्रति मेरो ध्यान पुगेन,” मैले मौखिक स्पष्टीकरण दिएँ । उनले स्व्रिmनबाट ध्यान हटाइन् र पुनः मेरो अनुहारमा हेरिन् । मैले सहज रूपमा उनलाई हेरेँ । त्यसपछि उनले भनिन्, “ल ठिक छ, हामी भोलि तपाईंको पासपोर्ट बैङ्कमा पठाइदिन्छौँ,
उहीँबाट लिनुहोला ।”
त्यसपछि मैले लामो सास फेरेँ र उनलाई धन्यवाद दिँदै बाहिर निस्किएँ । महाराजगन्जबाट घुम्दै घर आइपुग्दा बेलुकीको पाँच बजिसकेको थियो । घर आएर टुसुक्क बसेको मात्रै थिएँ, मोबाइलमा म्यासेज आएको सङ्केत बज्यो । हेरेँ, त्यसमा लेखिएको थियो, “कलेक्ट योर पासपोर्ट ।” अर्को दिन बैङ्कमा गएर दुवै राहदानी बुझेँ । तिनमा अर्को पाँच वर्षको भिसा लागेको थियो । अब त चाउचाउको समस्या समाधान भयो होला भन्ने लागेको थियो तर चाउचाउले अझै पिछा
छाडेको रहेनछ ।
नयाँ भिसा लागेको केही समयपछि हामी पुनः अमेरिका गयौँ । यसचोटि अमेरिका प्रवेश गर्ने एयरपोर्ट थियो फिलाडेल्फिया । जहाजबाट बाहिर निस्केर इमिग्रेसन काउन्टरमा गयौँ । त्यहाँको नियम अलि फरक रहेछ, काउन्टरमा जानुपूर्व त्यहाँ रहेका मेसिनमा पासपोर्ट देखाउने र मेसिनबाट निस्किएको कागज लिएर काउन्टरमा जानुपर्ने । एक जना भारतीय महिला यात्रुको सहयोगमा मीना र मेरो पासपोर्ट मेसिनमा हालेँ । मेसिनबाट अलग अलग कागज बाहिर आए । ती कागजमध्ये मीनाको कागज राम्रो थियो तर मेरो कागजको एउटा कुनामा भने इन्टु (×) चिह्न लागेको थियो । त्यो देखेपछि मेरो मनमा अर्को तुस पस्यो, “अब के हुने होला ?”
त्यस्तै भयो । काउन्टरमा पुगेर पासपोर्ट देखाउनासाथ काउन्टरमा बसेका कर्मचारीले मेरो अनुहारमा गडेर हेरे । त्यसपछि मेरो पासपोर्ट अर्को एक जना कर्मचारीका हातमा दिँदै उनका कानमा कुन्नि के भने । मेरो पासपोर्ट समाएका कर्मचारीले हामीलाई आफूसँगै बोलाए । हामी दुवै जना उनको पछि पछि लाग्यौँ । उनले हामीलाई हाम्रा सामान भएका ठाउँमा लगे । हाम्रा सामानले हामीलाई कुरेर बसेका थिए । त्यहाँ पुगेपछि उनले सोधे, “तिम्रा लगेज कुन कुन हुन्, देखाऊ ।”
मैले चार वटा ब्याग एकैठाउँमा जम्मा गरेँ र भनेँ, “यिनै हुन् मेरा लगेज ।” लगेज हेर्दै उनले सोधे, “यी लगेजमा के के छ ? अमेरिकी कानुनबमोजिम ल्याउन नमिल्ने सामान त छैन नि ?”अघिल्लो यात्रामा तिरेको तीन सय डलर आँखैअगाडि नाचिरहेका थिए । त्यसैले यसचोटिको यात्रामा हामीले त्यस्तो कुनै पनि चिज लगेका थिएनौँ । त्यसैले मैले निर्धक्कसाथ भने, “त्यस्तो केही छैन ।” उनले फेरि भने, “यदि तिमीले त्यस्तो सामान ल्याएको पाइयो भने तिमीलाई पाँच हजार डलरसम्म जरिबाना हुन सक्छ र तिमीलाई यहीँबाट तिम्रो देशमा फिर्ता पठाउन पनि सकिन्छ ।”
मैले भनेँ, “त्यस्तो केही छैन ।” पटक पटक मलाई सतर्क गराएपछि उनले मलाई मेरा लगेज जाँच्ने मिसिनमा राख्न लगाए । राखेँ । त्यस समयमा म एमफिलको पढाइ गरिरहेको थिएँ । हाम्रा चार वटा लगेजमध्ये एउटा लगेजभरि किताब थिए । हाम्रा लगेजको फोटो देखेपछि ती व्यक्तिले लामो सास फेरे र अनुहार हँसिलो बनाए । त्यसपछि उनले भने, “तिमीलाई धन्यवाद छ । तिम्रो कारणले मैले तिमीलाई कुनै जरिबाना गर्नु परेन ।” उनको अभिव्यक्ति सुनेपछि मैले अनुमान लगाएँ । उनी सकारात्मक सोच भएका व्यक्ति रहेछन् । त्यसपछि उनले किताबका बारेमा सोधे । मैले भनेँ, “म विद्यार्थी हुँ । पढ्नका लागि ल्याएका किताब हुन् ।”
उनले मसँग झन् सम्मानजनक व्यवहार गरे । ‘धन्यवाद’ भन्दै पासपोर्ट पनि हातमा दिए । मैले पनि धन्यवाद भन्दै लामो सास फेरेँ र अगाडि बढ्यौँ ।
त्यस घटनाले मलाई नयाँ पाठ सिकायो । विदेशको यात्रा कति संवेदनशील हुँदो रहेछ भन्ने कुरा पनि जानकारी भयो । विदेशीहरू कसैले गरेका गल्तीको अभिलेख कसरी राख्छन् र देशको कानुन कार्यान्वयन गराउन कति सतर्क हुन्छन् भन्ने कुरा नजिकबाट हेर्ने अवसर पाएँ । नेपाली पासपोर्ट यसै त अन्य देशको तुलनामा कमजोर मानिन्छ, त्यसमा पनि हामीले गल्ती ग¥यौँ भने दुःख पाइदो रहेछ भन्ने अनुभूत भयो मलाई । यसपछि कुनै पनि देशको यात्रा गर्दा यस्ता सानातिना कुरामा निकै सतर्क हुने गरेको छु ।