• ६ जेठ २०८१, आइतबार

महिलालाई व्यावसायिक बनाउँदै गल्याङ नगरपालिका

blog

महिलाहरुलाई बाख्रा प्रदान गर्नुहुँदै नगरप्रमुख गुरुप्रसाद भट्टराई ।

राधाकृष्ण डुम्रे 

वालिङ, वैशाख २६ गते । गल्याङ नगरपालिकाले महिलाहरूलाई व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सुरु गरेको छ । पालिकामा रहेका विपन्न, सीमान्तकृत तथा पछाडि परेका महिलाहरूलाई व्यावसायिक बनाउन योजनाबद्ध रूपमा काम गर्न सुरु गरिएको नगरप्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो । 

पालिकाले हेफर प्रोजेक्ट नेपालसँग सहकार्य गरेर सञ्चालन गरेको ‘गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना’ मार्फत महिला र युवालाई उत्पादनमा जोड्ने काम गरिरहेको प्रमुख भट्टराईको भनाइ छ । 

‘भोकालाई एक छाक भोजन होइन ,जीवन जिउने जुक्ति सिकाऔँ’ भन्ने मूल मन्त्रका साथ उत्पादनमा जोड्ने काम हुँदै आएको प्रमुख भट्टराईले बताउनुभयो । पालिकाले दुई सय परिवारलाई बाख्रा प्रदान गरेको छ भने समूहगत रूपमा ५६ वटा बीउ बोका प्रदान गरेको हो । महिलालाई व्यावसायिक बनाउन यो अभियान चालिएको पालिकाले जनाएको छ ।

महिला र पछाडि परेको समूहलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममार्फत ४४ महिला समूह र छ वटा युवा समूह गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनभयो । जसमा एक हजार चार सय महिला प्रत्यक्ष सहभागी रहेका उहाँको भनाइ छ । 

विपन्न घरपरिवारलाई आर्थिक अवस्थामा समृद्ध गराउने, महिलाहरूलाई सशक्तीकरण गर्ने,कृषि र पशु उपजलाई बजारीकरण गर्ने कार्यक्रमको लक्ष्य रहेको पालिकाले जनाएको छ । कार्यक्रममार्फत विदेशबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउने र स्थानीय उत्पादनहरू लाई बजारीकरण गर्ने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

गल्याङ नगरपालिका का ११ वटै वडाहरूमा परियोजना मार्फत काम भइरहेको उहाँको भनाइ छ ।