• १२ साउन २०८१, शनिबार

राष्ट्रपतिबाट रमजानको शुभकामना अशक्तहरूलाई दान गर्ने प्रचलन प्रशंसनीय

blog

काठमाडौं, वैशाख ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली ईस्लाम समुदायले देशभक्तिको भावनाबाट ओतप्रोत भई सामाजिक सद्भाव र राष्ट्रिय दायित्व वहन गर्दै आएको बताउनु भएको छ । 

नेपाल मुस्लिम आयोगले रोजा रमजानको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रमजानको अवसरमा शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । 

ईस्लाम धर्मावलम्बीहरूले मनाउने रमजान पर्व सुरु भएको छ । ईस्लाम समुदायमा सामाजिक उत्तरदायित्वलाई पवित्र भावनाले ग्रहण गर्ने परम्परा विद्यमान छ । राष्ट्रपतिले समाजमा रहेका अशक्तहरूलाई दान गर्ने प्रचलन र आफ्नो सम्पत्तिको केही भाग परोपकार तथा शिक्षाको विकासमा लगाउने कार्य प्रशंसनीय छ भन्नुभयो । 

रमजानका दिनमा अनुशासनपूर्वक राखिने रोजाले समेत यस समुदायलाई असल कार्यका लागि सधैं उत्प्रेरित गरिरहेको विश्वास व्यक्त गर्दै उहाँले नेपालको संविधानमा सबै धर्म, समुदाय, क्षेत्रको समान विकास, पहुँच एवम् हककोे व्यवस्था गरिएको उल्लेख गर्नुभयो । यस समुदायले व्यापार व्यवसायका क्षेत्रबाट अर्थतन्त्रलाई सुदृढ तुल्याउन गरेको योगदानको राष्ट्रपतिले सराहना पनि गर्नुभयो ।