• ४ वैशाख २०८३, शुक्रबार

१८ जना एकल वृद्धा आमा सम्मानित

blog

एकल आमाहरूलाई सम्मान गरिँदै । तस्बिर :टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), वैशाख ५ गते ।गुल्मीको रेसुङ्गा नगरपालिका–२ को मावन अधिकारका लागि महिला एकल महिला समुहले एकल वृद्धा आमालाई सम्मान गरेको छ ।

समुहले आफूहरूले स्वतस्फुर्त रुपमा पैसा उठाएर वडाका १८ जना आमालाई सम्मान गरेको महिला एकल महिला समुह रेसुङ्गा नगर कार्यसमिति अध्यक्ष गंगा थापाले जानकारी दिनुभयो । 

वडा नं २ मा २६ जना एकल महिलाहरू आवद्ध भएर समुह निर्माण गरेका छन् ।मातातीर्थ औँसी तथा आमाको मुख हेर्ने दिनको अवसरमा वडाभित्र ७० बर्ष पुगेका एकल आमालाई सम्मान गरिएको थापाले बताउनुभयो । 

एकल आमालाई रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवि कुवँरले सम्मान गर्नुभयो ।सोही अवसरमा बोल्दै कुँवरले एकल आमाहरूलाई सम्मान गर्ने र उमेर भएका दिदीबहिनीलाई आर्थिक रुपमा सबलीकरण गर्न आफूहरूले पनि विभिन्न समन्वय र योजना बनाएको बताउनुभयो । 

उहाँले एकल महिलाहरू पनि एकल पुरुष सरह नै क्षमतावान भएकाले महिलालाई कम्जोर देख्ने समाजिक मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

 रेसुङ्गा नगरपालिका-२ का वडाध्यक्ष हीरा बहादुर थापाले एकल महिला समुहको सृजनशील कामको प्रशंसा गर्दै आफूहरू जनप्रतिनिधिको तर्फबाट पाँच हजार रुपियाँ सहयोगको घोषणा गर्नुभयो ।

उहाँले आफले सहयोग उठाएर ७० वर्ष माथिका एकल आमाहरूलाई समुहले देखाएको सम्मानले निकै खुसी दिलाएको बताउनुभयो । महिला एकल महिला समुह गुल्मीको अध्यक्ष अमृता थापा जिसीले एकल महिलालाई आवद्ध गर्ने, सङ्गठन निर्माण गर्ने, पुनर्गठन र सम्मान तथा सवलीकरणको अभियानमा आफूहरू रहेको बताउनुभयो । 

श्रीमानको मृत्युपछि सति जाने अवस्थाबाट आजको अवस्थामा धेरै परिवर्तन भएपनि आर्थिक अवस्था मजबुत नभएका एकल महिलाको अवस्था अझै दर्दनाक रहेको बताउनुभयो । 

महिला एकल महिला समुह लुम्बिनी प्रदेश अध्यक्ष अरुणा श्रेष्टले जेष्ठ नागरिक एकल आमाहरु मात्रै नभएर उमेरकै दिदीबहिनीहरू पनि रातोदेखि भाग्ने र संकिर्णतामा राख्ने मानसिकता विद्यमान रहेको बताउनुभयो । 

यो अवस्थाको अन्त्य, समाजमा सम्मानपूर्वक बाँच्ने र आर्थिक सवलीकरणका लागि काम गर्ने वातावरण सृजना गर्न तीनै तहका सरकार र निकायहरुसँग आफूहरूले विभिन्न प्रयासहरू गरिरहेको बताउनुभयो । 

एकल बन्नेकुरा रहर नभएर बाध्यता भएकाले सरकार र तिनका निकाय तथा जनप्रतिनिधिले अवसर सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।