चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ४ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन माथिल्लो मेवाखोला ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५, धनगढीका ४० वर्षीय धनसिंह साउद रहनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शुक्रबार मिक्सचर मेसिन सफा गर्ने क्रममा दुर्घटना हुँदा साउद गम्भीर घाइते हुनुभएको थियो । गिट्टी, बालुवा र सिमेन्ट मिश्रण गर्ने मेसिनमा ठोक्किएर घाइते हुनुभएका उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक आशिस पोखरेलले जानकारी दिनुभयो ।
मृतक साउदको शवलाई अहिले जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुडिरहेको मिक्सचर मेसिनका चालक लालमान तामाङ मेसिनबाट ओर्लिन खोज्दा मेसिन सरेर साउदलाई ठक्कर दिन पुगेको थियो । मेसिन चालक सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ का २१ वर्षीय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।
मिक्वाखोला गाउँपालिका–५, पापुङमा निर्माणाधीन ३१.९२ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सौर्य होल्डिङ प्रालिले गरिरहेको छ ।