• ४ वैशाख २०८३, शुक्रबार

मिक्सचर मेसिनले किच्दा जलविद्युत् आयोजनाका कामदारको मृत्यु

blog

साहारा लिम्बू

फुङलिङ, वैशाख ४ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साईफुङस्थित निर्माणाधीन माथिल्लो मेवा ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने एक कामदारको मिक्सचर मेसिनमा किचेर मृत्यु भएको छ । 

कैलालीको घोडाघोडी नगरपालिका–५ घर भएका अन्दाजी ४० वर्षीय धनसिंह साउदको मेसिन सफा गर्ने क्रममा मेसिनले किचेर मृत्यु भएको हो । 

सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार साउदले शुक्रबार बिहान करिब २ बजेको समयमा आयोजनास्थलमा प्रयोग हुँदै आएको गिट्टी, बालुवा र सिमेन्ट घोल्ने चार चक्के एसएलएम मिक्सचर मेसिन सफा गर्ने क्रममा दुर्घटना भएको हो । 

मेसिन सफा गर्ने क्रममा मिक्सचर मेसिन स्टार्ट अवस्थामै रहेको र चालक मेसिनबाट ओर्लिन खोज्दा अचानक अगाडि बढेको प्रहरीले जनाएको छ । सोही क्रममा मेसिनको अगाडिको देब्रे चक्काले साउदलाई किचेको थियो ।

घटनापछि आयोजनाका सहकर्मीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएका थिए । अस्पताल पु¥याइएपछि चिकित्सकले बिहान ६ः५० बजे साउदलाई मृत घोषणा गरेका थिए । 

दुर्घटनामा संलग्न मिक्सचर मेसिनका चालक सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ का २१ वर्षीय लालमान तामाङलाई नियन्त्रणमा लिइएको छ । उनलाई थप अनुसन्धानका लागि प्रहरी चौकी साँवा लगिएको छ ।

मृतक साउदको शव हाल जिल्ला अस्पताल ताप्लेजुङको शवगृहमा राखिएको छ । मृतकका आफन्त जिल्ला बाहिर रहेका कारण हालसम्म जाहेरी प्रक्रिया अघि नबढेको प्रहरीले जनाएको छ । आफन्त आएपछि पोस्टमार्टमसहित कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई जिम्मा लगाइने बताइएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।