रामकृष्ण बोहरा
बागलुङ, बैशाख ४ गते । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा आन्द्राको शल्यक्रिया गरिएको छ ।
आन्द्राको अल्सर फुटेर पेटसँगै शरीरमा सङ्क्रमण फैलिएको गम्भीर अवस्थामा अस्पताल आउनुभएका एक युवाको आपतकालीन (मोडिफाइड ग्राहम्स प्याच रिपेयर) फुटेको आन्द्राको प्वाल बन्द गर्ने शल्यक्रिया गरिएको हो ।
ती युवामा आन्द्राको अल्सर फुटेर पेटसंगै पुरै शरीरमा सङ्क्रमण फैलिँदा अवस्था गम्भीर बनेको थियो ।‘‘आन्द्राको अल्सर फुटेर हलो भिस्कस पर्फोरेसन पेरिटोनाइटिस देखिएको थियो, जसले युवाको जीवन नै जोखिममा थियो’’ शल्यक्रियामा सहभागि कन्सल्टेन्ट सर्जन डा. शंकरराज लामिछानेले भन्नुभयो, ‘‘संवेदनशिल अवस्थामा दक्ष जनशक्तिको उपलब्धताले बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्यो ।’’ ‘‘आपतकालीन अवस्थामा देखिइएको उच्च स्तरीय क्लिनिकल निर्णय क्षमता र प्रभावकारी टोलीकार्य प्रशंसनीय छ’’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले भन्नुभयो, ‘‘उत्कृष्ट तत्परता र प्रतिवद्धताले चुनौतीपूर्ण काममा सफलता प्राप्त भएको छ ।’’
अस्पताल आपतकालीन स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँदै जनस्वास्थ्य सेवाप्रति प्रतिबद्ध रहेको डा। तिवारीले बताउनुभयो ।
यस्तै, अस्पतालले एपेन्डिसाइटिसको बिरामीमा ल्याप्रोस्कोपी एप्पेन्डेक्टोमी सफलतापूर्वक सम्पन्न गरेको छ ।यो विधि परम्परागत खुला शल्यक्रियाभन्दा कम पीडादायी, कम रक्तस्राव हुने, सानो चिरा मात्र पर्ने तथा बिरामी छिटो निको भई सामान्य जीवनमा फर्कन सक्ने विशेषताका कारण अत्याधुनिक र प्रभावकारी मानिन्छ ।
कुनै समय ‘रिफर सेन्टर’को रुपमा परिचित अस्पतालको स्तरोन्नतिसंगै सेवा विस्तार गर्दै गएपछि बिरामीले राहतको सास फेर्न थालेका छन् ।
अस्पतालले आधुनिक सेवा विस्तार गर्दै बिरामीलाई गुणस्तरीय, सुरक्षित र सहज उपचार प्रदान गर्दै आएको छ ।विसं २०१५ सालमा डिस्पेन्सरीको रुपमा स्थापना भई स्वास्थ्य केन्द्र, जिल्ला, अञ्चलहुँदै प्रादेशिकमा स्तरोन्नति भएपछि अस्पतालले दर्जन बढी विशेषज्ञ सेवा दिन थालेको छ ।
प्रादेशिक अस्पताल बनेपछि यहाँ दर्जन बढी विशेषज्ञ सेवा दिन थालिएको छ । अस्पतालमा हाल २४ विशेषज्ञ चिकित्सकसहित १२ मेडिकल अधिकृतको दरबन्दी छ ।
प्रसूति, हाडजोर्नी, बालरोग, फिजियोथेरापीजस्ता विशेषज्ञ सेवा नियमित सञ्चालनमा छन् । पछिल्लो समय मानसिक, मृगौला, पिसाब रोगसम्बन्धी विशेषज्ञ सेवाको सहज पहुँच उपलब्ध भएपछि बिरामीलाई पोखरा वा काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
अस्पताल प्रशासनका अनुसार वर्षमा एक लाख ५० हजार जना बढीले उपचार सेवा पाएका छन् । तीमध्ये स्वास्थ्य बिमाअन्तर्गत वर्षमा ६८ हजार बढीले सेवा लिएका छन् ।