• ६ जेठ २०८१, आइतबार

करोडौँका आयोजना वर्षौंदेखि अलपत्र

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, वैशाख २५ गते । दक्षिणी मोरङको ग्रामीण क्षेत्रमा सञ्चालन भएका आधा दर्जन ठुला विकास आयोजना अलपत्र छन् । मोरङको सुनवर्षी–१ स्थित मरियाबव्रmाहा खोलाको पुल २०७२ मा निर्माण हुन थालेको हो । नौ वर्ष पूरा भयो तर पुल बन्ने छाँट छैन । संविधान सभा चुनावको बेलादेखि सधैँ यो पुल चुनावी एजेन्डा बनिरहेको छ । तत्कालीन मोरङ–२ बाट संविधान सभा सदस्य निर्वाचित चण्डीप्रसाद राईको निर्वाचन क्षेत्र विकास कोषको बजेटमार्फत पुल निर्माण सुरु भएको थियोे । 

नौ वर्ष बितिसक्दा पनि सुनवर्षी–१ को केचना र जोगीधाप जोड्ने यो पुल बन्न नसक्दा त्यस क्षेत्रका किसानले सबैभन्दा धेरै सास्ती बेहोर्नु परेको छ । खोला वारिपारि जग्गा हुने किसानले खेतसम्म 

ट्याक्टर लैजान ल्याउन आठ किलोमिटर बाटो घुम्नु पर्छ । स्थानीय टीकाराम बस्नेतले भन्नुभयो, “४० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बन्ने भएपछि हामी खुसी भएका थियौँ तर नौ वर्ष भयो हाम्रो खुसी हराएको,” बस्नेतले भन्नुभयो, “केही दिनअघि पुल निर्माणका लागि कामदार आएका थिए । पुलको भत्किएको भाग टालटुल गरेर कामदार गए । अहिले फेरि काम गर्न आएको जस्तो गरिरहेका छन् ।”

तीन करोड ८५ लाख रुपियाँमा नीलगिरि कन्स्ट्रक्सनले निर्माण गर्ने भनिएको पुल ठेकेदारको लापर्बाहीले नबनेको स्थानीयको भनाइ छ । टीकाराम बस्नेतले भन्नुभयो, “ठेकेदारले नेताहरूले भनेको पनि मानेका छैनन् । हाम्रैअगाडि धेरै पटक नेताहरूले फोन गर्नुभयो तर ठेकेदारले टेरेका छैनन् ।”

मोरङ–२ का प्रतिनिधि सभा सदस्य ऋषिकेश पोख्रेलले भन्नुभयो, “मैले पुल निर्माणका लागि एक सय पटकभन्दा बढी निर्माण कम्पनी र आयोजना हेर्ने सरकारी निकायलाई फोन गरेको छु । दुवै निकायलाई घटनास्थलमा लगेर पटक पटक आयोजना सम्पन्न गर्न अनुरोध गरेँ । गत फागुनमै आयोजना सम्पन्न गर्नु पर्छ भनेर भनेका थियौँ तर सरकारी निकाय पुल भत्काउनु पर्छ, यसले काम दिँदैन भन्छन् । निर्माण कम्पनी करोडौँ रुपियाँ लगानी भएकाले टालेर भए पनि पुल सञ्चालनमा ल्याउनु पर्छ भनिरहेको छ ।”

सरकार, निर्माण कम्पनी र नियमक निकाय जिम्मेवार र जवाफदेही नभएकाले पुल निर्माण हुन नसकेको सांसद पोख्रेलले बताउनुभयो । उहाँले भननुभयो, “हाम्रो काम अनुगमन गर्ने होइन, समस्या देखिएको ठाउँमा सुझाव दिने सहजीकरण गर्ने हो तर पार लागेको छैन ।” 

मोरङकै रतुवामाई नगरपालिका–५ र ६ को बिचमा रहेको कट्नु खोलामा निर्माणाधीन पुल छ वर्षदेखि अलपत्र छ । २०७५ सालमा पक्की पुल निर्माणका गर्ने ठेक्का स्काई वाइ माँ जानकी कन्स्ट्रक्सन जनकपुरले प्राप्त गरेको थियो । तीन करोड ३७ लाख रुपियाँमा ठेक्का लागेको पुल २०७७ सालको असार मसान्तमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो । २५ मिटर लम्बाइ र १५ फिट चौडाइको उक्त पुल पाँच वर्ष बितिसक्दा पनि अझै बन्न सकेको छैन । वडा नं. ५ को परेवाखोपीबाट वडा नं. ६ को जोरपानी जोड्ने कट्नु खोलामा पहिले पनि पुल थियो । हुँदाछँदाको पुलबाट ओहोरदोहोर भइरहेको थियो । 

पुल कमजोर भयो भनेर तत्कालीन संविधान सभा सदस्य हाल प्रतिनिधि सभा सदस्य ऋषिकेश पोख्रेलले बजेट व्यवस्थापन गर्नुभयो । नयाँ पुल बनाउने भएपछि स्थानीयमा खुसी छाएको थियो तर पाँच वर्ष बितिसक्दा पनि पनि पुल नबनेपछि स्थानीयलाई सास्ती भएको छ । पुरानो पुलले काम गर्दैन । सडकको दुवैतर्फ भत्काएपछि पुरानो पुल काम नदिने भयो, नयाँ पुल ठेकदारले बनाएनन् । वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेलले भन्नुभयो, “प्रदेश सांसद, सङ्घीय सांसद सबैलाई हारगुहार ग¥यौँ । भन्न र गर्न बाँकी केही छैन । हामीलाई त के सङ्घीय सांसदको कुरासमेत निर्माण कम्पनीले नसुन्दा रहेछन् ।” 

वडा नं. ५ का वडाध्यक्ष सोमबहादुर कार्कीका अनुसार जानकी कन्स्ट्रक्सनले पेस्की लिएर केही काम गरेपछि जोइन्ड कम्पनीलाई काम गर्न दिएको थियो । जोइन्ड कम्पनीले काम सुरु गरेर पैसा माग्दा पेस्कीबापत साझेदार कम्पनीले पैसा लगिसकेको देखिएपछि हाल काम गर्ने जिम्मा लिएको कम्पनीले पुरानो कम्पनीलाई मुद्दा दायर गरेको छ । अदालतले मुद्दा फैसला गरेको छैन । अदालतमा भएको केसलाई पालिकाले निर्णय गरेर केही गर्न सक्दैन । कार्कीले मङ्सिरसम्म अदालतको प्रव्रिmया कुर्ने त्यसपछि नगरले आफँै भए पनि निर्माण प्रव्रिmया सुरु गर्ने बताउनुभयो ।  

उता रतुवामाई–५ को उलुघुटु पश्चिमको धाद्रा खोलाको पुल अलपत्र भएको पनि छ वर्ष नाघ्यो । निर्माण कम्पनीले पेटी ठेकेदारलाई काम गर्ने जिम्मा दिएपछि आर्थिक लेनदेनमा समस्या उत्पन्न भयो । लेनदेनको विषय अदालतमा पुगेको छ । अदालतको फैसला आएको छैन । स्थानीय पदमप्रसाद प्रसाईले भन्नुभयो, “अदालतमा मुद्दा परेपछि काम रोकिएको हो । पाँच वर्ष पूरा भयो । कामअघि बढेको छैन ।” ठेकदारलाई सरकारी निकायले दबाब नदिँदा मोरङको कानेपोखरी–३ र रङ्गेली–९ को सिमानामा नौ वर्षअघि निर्माण सुरु भएको पैनी अझै बनिसकेको छैन । 

तत्कालीन नेपाल सरकारले साबिकको दर्वेसा र रङ्गेली गाविसका किसानको खेत खेतमा पानी पु¥याउने महŒवाकाङ्क्षी आयोजनाका रूपमा पैनीलाई व्यवस्थित गर्न सुरु गरेको थियो । तत्कालीन पूर्वाञ्चल सिँचाइ डिभिजन कार्यालय २ नं. सुनसरीले टेन्डर लगाएको पैनी याक्थुम एन्ड बिपी कन्स्ट्रक्सन जेभी लहानले निर्माण गर्ने जिम्मा पाएको थियो । पैनी निर्माणका लागि छ करोड रुपियाँको लागत स्टिमेट भए पनि कन्स्ट्रक्सनले झन्डै ३५ प्रतिशत कम रकममा निर्माण गर्ने गरी कामको जिम्मा लिएको थियो । तीन करोड ७७ लाख ५४ हजार ८९७ रुपियाँमा ठेक्का लिएको कम्पनीले उक्त काम २०७१ मङ्सिर २३ मा सुरु गरेर २०७२ माघ २२ गते निर्माण सम्पन्न गरी उपभोक्ता समितिलाई जिम्मा लगाउने सम्झौता भएको थियो । 

कन्स्ट्रक्सनले भने विभिन्न बहाना देखाउँदै काम नगरेको स्थानीयको भनाइ छ । स्थानीय पन्चु चौधरीले भन्नुभयो, “रड ल्याएर छोडेको छ । त्यसपछि आएको छैन ।” चाँडो पैनी बनिदिए बाढीको समयमा आफू सुरक्षित भएर बस्न पाउने उहाँको भनाइ छ । उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद घिमिरेले भन्नुभयो, “हामी वर्षौंदेखि धाइरहेका छौँ । राज्य पुनर्संरचना भएपछि सरकारी कार्यालयहरूको कार्यक्षेत्र छिन्नभिन्न भयो । हामीले पैनी बनाएर खेतमा पानी लानुपर्ने हो तर कहिले सिँचाइ डिभिजन, कहिले जल उत्पन्न धाउँदाधाउँदै हामी थाकिसक्यौँ ।” 

बारम्बार दबाब दिएपछि जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले निर्माण कम्पनीलाई पहिलो पटक २०७३ साउन २१ देखि २०७४ असार १५ सम्मका लागि काम गर्न म्याद थप्यो तर एक साता जति काम गरे जस्तो गरी फेरि निर्माण कम्पनी सम्पर्कविहीन बन्यो । सो अवधिमा समेत काम सम्पन्न नगरेपछि पुनः कम्पनीलाई २०७५ असार २५ देखि २०७६ असार २५ सम्म काम सम्पन्न गर्न म्याद थप भयो । बारम्बार समय थप्दाथप्दै नौ वर्ष बितिसकेको छ तर किसानको खेतका पानी पुगेको छैन । 

नेपाल सरकारले काम गर्ने जिम्मा लिएर काम नसक्ने निर्माण कम्पनीलाई कारबाही नगर्दा ठेकदारहरूले मनपरी गरेको स्थानीयको गुनासो छ । काम अलपत्र छोडे पनि एक करोड ६८ लाख २३ हजार ६७५ रुपियाँ निर्माण कम्पनीले लगिसकेको छ । उता निर्माण कम्पनी बिपी जेभीका प्रमुख वैजनाथ साहले ५० प्रतिशत काम सम्पन्न गरिसकेको दाबी गर्नुभयो । 

साबिकको बयरवन–२ स्थित रातेहोलीको पानी लैजाने पैनीमा बाँध कसेर ओभरफ्लो हुने पानी गेउरिया खोलामा खसाउने र पानी कम भएका बेला किसानको खेतमा पु¥याउने पैनी निर्माण नहुँदा १५ घरपरिवार बाढीको जोखिममा रहेका छन् । कानेपोखरी–रङ्गेली सडकको गेउरिया पुल अलपत्र भएको आठ वर्ष पुग्यो । कछुवाको गतिमा निर्माण भइरहेको पुल २०८१ सालको वैशाखभित्र निर्माण सम्पन्न गर्ने पछिल्लो योजना थियो तर एक साता जति काम गरेर कामदार फेरि सम्पर्कविहीन भएका छन् । २०८१ सालको वैशाखमा काम सम्पन्न गर्ने भनेर निर्माण कम्पनीले दिएको यो छैटौँ वचनबद्धता हो । 

उता रतुवामाई–१० को सातमेडीदेखि झापा जोड्ने रतुवाखोलाको झोलुङ्गे पुल अलपत्र भएको छ वर्ष भइसक्यो । सातमेडीबाट केही दक्षिण सोही खोलामा आरसिसी पुल बनिसक्यो तर झोलुङ्गे बन्ने छाँट छैन ।