• १६ वैशाख २०८२, मङ्गलबार

‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित

blog

मङ्गलबार बसको प्रतिनिधिसभा बैठक । तस्बिर : न्यूज एजेन्सी

काठमाडौँ, वैशाख १६ गते । ‘भन्सार विधेयक, २०८१’  प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सभाको मङ्गलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

मङ्गलबार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री  विष्णु पौडेले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरूले सहमति जनाएका हुन् । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार विन्दुहरूमा रहेको बेथिति हटाउनका लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवम् एकीकरण गर्नका लागि विधेयक ल्याइएको बताउनुभयो ।

उहाँले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरू पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले विधेयकलाई समृद्ध बनाउनका लागि सुझाव दिने सांसदहरूलाई धन्यवाद समेत दिनुभयो

उहाँले भन्नुभयो, ‘‘भन्सार विन्दुहरूमा बेथिति नहोस् । त्यहाँ हाम्रो राजश्वमा चुहावट नहोस् र अनियमितता नहोस् र व्यापारीहरू पीडित नबनुन् भन्ने कोणबाट सुझावहरू आएका छन् । भन्सारलाई उपकरण र स्रोत साधनको दृष्टिकोणले प्रभावकारी कोणबाट समेत प्रभावकारी बनाइयोस् भनेर पनि सुझाव दिनुभएको छ । यी सबै सुझावहरूका लागि म सबै माननीयज्युहरूलाई धन्यवाद भन्न चाहन्छु ।’’

विधेयकले कानुनको रूप लिएसँगै राजश्व चुहावटमा कमि आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ ।