• ६ पुस २०८२, आइतबार

बागमती नदीमा तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास बेरियर राखियो

blog

काठमाडौँ, पुस ६ गते। सहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीमा तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास बेरियर जडान गरेको छ। 

हाल गुह्वेश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगङ्गा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा १ स्थान गरी जम्मा ६ स्थानहरूमा ६५ लाखमा ठेक्का सम्झौता भएर ट्रास बेरियर राख्ने काम धमाधम हुँदैछ।  

ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ। 

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीमा सहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन कारण ठुलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ। जसले गर्दा नदी प्रदूषण न्युनीकरण गर्न सहयोग पुग्दछ। 

ट्रास बेरियरबाट सङ्कलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिन्छ। यसले नदी प्रदूषण न्युनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ।

नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्रयास बैरियरको सतह आफै तलमाथि हुने ढङ्गले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुने छन्।