• १६ वैशाख २०८२, मङ्गलबार

हावाहुरीले मकै र तरकारी बालीमा क्षति

blog

हावाहुरीले क्षति पुर्‍याएको मकै बाली । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, वैशाख १६ गते ।
हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ । पाक्न लागेको मकैको बोट हावाहुरीले ढाल्दा किसानलाई ठुलो क्षति पुगेको हो । हावाहुरीसहितको असिना पानीले मकै लगायत तरकारी बालीमा क्षति पुर्‍याएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ ।

ज्ञानकेद्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार जिल्लाका किसानले लगाएको मकै, तरकारी र केरा खेतिमा क्षति पुगेको छ । उहाँका अनुसार कति क्षति भयो भन्ने विवरण आई सकेको भने छैन । क्षति भएको जानकारी गराउन किसान कार्यालयमा आउने गरेको बताइएको छ ।

हावाहुरीसहितको असिनापानीले जिल्लाको दक्षिणी र उत्तरी क्षेत्रमा बढी क्षति पुर्‍याएको छ । वराहक्षेत्र १० प्रकाशपुरका किसान राजेश कार्कीले १० कट्ठामा लगाएको मकैका बोट सबै ढलेको छ । उहाँ प्रतिनिधि किसान मात्र हुनुहुन्छ । जिल्लका सयौं किसानले लगाएको मकै र तरकारी बाली ढलेर सोत्तर भएको छ । अचानक आएको हावाहुरीले अन्य बालीमा समेत असर पुगेको छ ।

मकै उत्पानका लागि उर्वर भूमि मानिने सुनसरीमा हावाहुरीले क्षति पुर्‍याउदा मकै उत्पादनमा कमी आउने सुनसरी ज्ञानकेन्द्रले जनाएको छ । वराहक्षेत्र नगर कृषि शाखा प्रमुख तुलसा लिम्बूले हावाहुरीले बालीमा पुर्‍याएको क्षति अवलोकन गर्ने क्रम जारी रहेको बताउनुभयो । 

राजाबासका कृषक लालबहादुर लिम्बूले बारीमा ढलेका मकैका बोट भाचिएर कामै नलाग्ने अवस्थामा पुगेको बताउनुभयो । वराहक्षेत्र ९ मा रहेको सुन्दर कृषि फर्मका लगाएको तीन विघाको तरकारी बाली पूर्णरूपमा क्षति भएको छ । फर्म सञ्चालक कृषक रघु चन्द्रवंशीका आनुसार मकैका साथै दुई बिघामा लगाएको काक्रा, पन्ध्र कट्ठा मा लगाएको करेला, दस कट्ठाको बोडीलगायत लौका, भान्टाको बोटमा क्षति पुगेको ।