• ४ जेठ २०८१, शुक्रबार

गाइने किरा हराउँदा कृषिमा समस्या

blog

काठमाडौँ, वैशाख २१ गते । गाइने किराको सङ्ख्यामा कमी आउन थालेपछि त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा देखिन थालेको छ । गाइने किराको मुख्य आहारा कृषिकर्मलाई असर गर्ने पतेरो, गवारो हुन् । 

गाइने किराको सङ्ख्या घट्दा पतेरो, गवारो र लाईको उल्लेख्य वृद्धि भई मुख्य बाली धान, मकै र गहुँको उत्पादनमा कमी आउन थालेको छ । 

सघन धान खेतीमा लामो समयदेखि अनुसन्धानरत कृषि प्रचार अधिकृत कृष्ण धितालले गाइने किराको सङ्ख्या घट्दा त्यसको मुख्य आहार बालीलाई हानिकारक मानिएका किराको सङ्ख्या बढिरहेको बताउनुभयो । 

पतेरोले मात्रै धान उत्पादनमा १० प्रतिशतसम्म ह्रास ल्याउने धितालले दाबी गर्नुभयो । नेपालमा हाल ५६ लाख मेट्रिक टन धान उत्पादन हुने र गाइने किरा जस्ता मित्रजीवको सङ्ख्यामा कमी आउँदा त्यसले १० प्रतिशतसम्म धान उत्पादन घटाएको उहाँले बताउनुभयो । 

गाइने किराबारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहनुभएका मनोज शर्माले पानीका स्रोत र मुहान प्रदूषित हुँदा गाइने किराको अस्तित्व सङ्कटमा परेको जानकारी दिनुभयो । गाइने किराको बासस्थान सफा पानी भएकाले ती किराको सङ्ख्यामा कमी आउनु भनेको पानीमा प्रदूषण बढेको पुष्टि गराएको शर्माले जानकारी दिनुभयो । 

सफा पानीलाई खेतीमा सिँचाइ गर्दा त्यसले स्वस्थ उत्पादन दिने बताउँदै फोहोर पानी सिँचाइबाट स्वस्थ उत्पादन हुन नसक्ने र त्यसका कारणले उत्पादनमा समेत कमी आइरहेको उहाँले बताउनुभयो । 

पानीमा बढ्दो प्रदूषण र सिमसार क्षेत्रको अतिक्रमणका कारण संसारमै गाइने किरा घट्दो क्रममा रहेको र नेपालमा १८२ किसिमका गाइने किरा पाइने शर्माले बताउनुभयो । नेपालमा पाँच हजार मिटरसम्मको उचाइमा गाइने किरा पाइन्छ । त्यसको संरक्षणमा जनचेतना जगाउँदै गाइने किरा सङ्ग्रहालय बनाउन सरकारसँग माग गर्नुभयो । 

गाइने किरा किसानको साथी भएको एकीकृत शत्रुजीव व्यवस्थापनमा सकृय रहनु भएको अम्बिका हमालले जानकारी दिनुभयो । गाइने किराले बाली विनाश गर्ने साना र शत्रु किरा खाने र जसको कारणले कृषि उत्पादनमा वृद्धि हुने उहाँले दाबी गर्नुभयो । आफूहरूले खेती गर्दा गाइने किराले तरकारी उत्पादनमा वृद्धि गराउन सहयोग गराएको उहाँले जानकारी दिनुभयो । 

गाइने किराले शत्रु जीव खाएपछि किसानले रोपेको बाली सकुशल रहन सघाउने र त्यसका कारणले कृषि उत्पादनमा वृद्धि हुने उहाँले चर्चा गर्नुभयो । अचेल किसानले बालीमा लाग्ने किरा मार्न विषादी प्रयोग गर्न थालेपछि विषादीका कारणले पनि गाइने किराको सङ्ख्यामा कमी आएको हुन सक्ने हमालले बताउनुभयो । 

खोजकर्ता मनोज पौडेलले खेतारी, पानी टिपुवा, टुकली, फिरफिरे, झ्यालिन्चा जस्ता नामले पनि चिनिने गाइने किराको अङ्ग्रेजीमा ‘ड्रागन फ्लाई’ भन्ने गरिएको बताउनुभयो । उहाँले गाइने किराको सम्बन्ध कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको र त्यसको सङ्ख्या घट्दा उत्पादनमा समेत कमी आउन थालेकाले किराको संरक्षणमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो ।