• ४ जेठ २०८१, शुक्रबार

लगानी सम्मेलन सम्पन्न, आठ वटा लगानी समझदारीमा हस्ताक्षर

blog

काठमाडौँ, वैशाख १८ गते । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लगानीको उदाउँदो गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित आयोजना गरिएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । दुई दिनको अवधिमा विभिन्न आठ वटा समझदारी पत्रमा हस्ताक्षर गरेर सोमबार सम्मेलनको औपचारिक समापनको घोषणा गरिएको हो ।  

सम्मेलनको सचिवालयका रूपमा रहेको लगानी बोर्डको कार्यालयका अनुसार सम्मेलनको पहिलो दिन आइतबार दुई वटा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्मेलनको उद्घाटन सत्रकै क्रममा भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बिएलसी होल्डिङ्सबिच करिब तीन अर्ब रुपियाँमा नेपालमा डेटा सेन्टर स्थापना गर्ने समझदारी भएको हो । सहमति अनुसार दुवै कम्पनीको संयुक्त लगानीमा काठमाडौँको रामकोटमा उक्त डेटा सेन्टर निर्माण हुने छ । सोही क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र मलेसियाको नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ मलेसियाबिच व्यापार प्रवर्धनमा सहकार्य गर्ने समझदारी पनि भएको थियो । 

सम्मेलनको दोस्रो दिन अर्थात् सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिस्नर्स’ (नाप) बिच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभयो । दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पिपिपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ । 

त्यस्तै साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबिच होटल व्यवसायमा सहकार्य गर्ने समझदारी पनि भएको छ । समझदारी अनुसार करिब दुई अर्ब रुपियाँ संयुक्त लगानीमा कपिलवस्तुको गोरुसिंगेमा होटल स्थापना हुने छ । ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बिच पनि लगानीसम्बन्धी समझदारी भएको छ । समझदारी अनुसार नेक्सजेनले एमएबिसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्ने छ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्ने छ । यसबाहेक नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबिच नेपालमा लगानी प्रवर्धनका लागि सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

महासङ्घले नै सोमबार इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आइआइए) बिच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आइआइएका तर्फबाट अध्यक्ष अनुज कुमार गर्गले हस्ताक्षर गर्नुभयो । नेपाल र भारतबिचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवर्धनका लागि सहकार्य हुने समझदारी पत्रमा उल्लेख छ । सम्मेलनकै क्रममा मुगुको राराताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि समझदारी पनि भएको छ । रारास्थित मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा निर्माण गरिने रिसोर्टका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडकाका तर्फबाट अभिषेक विक्रम शाहले समझदारीमा हस्ताक्षर गर्नुभएको थियो । रिसोर्ट निर्माणका लागि करिब एक अर्ब दस करोड रुपियाँ लगानी हुने अनुमान गरिएको छ । 

सम्मेलनको समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लगानी प्रवर्धनका लागि सबै राजनीतिक दल एक मत रहेको सन्देश प्रवाह गर्न सम्मेलन सफल भएको बताउनुभयो । निजी लगानीको प्रवर्धनमार्फत नेपालले आफूलाई लगानीको नयाँ गन्तव्यका रूपमा उदाएको सन्देश पनि सम्मेलनमार्फत दिन सफल भएको उहाँको भनाइ थियो । नेपालको आर्थिक विकासको लक्ष्य निजी लगानी र विकास साझेदारको सहकार्यबाट मात्र सम्भव भएकाले नेपालमा लगानी गर्न पनि उहाँले लगानीकर्तालाई अपिल गर्नुभयो । 

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्मेलनबाट नेपाल लगानीका लागि आकर्षक गन्तव्य रहेको स्पष्ट सन्देश प्रवाह भएको बताउनुभयो । लगानीको संरक्षण र लगानीको मुनाफा लैजाने सन्दर्भमा सरकार प्रस्ट रहेको र लगानीकर्ताको सहजताका लागि कानुन सुधारमा लचिलो रहेको उहाँको भनाइ थियो । नेपालको प्राकृति स्रोत, बहुल युवा समूह र बढ्दो उपभोग शैली नेपालमा लगानीका लागि पर्याप्त अवसर रहेको प्रमाणहरू रहेको पनि उहाँले बताउनुभयो । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले दुई दिनको सम्मेलनमा नेपालसहित ५५ देशका दुई हजारभन्दा बढीले सहभागिता जनाएको जानकारी दिनुभयो । त्यसमध्ये करिब आठ सय विदेशीको सहभागिता रहेको उहाँले उल्लेख गर्नुभयो । सम्मेलनका क्रममा १९ वटा आशयपत्र माग गरिएका परियोजनासहित कुल १५२ वटा परियोजनाहरू सोकेसमा राखिएको पनि उहाँले बताउनुभयो । सम्मेलन अवधिभर १२ वटा विषयगत सत्रमा छलफल भएको र त्यसले नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सहयोग पु¥याएको उहाँको भनाइ थियो । 

सोमबार मात्रै नवीकरणीय ऊर्जा, नवप्रवर्तनात्मक वित्तीय वातावरण, हरित र उत्थानशील व्यवसायमा लगानी अवसर, सबल पूर्वाधार र परिवहन निर्माण, हरित वित्त, पर्यटनमा लगानी, कृषिको निर्यात सम्भावना, उत्पादनमूलक क्षेत्र, स्टार्टप प्रवर्धन, आइसिटीमा लगानीको अवसर, पूर्वाधार र सेवा क्षेत्रमा सार्वजनिक निजी साझेदारी विषयमा छुट्टाछुट्टै छलफल सत्र भएको थियो । त्यसअघि पहिलो दिन उद्घाटन सत्रसहित नेपालका लगानीको अवसर र नेपालमा लगानीका सफलताका कथा विषयक सत्रमा सरोकारवालाबिच छलफल भएको थियो । 

नौ अर्बको लगानी स्वीकृत

सम्मेलनको क्रममा उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा ल्याउँदै नौ अर्ब १३ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको छ । छ अर्ब रुपियाँभन्दा कमको लगानीमा स्वीकृति दिने क्षेत्राधिकार पाएको विभागले नयाँ प्रणालीमार्फत सो बराबरको स्वीकृति दिएको हो । सम्मेलनकै क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन जना लगानीकर्तालाई स्वीकृतिको पत्र हस्तान्तरण गर्नुभएको हो । जसअनुसार चिनियाँ लगानीको कम्पनीको लगानी ६ अर्ब रुपियाँको लगानी स्वीकृत भएको छ । त्यस्तै अस्ट्रेलियाको एस एन्ड जेजी इन्भेस्टमेन्ट कम्पनीको तीन अर्ब र एचिलस इनर्जी युकेको करिब साढे १३ करोडको लगानी स्वीकृत भएको विभागले जनाएको छ । 

सम्मेलन सफल : अर्थमन्त्री

तेस्रो लगानी सम्मेलन सफल भएको अर्थमन्त्री वर्षमान पुनले बताउनुभएको छ । सम्मेलनका क्रममा आयोजित ‘साइडलाइन’ बैठकमा विदेशी दातृ निकायका प्रतिनिधिसँगको छलफलमा उहाँले दातृ निकायसहित विदेशी लगानीकर्ताको उल्लेख्य उपस्थितिका कारण सम्मेलन सफल भएको बताउनुभएको थियो । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधि तथा नेपालस्थित विभिन्न देशका राजदूत सहभागी उक्त छलफलमा अर्थमन्त्री पुनले नेपालमा लगानीको पर्याप्त सम्भावना र अवसर रहेको र सरकारले लगानीसम्बन्धी वातावरण थप सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सहभागी प्रतिनिधि तथा राजदूतहरूले लगानीका सम्बन्धमा नेपालका राजनीतिक दलहरूको एक्यबद्धताको प्रशंसा गर्नुभएको थियो ।