वीरेन्द्रनगर समाचारदाता
सुर्खेत, वैशाख ७ गते । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहबाट ५१९ जना विद्यार्थी दीक्षित भएका छन । मङ्गलबार विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा आयोजित दीक्षान्त समारोहमा दीक्षित हुन योग्य दुई हजार ८९ विद्यार्थीमध्ये पाँच सय १९ विद्यार्थी दीक्षित भएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उत्कृष्टता हासिल गरेका नौ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गर्नुभयो । शिक्षा सङ्कायका कमला ज्ञवाली, विष्णा मगर र इसक घरे, मानविकी तथा समाजशास्त्र सङ्कायका ऐश्वर्याकुमारी विष्ट, काव्या रिजाल र रदीप महर्जनले कुलपति पदक प्राप्त गर्नुभएको छ ।
यस्तै व्यवस्थापन सङकायतर्फ यामकुमारी आचार्य, लक्ष्मी लामिछाने र अर्जुनकुमार चौधरीले प्राप्त गर्नुभएको छ । उपकुलपति पदक २० जनाले प्राप्त गरेका छन् । सुर्खेत उद्योग वाणिज्य सङघ पदक स्नातकोत्तर र स्नातक तहका पाँचजनाले प्राप्त गरेका हुन् । विश्वविद्यालयका अनुसार शिक्षा सङ्कायतर्फ ८५ विद्यार्थी, इन्जिनियरिङतर्फ १४५ विद्यार्थी, मानविकीतर्फ १५२ विद्यार्थी, व्यवस्थापनतर्फ १२२ विद्यार्थी, विज्ञान सङ्कायतर्फ १५ जना विद्यार्थी दीक्षित भएका हुन । यस्तै, विद्यावारिधितर्फ एक जना दीक्षित भएका बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै राज्यप्रति जिम्मेवारी र दायित्व बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “उपाधि जागिरका लागि मात्र होइन, यसले राष्ट्रप्रति धेरै जिम्मेवारी बढाएको छ । शिक्षाका लागि राष्ट्रले धेरै लगानी गरेको छ । डिग्री हासिल गरेको प्रमाणपत्र मात्र नभएर अभिभावकको सपना पनि हो । त्यसैले देशप्रतिको दायित्व पूरा गर्नुपर्छ ।”
उहाँले नेपालमा संविधानमा शिक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरेसँगै यसका परिणाम देखिइरहेको बताउनुभयो । उहाँले शिक्षाको महत्व धेरै नै रहेकाले गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउनुभयो । नेपालबाट बेचबिखनमा परेका मानवको उद्धार गरेको सम्झँदै सबैलाई शिक्षा र चेतना आवश्यक रहेको उहाँले स्पष्ट पार्नुुभयो ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा राज्य निर्माणको ढोका भएकाले देशको विकास र समृद्धिमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सरकारले सन २०३० सम्म देशलाई समृद्ध बनाउने लक्ष्य रहेको भन्दै यसका लागि शिक्षा महत्वपूर्ण भएकाले विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । सरकार शिक्षालाई पुनर्संरचना गर्ने प्रक्रियामा रहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि कानुुनी, भौतिक र शिक्षण सिकाइलाई सुधार गर्ने प्रयत्न गरेको जानकारी दिनुभयो ।
“प्राविधिक शिक्षाको पहुँचका लागि सबै स्थानीय तहमा विस्तार गरिएको छ,” शिक्षामन्त्रीले भन्नुुभयो, “सातवटै प्रदेशमा चिकित्सा शिक्षाका लागि विश्वविद्यालयलाई सक्षम बनाइनेछ । सीपलाई रोजगारसँग जोडेर पढ्दै कमाउँदै कार्यक्रम १४० वटा विद्यालयमा अघि बढाइसकिएको छ ।”
कार्यक्रममा उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयले सर्वसुलभ, गुणस्तरीय र व्यावहारिक उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यअनुसार विश्व परिवेशमा उत्कृष्ट पहिचानसहितको उच्च शैक्षिक संस्थाका रूपमा विकास गर्न विश्वविद्यालयको पुनर्संरचना र प्रविधि विकासको कार्य अघि बढिरहेको बताउनुभयो । उच्च शिक्षालाई अझै बढी व्यावहारिक र समयानुकूूल बनाउन पाठयक्रमको विकास गरी कार्यान्वयन गरिएको बताउनुभयो ।
उच्च शिक्षालाई रैथाने ज्ञान, सीप र व्यावहारिकतासँगै जोडदै उत्पादनमुखी गराउने र गुणस्तरीय र व्यावहारिक शिक्षा सर्वसाधारणको पहुँचसम्म पु¥याउन विश्वविद्यालय लागिपरेको उहाँको भनाइ थियो ।