विश्वास रेग्मी
काठमाडौँ, वैशाख ७ गते । अर्थतन्त्रका कतिपय सूचकमा दबाब बढेपछि अर्थतन्त्र समस्यातर्फ धकेलिन लागेको चर्चा अहिले व्यापक छ । अर्थविद्देखि सर्वसाधारणसम्मले सामाजिक सञ्जाल, औपचारिक तथा अनौपचारिक छलफल र कुराकानीमा अर्थतन्त्रबारे चासो र चिन्ता व्यक्त गरेका छन् । सबैभन्दा ठूलो चिन्ताको विषय विदेशी मुद्राको सञ्चितिको छ ।
निरन्तर उकालो लागिरहेको आयातका कारण विदेशी मुद्रा सञ्चिति घटेकाले भविष्यमा आयातका लागि विदेशी मुद्रा पर्याप्त नहुने र नेपालले आयात गर्नै नसक्ने तहमा पुग्नेसम्मको चिन्ता व्यक्त हुने गरेको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार फागुनसम्म नेपालसँग ११ खर्ब ७१ अर्ब रुपियाँ अर्थात् नौ अर्ब ५८ करोड डलर सञ्चित छ । यो सञ्चितिबाट छ महिना २१ दिनको वस्तु तथा सेवा आयात धान्छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को आठ महिनामै नेपालले १३ खर्ब आठ अर्ब रुपियाँभन्दा बढीको वस्तु आयात गरेको छ । आयातको वृद्धि दर यही गतिमा बढे चालू आवभित्र नेपालले १७ खर्ब रुपियाँको वस्तु आयात गर्ने अनुमान गरिएको छ ।
जोखिम भने छैन
आयात बढेकै कारण विदेशी मुद्राको सञ्चिति घटे पनि अहिलेको परिस्थिति चिन्ताजनक भने नभएको अर्थतन्त्रका जानकारहरूको भनाइ छ । विदेशी मुद्राको सञ्चिति केही खुम्चिए पनि पूर्वसतर्कता अपनाउने हो भने भविष्यमा समस्या नहुने उहाँहरूको बुझाइ छ । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री विदेशी मुद्रा सञ्चितिको अहिलेको अवस्था जोखिमको घेरामा नरहेको बताउनुहुन्छ । “हामीसँग अहिले जति पनि सञ्चिति छ, त्यसबाट हुन सक्ने आयातले हामी जोखिमको घेरातिर छैनौँ,” उहाँ भन्नुहुन्छ ।
मुद्रा सञ्चिति बढाउन भ्रमणमा गरिएको कडिकडाउ, आयात नियन्त्रणका प्रयासले सहयोग पु-याउने र सही समयमा पूर्वसतर्कता अपनाएको देखिने उहाँले बताउनुभयो । यद्यपि अहिलेको अवस्थासँग सतर्क भने हुनैपर्ने र त्यसो नगरे एकैछिनमा धराशायी हुन सक्ने उहाँको बुझाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गोविन्द नेपाल पनि छ महिनासम्मको सञ्चितिलाई ठीकै मानिने बताउनुहुन्छ । “तर आयातको वृद्धि दर जारी रहे अहिलेको सञ्चिति पनि घट्ने हुनाले अवस्था जोखिमपूर्ण भने हुनसक्छ,” उहाँले भन्नुभयो । इन्धनमा गरिएको कटौती र आयातमा गरिएको कडाइले केही सहयोग पुग्ने भए पनि यो मात्र पर्याप्त भने नहुने उहाँको बुझाइ छ । “अब तीन महिनाका लागि सरकारले आयातमा अत्यन्त कडाइ गर्नैपर्छ,” उहाँले भन्नुभयो, “उपभोक्ताले पनि आफ्नो उपभोग संस्कृतिमा परिवर्तन ल्याउनुपर्छ ।”
पहिलेदेखिकै चाप
कोभिड–१९ सङ्क्रमणका कारण जनजीवन तथा आर्थिक गतिविधि ठप्प भएपछि मुलुकको शोधनान्तर अवस्था इतिहासकै उच्च अङ्कले बचतमा थियो । राष्ट्र बैङ्कका अनुसार कोभिड प्रभावित समयमै अर्थात् २०७७ असारसम्म नेपालको शोधनान्तर अवस्था दुई खर्ब ८२ अर्ब रुपियाँले बचतमा थियो ।
तर त्यसपछि कोरोना सङ्क्रमणका लागि लागू गरिएका कडाइका नियम खुकुलो हुँदा एक वर्षमै अर्थात् २०७८ असारसम्म शोधनान्तर अवस्था करिब दुई खर्ब ४१ करोड रुपियाँले घटेर एक अर्ब २३ करोड रुपियाँमा पुग्यो । अर्थतन्त्र क्रमशः लयमा आउँदै गरेको, प्रतिबन्धित यात्रा पूरै खुला भएको र व्यापारसमेत बढ्दा पछिल्लो पटक फागुनसम्म शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब रुपियाँले घाटामा पुगेको छ ।
‘सञ्चिति स्ट्यान्डर्डभित्रै छ’
नेपालसँग रहेको विदेशी मुद्रा सञ्चिति एउटा ‘स्ट्यान्डर्ड’भित्रै छ । सञ्चितिले ‘बोर्डर लाइन’ पार ग-यो भन्नु सही कुरा होइन । अहिले पनि हामीसँग रहेको सञ्चितिले सात महिनाको आयात धान्न पुग्छ । तीन महिनाको पनि आयात धान्न नसक्ने अवस्था नेपालको होइन । कोभिडपछि एकैपटक अर्थतन्त्र चलायमान हुँदा विदेशी मुद्रामा केही चाप परेको मात्र हो ।
अर्थ मन्त्रालयले त्यसलाई पनि सामान्य बनाउन विदेशी वस्तुको आयातमा नियन्त्रण, इन्धन प्रयोगमा कटौतीजस्ता उपकरण प्रयोग गरिरहेको छ । अर्कातिर नेपाल आउने पर्यटक बढिरहेका छन्, विपे्रषण पनि पछिल्लो समय केही बढेको छ । यी सबै कारणले विदेशी मुद्राको सञ्चिति बढ्न सहयोग पुग्छ । तीन/चार महिनापछि यसको सकारात्मक प्रभाव देखिनेछ ।