• ११ मंसिर २०८१, मङ्गलबार

विद्यालयको नाममा मौलिकता

blog

यतिखेर मुलुकका अधिकांश संस्थागत एवं सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भइसक्यो । नयाँ शैक्षिक क्यालेन्डरको निर्माण, विद्यार्थी भर्ना अभियानदेखि भावी योजना तथा कार्यक्रमको तर्जुमा गरी विद्यालयले नयाँ शैक्षिक सत्र सुरु गरिसके । विशेष गरी निजी तथा संस्थागत विद्यालयमा यसको चाप बढी देखिन्छ । निजी विद्यालयले विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने उद्देश्यले नयाँ नयाँ तौरतरिका अपनाइरहेका छन् । यसै क्रममा विभिन्न विद्यालयले आफ्नो विद्यालयको नाम अङ्ग्रेजी राखेर सञ्चालन गरिरहेका छन् । नियम विपरीत राखिएका यस्ता नामले मौलिक पहिचानमा धक्का पुगेको महसुस गर्दै काठमाडौँ महानगरपालिका (कामनपा) ले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयलाई निश्चित म्यादभित्र विद्यालयको नाम नेपालीमा राख्न निर्देशन दिएको थियो ।

कामनपामा पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मका करिब ७७१ विद्यालय दर्ता रहे पनि ५१२ वटा मात्र सञ्चालनमा रहेको जनाइएको छ । तीमध्ये ३२४ वटा विद्यालयको नाम अङ्ग्रेजीमा राखिएका छन् । विदेशी विश्वविद्यालय, विदेशी भूमि, विदेशी खेलकुद क्लब, विदेशी व्यक्ति आदिको नाम राखिएका यी विद्यालयले आफूलाई अरूभन्दा बेग्लै देखाउन खोजेका छन् । विद्यालयको नाम सुन्दा कुन मुलुकको विद्यालय हो भनेर सजिलै छुट्याउनसमेत गाह्रो हुने गरी राखिएका यस्ता नामले मुलुकको पहिचानमाथि नै प्रश्नचिह्न उठाएको भन्ने आरोप छ । कामनपा आफैँमा धार्मिक एवं सांस्कृतिक पहिचान बोकेको विश्व चर्चित सहर हो । यहाँको भौगोलिक, सामाजिक एवं सांस्कृतिक विविधताले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छ । यस्तो विशेषता बोकेको सहरमा अवस्थिति विद्यालय नै विदेशी नाममा आफ्नो पहिचान खोज्नु आफैँमा आश्चर्यजनक देखिन्छ । 

पछिल्लो समय कामनपाका विद्यालयले राखेका विदेशी नाम नियमसङ्गत राखिएका भने होइनन् । काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न र विद्यालयको चिह्न (लोगो) मा एकरूपता ल्याउनेसम्बन्धी व्यवस्था गरेको छ । यसै गरी नियम ७० को उपनियम १ मा विद्यालयको नाम राख्दा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवीदेवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने उल्लेख छ । यो नियम प्रारम्भ हुनुभन्दा अघि नै यस नियम विपरीत नामकरण भइसकेका विद्यालयको हकमा भने यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागु हुने गरी पुनः नामकरण गर्न सकिने प्रावधान थियो तर यसलाई अहिलेसम्म विद्यालयले लागु गरेका छैनन् । यसैबिच पछिल्लो समय कामनपाले शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुुसार विद्यालयको चिह्न (लोगो) र नाम राख्न आग्रह गर्दै सम्पर्कका लागि आग्रह गरेको थियो भने नयाँ नामको प्रस्ताव ल्याउन ३५ दिनको म्यादसमेत दिएको छ । सम्पर्कका लागि आग्रह गरेबमोजिम धेरै विद्यालय सम्पर्कमा आए पनि केही भने नआएको समाचार सुन्नमा आएको छ । 

कामपाले विद्यालयको नाम परिवर्तन गरी मौलिक र मापदण्ड अनुरूप रहन गरेको आग्रहप्रति निजी विद्यालय सञ्चालकको एउटा संस्था राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (राष्ट्रिय–प्याब्सन) ले असहमति जनाएको छ । विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको नाम राख्न नपाइनेमा उनीहरू सहमत भए पनि अङ्ग्रेजी शब्दबाट नाम राख्न नपाउने भन्नेमा भने विमति रहेको जनाएका छन् । अङ्गे्रजी शब्दले राष्ट्रियतामा असर नपु¥याउने उनीहरूको तर्क छ । यसै गरी विद्यालयको नाम परिवर्तन हुँदा लाखौँले प्राप्त गरिसकेको प्रमाणपत्रमा परिवर्तन गर्नुपर्ने, कतिपय विद्यालय ब्रान्ड बनिसकेकाले नाम परिवर्तनले त्यसलाई असर गर्ने, यसका लागि लाखौँ रुपियाँ खर्चका साथै विभिन्न निकायमा सच्याउनुपर्ने हुँदा झन्झटिलोसमेत हुने तर्क उनीहरूले राखेका छन् । तथापि, उनीहरूका तर्कमा कुनै ठोस आधार नभएको शिक्षाविद्हरूको भनाइ छ । विश्वका विभिन्न देश तथा सहरका नाम परिवर्तन हुँदासमेत त्यहाँका बासिन्दामा खासै असर नपरेको अवस्थामा विद्यालयको नाम परिवर्तन हुँदा विद्यार्थी तथा विद्यालयमा असर पर्छ भने धारणा तर्कसङ्गत देखिँदैन । यसै गरी मुलुकको नियम कानुनको पालना तथा मौलिकताको जगेर्ना गर्ने विषयमा सानातिना झन्झटलाई देखाएर बहानाबाजी गर्नु उचित नहुने शिक्षाविद्को तर्क छ ।

निजी तथा संस्थागत विद्यालयको मोह अङ्ग्रेजी नाममा मात्र सीमित देखिँदैन । आफ्नो विद्यालयको नामका पछाडि नियम विपरीत पब्लिक, नेसनल तथा इन्टरनेसनल शब्द जोडेर अरूभन्दा पृथक् देखाउन होडबाजी पनि छ । जब कि, शिक्षा नियमावली अनुसार कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने छ । यस्तै कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ सङ्ख्यामा विदेशी विद्यार्थी हुनुपर्ने नियम छ । यसै गरी विद्यालयको नामको अन्त्यमा विद्यालय, स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेसमेत उल्लेख गरिएको छ तर यो उपनियम लागु हुनुअगावै नियम विपरीतका शब्द जोडेर नामकरण भइसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागु हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने व्यवस्था नियमावलीमा छ । यसको पालनासमेत विद्यालयले गरेका छैनन् । 

पछिल्लो समय मुलुकको शिक्षा क्षेत्रको विकास र विस्तारको जिम्मेवारी स्थानीय निकायको हातमा आएको छ । नेपालको संविधानको धारा (५७) को उपधारा (४), धारा (२१४) को उपधारा (२), धारा (२२१) को उपधारा (२) र धारा (२२६) को उपधारा (१) सँग सम्बन्धित स्थानीय तहको एकल अधिकारको सूचीको बुँदा नं ८ मा आधारभूत र माध्यमिक शिक्षाको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको उल्लेख छ । यसैलाई आधार बनाएर कामनपाले विभिन्न कदम अगाडि बढाएको हो । पछिल्लो पटक विद्यालयको नाममा खोजिएको मौलिक पहिचानलाई सकारात्मक रूपमा हेरिएको छ । यो समस्या कामनपाभित्रका निजी विद्यालयमा मात्र सीमित छैन । मुलुकका विभिन्न स्थानमा रहेका धेरै निजी विद्यालयमा पनि रहेको छ । यो समस्याको समाधानका लागि हरेक स्थानीय निकाय जागरुक हुनुपर्ने देखिन्छ । शिक्षा क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्दै यसलाई सही बाटोमा डो¥याएर अगाडि बढाउन स्थानीय निकायको महत्वपूर्ण भूमिका हुन्छ । यसका साथै आफ्नो मौलिक पहिचानको जगेर्ना गर्नु पनि हरेक स्थानीय निकायको जिम्मेवारी हुन आउँछ ।

विद्यालयलाई ज्ञानको मन्दिरका रूपमा हेर्ने गरिन्छ । विद्यार्थीले प्राप्त गर्नुपर्ने ज्ञान सबै किताबको पानामा मात्र सीमित हुँदैन । विद्यार्थीलाई मुलुकको इतिहास, धर्म, संस्कृति, राजनीतिक तथा सामाजिक परिवेशसँग परिचित गराउनु पनि विद्यालयको जिम्मेवारी हो । विद्यालयको नाम नै अङ्ग्रेजी शब्द छ वा कुनै विदेशी सहर, अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा अन्य विदेशी व्यक्तित्वको नाम जाडिएको छ भने पक्कै पनि विद्यार्थीमा सकारात्मक प्रभाव पर्दैन । उनीहरू नेपालको मौलिकता, पहिचान, सांस्कृतिक मूल्य र मान्यतासँग परिचत हुनबाट वञ्चित भएका छन् । यसै कारण उनीहरू मुलुकको माटोसँग जोडिन सकेका छैनन् । यसको गतिलो उदाहरण पछिल्लो समय बिदेसिने विद्यार्थीको लर्को हेरेर अनुमान लगाउन सकिन्छ । यसै कारण भावी पुस्तालाई देशभक्त र राष्ट्रप्रेमको भावना जगाउनसमेत विद्यालयले अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ । यसै कारण निजी तथा संस्थागत विद्यालयले समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवीदेवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा जस्ता मौलिक पहिचान झल्कने नामबाट विद्यालयको नामकरण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Author

धर्मराज भट्टराई