• २१ वैशाख २०८१, शुक्रबार

कतारका अमिर आज आउनुहुँदै

blog

अमिर सेख तमिम बिन हमाद अल थानी

काठमाडौँ, वैशाख ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर सेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपालको राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल आफैँ त्रिभुवन विमानस्थल पुग्नुहुने छ । 

आफ्नै विमानमार्फत उहाँ मङ्गलबार साँझ करिब साढे ५ बजे नेपाल उत्रने कार्यसूची छ । त्यसका लागि उच्च तयारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो । तीनै तहको सुरक्षा व्यवस्थालाई सतर्क राखिएको छ । प्रवक्ता राईले भन्नुभयो, “भ्रमणलाई सफल बनाउन सबै खालको शिष्टाचारको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।” 

मङ्गलबारै राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर सेख तमिमको उच्चस्तरीय भेटवार्ता हुने छ । साथै उहाँको स्वागतमा राष्ट्रपति पौडेलले रात्रिभोजको आयोजना गर्नुहुने छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमिर सेखबिच द्विपक्षीय भेटवार्ता हुने छ । जसमा नेपाल र कतारबिचको द्विपक्षीय हितका विषयमा छलफल हुने प्रवक्ता राईले जानकारी दिनुभयो । 

उहाँका अनुसार भ्रमणका क्रममा शिक्षा र खेलकुद क्षेत्रसँग सम्बन्धित केही सम्झौता हुने र आगामी दिनमा हुने अन्य श्रम सम्झौता, पर्यटन तथा विकास साझेदारीका विषयमा पनि गहन छलफल हुने छ । भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर सेख तमिमको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । उहाँ बुधबार राति फर्कनुहुने छ । 

भ्रमण फलदायी बनाउनु पर्छ

कतारका अमिरको नेपाल भ्रमणलाई फलदायी बनाउन सरकार र नीति निर्माणकर्ताले ध्यान दिनुपर्नेमा कतारमा लामो समयदेखि व्यवसाय गरिरहनुभएका गैरआवासीय नेपाली व्यवसायी राजेन्द्रकुमार शर्माले जोड दिनुभयो । उहाँका अनुसार नेपालले ऊर्जाका लागि कतारसँग सहकार्यका लागि पहल गर्न सक्छ । 

नेपाल विश्वमै साहसिक पर्यटनका लागि सहज गन्तव्य हो । विश्वका आठ वटा उच्च शिखर नेपालमै छन् । त्यसलाई पनि अवसरका रूपमा परिणत गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । विश्वका शक्तिराष्ट्रसरह तीन दशकमा कतारले विश्वकप खेलाउन सक्ने क्षमता देखाएका आधारमा खेलकुद क्षेत्रमा पनि साझेदारीका लागि पहल गर्न सकिने उहाँले बताउनुभयो । 

त्यस्तै कतार नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक देश हो । त्यहाँको वैदेशिक रोजगारीसँग तीन लाख नेपालीको भविष्य जोडिएको छ । अझ राम्रो रेमिट्यान्स भित्र्याउन आवश्यक विषयमा छलफल गरेर सेवामुखी तथा श्रममुखी सम्झौतालाई बढावा दिन सकिने उहाँले औँल्याउनुभयो । उहाँका अनुसार प्राविधिक विकासमा अगाडि बढिरहेको कतारसँग नेपालले प्रविधि हस्तान्तरणका लागि पनि साझेदारी गर्न सक्ने छ । कतार पछिल्लो समय विश्व बजारका लागि सफल लगानीकर्ताका रूपमा अग्रसर रहेको छ ।

कतारलाई समृद्ध बनाउने अमिर

नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका अमिर सेख तमिम बिन हमाद अल थानी कतारको तीव्र विकासको प्रमुख योगदानकर्ता हुनुहुन्छ । उहाँ सन् २०१३ मा कतारको अमिर बन्नुभएको हो । आफूले सत्ता सम्हालेपछि कतारलाई शक्तिराष्ट्रको हाराहारी पु¥याउने होडमा अगाडि बढ्नुभयो । एक दशकमा उहाँले कतारको आधुनिकीकरणसँगै प्रविधि विकासमा समेत फड्को मार्ने गरी विकास गर्नुभयो । 

परनिर्भर रहेको मरुभूमिको देशको बालुवामा हरियाली फैलाउनेदेखि भएका स्रोत साधनको उच्च उपयोग र विश्वका दुर्लभ वस्तुहरूको विकास कतारमै हुनुपर्ने राष्ट्रिय सोचलाई उहाँले प्राथमिकता दिनुभएको छ । त्यसको प्रत्यक्ष उदाहरण दोहा अन्तर्राष्ट्रिय विमानस्थल हो जहाँ विश्वका हिमाल र पहाडमा पाइने दुर्लभ वनस्पतिको सङ्ग्रह र सिर्जना दुवै गरिएको छ । 

आज सार्वजनिक बिदा

कतारका अमिरको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सञ्चार मन्त्रालयका अनुसार सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।