• १२ साउन २०८१, शनिबार

फुटसलमा ग्लोबल आइएमई बैङ्क च्याम्पियन

blog

फुटसल उपाधि विजेता टोली । तस्बिर : गोरखापत्र

कमल खत्री

नेपालगन्ज,  वैशाख ९ गते । अन्तर बैङ्क फुटसल प्रतियोगिता–२०८१ को उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ । आइतबार भएको फाइनल खेलमा ग्लोबल आइएमई बैङ्कले कुमारी बैङ्कलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । 

ग्लोबलको तर्फबाट दुर्गा ओली र भावेस भाटले गोल गर्नुभएको थियो । कुमारी बैङ्कका लागि प्रकाश भुजेलले सान्त्वना गोल गर्नुभयो । नेपाल राष्ट्र बैङ्कको ६९औँ वार्षिकोत्सवको अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ नेपाल राष्ट्र बैङ्क शाखा समिति नेपालगन्जको आयोजनामा प्रतियोगिता भएको थियो । 

प्रतियोगिता आदर्शनगरस्थित बागेश्वरी फुटसल एन्ड स्पोर्टस हबमा वैशाख ५ देखि ८ गतेसम्म भएको थियो । प्रतियोगिताको विजेता टोली ग्लोबल आइएमई बैङ्कले उपाधिसहित ५० हजार र उपविजेता कुमारी बैङ्कले २५ हजार रुपियाँ पुरस्कार पायो ।

सर्वोत्कृष्ट खेलाडी ग्लोबलकै दुर्गा ओली र उत्कृष्ट गोलकिपर सक्रिय राजभण्डारी हुनुभयो । दुवै जनालाई जनही १० हजार रुपियाँ प्रदान गरियो । विजेतालाई राष्ट्र बैङ्कका उप निर्देशक रामकुमार कार्कीले पुरस्कृत गर्नुभएको थियो ।